27.1 C
Kathmandu

नेपाली लोग्ने स्वास्निहरु “मौन–प्रेमी” हुन्छन् 

नेपालमा सम्बन्धविच्छेद गर्ने लोग्नेस्वास्नीको सङ्ख्या हवात्तै बढेर ५०१११ पुगेको छ । अचम्मको कुरा त के भने यीमध्ये पारपाचुके माग्नेहरू धेरै महिला छन् । नेपाली समाजमा लोग्नेस्वास्नीका बीचमा बदलिएको समीकरणको यो तस्बिर हो । यो तस्बिरले नेपालका लोग्नेस्वास्नीहरू बीच राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक समीकरण तथा मान्यताहरूमा ठूलै परिवर्तन आएको सङ्केत गरिरहेको छ । यदि तपाईंले यो लेख पढ्दै हुनुहुन्छ भने माथिको तथ्याङ्कले चिन्तित तुल्याउनु पर्छ । अर्को वर्षको सम्बन्धविच्छेदको तथ्याङ्कमा तपाईंको सङ्ख्या पनि समावेश हुन सक्छ । बढ्दो डिभोर्स तपाईंको घरमा आउँदैन भन्ने कुराको निश्चित भविष्यवाणी हामीसँग छैन र, तपाईंको श्रीमान् वा श्रीमतीले पनि डिभोर्सको माग गर्ने छैनन् भन्ने कुनै ग्यारेन्टी छैन । धेरैजसो अवस्थामा डीभोर्स एउटा पीडादायी अवस्था हो, जसले हाम्रो धार्मिक, सामाजिक, राजनैतिक, पारिवारिक जीवनलाई ध्वस्त बनाउँछ । नेपाली लोग्नेस्वास्नीका बीचमा सम्बन्धविच्छेदको सङ्ख्या किन बढिरहेको छ रु यस्ता प्रश्नहरूको जवाफ, उत्तर दिने व्यक्तिको दृष्टिकोणमा भर पर्छ । महिला अधिकारवादीहरूले बढ्दो डिभोर्सको प्रमुख कारण महिला सशक्तिकरण र आर्थिक स्वतन्त्रता हो भनेर ब्याख्या गर्लान्, केहीले लोग्नेस्वास्नीमा झगडा भएको बुझ्दाहुन्, केहीले डिभोर्स हुनु लोग्नेस्वास्नीका बीचको सामान्य कानुनी प्रक्रिया भनेर बुझ्ने प्रयत्न गर्लान्, तर विश्वका जुनसुकै धर्म मान्ने, संस्कृति मान्ने, विचार बोक्ने, र जस्तोसुकै आर्थिक अवस्था भएकाहरूका लागि डिभोर्स मानसिकरूपमा सबैभन्दा बढी पीडा दिने हुन्छ । सम्बन्धविच्छेदलाई सही ठम्याउन अनेकौँ तर्क होलान् तर ‘सम्बन्धविच्छेद पीडादायक कानुनी प्रक्रिया हो’ भन्ने कुरामा हामी सहमत हुनैपर्छ ।
विदेशमा लोग्ने र स्वास्नीका बीचमा स(सानो समस्या हुँदासमेत सम्बन्ध विच्छेद गर्ने संस्कृति निर्मित भएको छ भने नेपाल तथा भारतमा (हिन्दू र हिन्दूसँग मिलेर बसेको अन्य धार्मिक समुदाय) लोग्नेस्वास्नी बीचको सम्बन्धबिच्छेद दर एक प्रतिशतभन्दा थोरै छ । लोग्ने र स्वास्नीका बीचमा सबैभन्दा सम्बन्धविच्छेद गरिने देश लग्जम्बर्ग (७२ प्रतिशत) हो भने सबैभन्दा कम सम्बन्धविच्छेद हुने देश श्रीलंका हो । पतिपत्नीका बीचमा शत्रुतापूर्ण सम्बन्ध विकसित भएर लोग्ने वा स्वास्नीमध्ये कुनै एक अथवा दुवै अथवा परिवारका सदस्यहरूको जीवन समस्याग्रस्त हुने देखिन्छ भने कानुनअनुसार डिभोर्स गर्नु उचित हो । यदि केवल अभिमान, लोभ वा अन्य अपर्याप्त कारणले लोग्नेस्वास्नीकाद बीच सम्बन्धबिच्छेद भएको छ भने, यो पाप हो । सँगै बस्नै नसक्ने अवस्था, मेलमिलाप हुनै नसक्ने परिवेशबाहेक डिभोर्स अनुचित नै हुन्छ । नेपाली कानुनी व्यवस्थामा अदालतले पारपाचुके गर्नुभन्दा पहिला हदैसम्म मेलमिलाप गर्न जोड दिएको छ । बुझ्नुपर्ने के हो भने एकजोडी लोग्नेस्वास्नीका बीचमा डिभोर्स हुँदा कमसेकम पनि ९६ सदस्यहरू प्रत्यक्ष कु(प्रभावमा पर्ने स्वतन्त्र अनुसन्धानहरूले पुगिट गरेका छन् ।
नेपाली लोग्नेस्वास्नीका बीचमा यतिबिघ्न पारपाचुके किन बढ्यो होला र यसका कारक के के होलान् ?  यसको गहन अनुसन्धान गरेर तत्थ्यहरूसहित विश्लेषण गर्नुपर्छ, तर निरीक्षणविधि र उपलब्ध डाटाहरूका आधारमा लागूऔषधको प्रयोग, रक्सीको बढी उपयोग, बालविवाह, आर्थिक समस्या तथा वैदेशिक रोजगारी, एकआपसमा अपमानजनक व्यबहार गर्नु डिभोर्सका प्रमुख कारकतत्व हुन् भने भारतीय सर्वोच्च अदालतका अनुसार प्रेम-विवाह पनि लोग्नेस्वास्नीका बीचमा सम्बन्धविच्छेद गराउने मुख्य कारण हो ।
प्रेम-विवाहको प्रसङ्ग उठ्दा धेरै ‘आधुनिक लोग्नेस्वास्नी’हरूलाई मानसिक ठेस पुग्ला तर विश्वभरी नै ‘प्रेम-विवाह’को उमेर लामो हुँदैन भन्ने तत्थ्य अनुसन्धानले पुष्टि गरेका छन् । यदि प्रेम-विवाह किशोर अवस्थामै भएको हो भने विश्वभरी सरदर २५–३५ वर्षको उमेरमा लोग्नेस्वास्नीबीच डिभोर्स हुने सम्भावना अत्याधिक हुन्छ । नेपालका हकमा डाटाहरू उपलब्ध नभएको हुँदा डिभोर्सको मुख्य कारण अज्ञात नै छ । लोग्नेस्वास्नी बीचको बढ्दो सम्बन्धविच्छेदको ‘प्रेत’ नजानिँदो तरिकाले हाम्रो घरमा पनि पसेको हुन सक्छ । विश्वप्रसिद्ध लोग्नेस्वास्नीसम्बन्धी मनोवैज्ञानिक जन गोटम्यान (१९४२) ले दाम्पत्यजीवन जीवनका लागि सबैभन्दा खराब चारवटा व्यवहार पत्तो लगाएका छन् । यदि हाम्रोरहाम्रा छोराबुहारी, नातिनातिना, छिमेकीको मनभित्र उपरोक्त चारवटा प्रेतहरू छिरिसकेका छन् भने तिनको दाम्पत्यजीवन असजिलोमा पर्दैछ भनेर बुझ्नुपर्छ । गोटम्यानका अनुसार आलोचनात्मक व्यवहार (Criticism) छलकपट (Contemplation), अत्याधिक रक्षात्मकता (Defensiveness) र कठोर संवादहीनता (Stonewalling)– यी चार कुराहरू दाम्पत्य जीवनका सबैभन्दा ठूला शत्रु हुन् । लोग्नेस्वास्नीको सुमधुर, प्रेमयुक्त र आत्मीय सम्बन्धमा बढी नै नराम्रो प्रभाव पार्न सक्ने यस विषयमा हरेक लोग्नेस्वास्नीले जानकारी राखेको राम्रो हुन्छ ।
दाम्पत्य जीवनको पहिलो शत्रु हो-अत्याधिक आलोचनात्मक व्यबहार (Criticism) । हरेक लोग्ने होस् वा स्वास्नी-एकले अर्काको सहयोगी तथा समालोचनात्मक व्यवहार गरेको अनुभव गर्न चाहन्छन् । हो, आर्थिक, सामाजिक, धार्मिक तथा अन्य कारणहरूले लोग्ने वा स्वास्नीको बानी नै आफ्नो लोग्ने वा स्वास्नीको कुरा काट्ने, आलोचना गर्ने, सिकायत गर्ने बनेको हुन्छ । समय ब्यतीत हुँदै जाँदा लोग्ने वा स्वास्नीले एकअर्काको हरेक कामकाजमा नराम्रोमात्र देख्न थाल्छन् । उदाहरणका लागि ‘तिमी साह्रै खराब मान्छे हौँ । तिमीले गर्दा मेरो जिन्दगी बर्बाद भयो, तिमी दुष्ट छौँ, तिम्रो मनमा माया-प्रेम नामको कुनै पनि भावना छैन । तिमी नहुने हो भने मैले धेरै प्रगति गर्थें । तिमीजस्तो मान्छे हुनुभन्दा नभएको बेस – आलोचनाका केही उदारहण हुन् । निर्ममतापूर्वक आलोचना गर्ने दम्पतिको दाम्पत्य जीवनको आयु लामो हुँदैन । एउटाले अर्काको आलोचना गर्न सजिलो हुन्छ तर त्यसबाट पर्ने मानसिक पीडाले दम्पतिको आपसी सम्बन्धमा टाल्न नमिल्ने भ्वाङ परिरहेको हुन्छ । ‘तिमीले मेरो कुरै सुन्दैनौ, मप्रति कत्ति पनि माया छैन, तिमीले सधैं आफ्नो कुरामात्र लाद्ने हो, मलाई कहिले महत्व दिएका छौ र रु यस्ता भनाइहरू लोग्नेस्वास्नीका बीचमा आम हुन्छन् । तर यदि यिनै भनाइहरूको दोहोरी चल्न थाल्यो, यिनै भनाइका कारण अशान्ति मच्चिन थाल्यो भने लोग्ने र स्वास्नी दुवै सजग हुनुपर्छ । लोग्नेस्वास्नीको आपसी झगडालाई ठूलो बनाउने काम परिवारका अन्य सदस्य, साथीभाइ तथा छिमेकीहरूले गर्छन् । समयमै पहिचान गरेर सम्बन्ध सुधार्ने प्रयत्न गरिएन भने लोग्ने वा स्वास्नीपनको अहङ्कारले लोग्नेस्वास्नीको प्राकृतिक प्रेम पूर्णतया नासेर एउटालाई अर्काको शत्रु बनाउँछ ।
दाम्पत्यजीवनको दोस्रो सबैभन्दा ठूलो शत्रु अवहेलना (Contempt) लोग्नेले स्वास्नी र स्वास्नीले लोग्नेलाई बेवास्ता वा उहाँहरूको कुराहरूप्रति अभिरुचि नराख्नु वा महत्व नदिनु हो । नेपाली समाजमा यस्तो रोग निकै छ । ‘आइमाई केटाकेटीका कुरा हुन्, आइमाईका कुरा पनि सुन्ने रु’ जस्ता विचार र व्यवहारले लोग्नेस्वास्नी बीचको सम्बन्ध सहज हुँदैन । ५० वर्ष उमेर काटेका लोग्ने वा स्वास्नीले यस्तो ‘बेवास्ता’लाई प्राकृतिक वा भाग्य ठानेर सहन गर्लान् तर युवापुस्ताबाट सहनशीलताको अपेक्षा गर्नु अनुचित हुने छ । युवापुस्ताले एकआपसको सम्वाद चुस्तदुरुस्त चाहन्छ । लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको स–सानो कुरालाई ध्यान देओस्, वास्ता गरोस् भन्ने चाहन्छ । बदलिँदो परिवेश र आवश्यकतालाई पुराना परिवेश र आवश्यकतासँग दाज्न हुँदैन । लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको वास्ता नगरे कसको गर्ने रु लोग्नेको सबैभन्दा नजिकको आफ्नो मान्छे स्वास्नी हो भने स्वास्नीको सबैभन्दा नजिकको आफ्नो मनको मान्छे लोग्ने हो । पश्चिमा जगतमा धेरैजसो पारिवारिक विघटन एकले अर्कालाई बेवास्ता गरेको कारण हुने गर्छन् । आजको पुस्ताका लोग्नेले स्वास्नीको र स्वास्नीको लोग्नेले ‘वास्ता’ गर्नुपर्छ । सुनेर पनि नसुनेजस्तो, देखेर पनि नदेखेजस्तो, बुझेर पनि नबुझेजस्तो, जानेर पनि नजानेजस्तो गर्नु हुँदैन ।
लोग्नेस्वास्नीका बीचको सम्बन्ध विगार्ने तेस्रो प्रमुख कारण नकारात्मक कुरामा आफ्नो बचाउ गर्नु (Defensiveness) हो । समग्रमा आफ्नो लागि सुरक्षात्मक अवस्था सृजना गर्नु अनुचित हुँदैन, तर हरेक कुरामा ‘मेरै गोरूको बाह्र टक्का, मेरो कुरा ठूलो, मैले भनेको मात्र उचित, म नै जान्ने, म बाहेक अरू कुनै पनि निर्णायक हुनै सक्दैन’ भन्ने अहङ्कार र, सधैं लोग्ने अथवा स्वास्नीका औचित परामर्श, मार्गदर्शन, सल्लाह-सुझावआदिलाई ‘अस्वीकार’ गर्नु नै Defensiveness हो । मान्छेमा बचाउ गर्ने स्वाभाविक प्रवृत्ति हुन्छ, तर बचाउ गर्ने नकारात्मक बानी विकसित हुँदै गर्दा नकारात्मक, अनुचित तथा छलकपटको पनि बचाउ गर्नुपर्ने अवस्था आउँछ । उदाहरणका लागि आफ्नो अत्याधिक खर्चिलो बानीको बचाउ गर्ने, आफ्नो माग पूरा नहुँदा बिस्तारामा ‘सेक्स’ क्रियालाई वार्गेनिङ टुल्सका रूपमा प्रयोग गर्ने, हरेक कुरामा कसम खानेजस्ता व्यवहारहरूले दीर्घकालीन रूपमा लोग्नेस्वास्नी बीचको सम्बन्धलाई क्षति पुर्याउँछ । लोग्नेस्वास्नीका बीचमा यदाकदा सामान्य भनसुन हुनु एकदम सामान्य कुरा हो । फरक-फरक पृष्ठभूमि भएका दुई व्यक्तिले एकआपसमा सम्झौता गर्ने प्रतिज्ञाका साथ वैवाहिक जीवन आरम्भ गरेका हुन्छन्, तर विवाह आफैमा सम्झौता होइन । विवाहले दुई स्त्री र पुरुषलाई भौतिक, मानसिक तथा अध्यात्मिक रूपले एकापसमा जोड्ने काम गर्छ । सधैं ‘मपाईं’ भन्नेहरूले लोग्नेले स्वास्नीको र स्वास्नीको लोग्नेले प्राकृतिक माया, प्रेम तथा आत्मीयता गुमाउँछन् ।
गोटम्यानका अनुसार दाम्पत्य जीवनको चौथो सबैभन्दा नकारात्मक शत्रु stonewalling अर्थात् ‘पूर्ण सम्वादहीनता’ हो । नेपालीमा लोग्नेसँग स्वास्नीको र स्वास्नीसँग लोग्नेको कहिलेकाहीं ठाकठुक पर्नु र एक-दुई बिहान बोलचालसमेत नहुनु अस्वाभाविक हुँदैन । जीवनमा सधैं एकनास प्रेमको झरना मात्र बग्दैन । जिन्दगी नदी झैं हो जहाँ सबैखाले सहजता र अवरोध दुवै हुन्छन् । अवरोधहरूले सरलताको बाटो खोल्छन् । उपरोक्त तीन वटा अवरोधहरूले व्यक्तिको मनमा नराम्रो असर पर्दा, संवादहीनताको अवस्था निम्तिन सक्छ । लोग्ने-स्वास्नीका बीचमा कहिलेकाहीँ कुरा नमिल्नु, सामान्य भनसुन हुनु नौलो हुँदैन तर सामान्य भनाभन वा गल्तीलाई ‘तिलको पहाड’ बनाएर बोल्ने छोड्नु, सम्वाद गर्न खोज्दा पूर्णतया बेवास्ता गर्नु तथा सम्वाद गर्ने प्रयत्नलाई समेत अवरोध गर्नु वैवाहिक जीवनको लागि सबैभन्दा ठूलो दुर्भाग्य हो । गल्ती मान्छेबाट मात्र हुने हो । कहिलेकाहीं जानेर वा नजानेर पनि गल्ती-कमजोरी हुन्छन् । यस्तो अवस्थामा सहज–संवाद निकास निकाल्नुपर्छ । केही लोग्ने र केही स्वास्नीको मन, बुद्धि दुवै अहङ्कारले ‘ढुंगा’झैं कठोर बनेको हुन्छ । आफ्नो पनि गल्ती हुन सक्छ भन्ने कुरा स्वीकार गर्न सक्दैन । यस्तो अवस्थामा, दाम्पत्य जीवन अत्यन्त कष्टप्रद हुन्छ । त्यसैले बुद्धिमान लोग्नेस्वास्नीले ‘हामीबीच जतिसुकै असजिलो समस्या आए पनि एकआपसमा विचार साटासाट गर्ने कुरामा सम्झौता गर्ने छैनौँ’ भन्ने भद्र सहमति हुनुपर्छ ।
प्रसिद्ध मनोवैज्ञानिक गोटम्यानकाले प्रस्तावित गरेका उपरोक्त चार वटा व्यवहारभित्र अन्य धेरै नकारात्मक व्यवहारहरू पर्छन् । हरेक लोग्नेस्वास्नीहरू आफ्नो दाम्पत्य जीवन सरल होस्, सहज होस् भन्ने चाहेकै हुन्छन् तर समुचित जानकारी र परामर्शको अभावमा अनेकौं नकारात्मक व्यवहारहरू बढ्दै जान्छन् र अन्ततः पीडादाई डिभोर्स हुन्छ अथवा लोग्नेस्वास्नी सँगै नबसेर ‘मानापाथी’ भरेर छुट्टिएर बस्न बाध्य हुन्छन् । यो अवस्था कुनै पनि लोग्नेस्वास्नीका लागि नआओस् । लोग्नेस्वास्नीले आफ्नो वैवाहिक जीवन सरल, सहज र प्रेमपूर्ण बनाउनका लागि केही उपायहरू अवलम्बन गर्नु उचित हुन्छ । ती उपायहरू मध्ये एउटाले अर्काको प्रशंसा गर्ने, एकआपसमा सबै थोक खुलेर (छलछाम विना) आदानप्रदान गर्ने, सधैं जित्नु नै पर्छ भन्ने मानसिकता त्यागेर हारेकोमा पनि खुसी मनाउने र सधैं एकअर्कासँग सम्वादका लागि खुला रहने, लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको सानो-सानो उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने, आलोचना नगर्ने बरू समालोचना गर्ने, आदेश दिनुको तुलनामा ‘मलाई यस्तो मन पर्थ्यो वा पर्छ’ भनेर राय माग्नु धेरै राम्रो हुन्छ । सहयोगी लोग्नेस्वास्नीले एकले अर्कोलाई आदेश दिँदैनन् तर राय माग्छन् ।
नेपाली लोग्नेस्वास्नीको विवाह सम्वन्ध अन्य देशका लोग्नेस्वास्नीको तुलनामा धेरै बलियो छ । नेपाली लोग्नेस्वास्नीहरू ‘मौन(प्रेमी’ हुन्छन् तर पनि एउटाले अर्काको प्रशंसा गरेर, राय मागेर, सहयोग गरेर तथा धन्यवाद दिएर एकअर्काप्रति सम्मान व्यक्त गर्न सक्छौँ । स्मरण रहोस्, बदलिँदो परिवेशमा छोराछोरी, छोराबुहारी वा सम्बन्धिहरूको सहयोग प्राप्त होला वा नहोला भन्न सकिन्न, तर जीवनको अन्तिम घडीसम्म लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई साथ दिने गरी तयारी गर्नुपर्छ । उमेर बढ्दै जाँदा मान्छे एक्लो हुँदै जान्छ । यदि आफ्नो लोग्ने वा स्वास्नीप्रति असल व्यवहार गरिन्छ भने दुईबीचको मित्रता मृत्युले मात्र समाप्त पार्छ । लोग्नेका लागि स्वास्नी र स्वास्नीका लागि लोग्ने भन्दा असल र सहयोगी मित्र संसारमा अरू कुनै हुन सक्दैन । त्यसैले लोग्नेले स्वास्नी र स्वास्नीले लोग्नेको आदर गरौँ, सम्मान गरौँ, आलोचना, छलकपट, मपाइँपन र संवादहीनता त्यागेर प्रशंसक, सत्यवादी, विनम्र र सधैं बोल्न, सुन्न र सहयोगका लागि तयार रहौँ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार