29.1 C
Kathmandu

कुनैपनि परिस्थितिमा आफूलाई एक्लै बाँच्न सक्ने बनाऔँ 

विश्वका जुनसुकै मुलुकमा रहेपनि मानिसका भावनासँग जोडिएका धेरैजसो कुराहरू करिब उस्तैउस्तै हुन्छन् । जहाँका भएपनि मानिसको जीवनमा दुःखसुख, हाँसो र खुशीहरू हुन्छन् । कसैको जिन्दगीमा कुनै घटना, दुर्घटना हुँदा हामी प्रायः अरुलाई यसो गर, उसो गर भनेर सम्झाइरहेका हुन्छौँ । कुनै ठुलो विपद् आइलागेको मानिसलाई ‘आफूलाई सम्हाल’ भनिरहेका हुन्छौँ । तर जब आफूमाथि कुनै घटना र दुर्घटना हुन्छ, आफूले आफैलाई सम्हाल्न भने सकिरहेका हुँदैनौं । आफूलाई सम्हाल्न नसक्दा कतिपय मानिसको जीवनमा नसोचेका दुर्घटनाहरू हुनेगरेको छन्, भएका छन् । कुनैपनि मानिसले आफूले आफैलाई सम्हाल्न सक्नु निकै ठुलो कुरा हो । आफूमाथि भएका दुर्घटनाहरूले पिछा गरिरहेर आफूलाई सम्हाल्न नसक्दा धेरै मानिसहरू डिप्रेशनमा गएका छन् । कतिले जिन्दगीबाट मुक्ति पाउनका लागि आत्महत्याको बाटो रोजेका छन् । यसो हुनुका अनेक कारणमध्ये हाम्रो हुर्काइ पनि एउटा हो । तिमीले अरुलाई इज्जत गर्नुपर्छ, सम्मान गर्नुपर्छ, माया गर्नुपर्छ, राम्रो व्यवहार गर्नुपर्छ भनेर हामीलाई हुर्काइयो तर आफूलाई माया गर्नुपर्छ, आफूलाई दुःख हुने काम गर्नु हुँदैन, आफूले आफूलाई राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाइएन ।

अहिले पनि हामी प्रायः अरुमै केन्द्रित हुने गरेका छौँ । यसले यस्तो गऱ्यो, उस्तो गऱ्यो, यस्तो गर्नुपर्थ्यो, उस्तो गर्नु हुँदैनथ्यो भनी अरुलाई दिने अर्ति उपदेशहरू मानिसले आफूमा भने कमै प्रयोग गर्नेगरेका छन् । स्कुलमा पनि ‘मानिस सामाजिक प्राणी हो’ भनेर पढ्दै गर्दा कुनैबेला आफू एक्लै पनि बाँच्नुपर्ने हुनसक्छ भनेर विद्यार्थीले सोचेका हुँदैनन् । हामीकहाँ एक्लै बस्ने या बाँच्ने कुरालाई लिएर चर्चा र बहसहरू हुने गरेका छैनन्, जसका कारण बाबुआमाको अकस्मात् मृत्यु भयो भने, प्रेमी या प्रेमिकाले साथ छोडे भने, श्रीमती या श्रीमानको मृत्यु भयो या साथ छुट्यो भने निकै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । मानिस अन्ततः एक्लै हो तर यो वास्तविकतालाई हामीकहाँ आत्मसात गरिएको छैन । परिणामतः जब मानिसलाई एक्लै रहनु या बस्नुपर्ने परिस्थिति आउँछ त्यसपछि जीवन बोझ झैँ लागेर अप्रिय घटनाहरू पनि हुने गरेका छन् । तथापि, आफूले आफैलाई सम्हाल्ने कुरा एक्लै हुने या आफै बाँच्ने कुरासँग मात्र सम्बन्धित छैन । क्षणिक आवेशमा आएर मानिस आफैले आफ्नो जिन्दगीमा विपत्तिहरू निम्त्याएका अनेक घटना हाम्रोसामु छन् । आवेशमा आएर अरुको जीवन जोखिममा पार्नु भनेको अन्ततः आफ्नै जीवनमा दुर्घटना निम्त्याउनु हो, आफूले आफैलाई जोखिममा पार्नु हो ।

हरेक मानिस जीवनमा आफू खुशी हुन चाहन्छ, आफूले सोचेजस्तो भएन भने उ दुःखी हुन्छ । आफूलाई सम्हाल्नका लागि उसले यस्ता केही कुराहरूको सहारा लिन्छ, जसले उसको शारीरिक र मानसिक अवस्थालाई थप नाजुक बनाउन मद्दत गर्छ । यो कुराले मलाई ‘हार्म’ गर्छ भन्ने थाहा पाइ पाइ प्रयोग गर्ने संसारमा मानिस मात्रै हो, मानिसबाहेक प्रायः सबै प्राणीहरू आफूलाई जोखिममा धकेल्ने कुरा खाँदैनन् । त्यस्ता कुराको आविष्कार गर्ने पनि मानिस नै हुन् । मानिस जति सचेत हुँदै गयो त्यति नै जोखिमहरू बढ्दैछन् । आफ्नो वरिपरि भीड बढ्दै जाँदा मानिस एक्लो बन्दैछ । पछिल्लो समय प्रविधिले आफ्नै वरिपरिको दुनियाँलाई फराकिलो बनाउँदै लाँदा मानिसको आफ्नोपन भने साँघुरिँदै छ । सोसियल मिडियाका कारण मानिसको देखावटी संसार फैलिएजस्तो लागेपनि वास्तविक संसार खुम्चिरहेको छ । अहिले अलिक फुर्सद भयो कि मोबाइलमा ठुलै कुरा छुटिसक्यो झैँ गरी टाउको घोप्ट्याएर बसेपछि समय बितेको थाहै हुँदैन । चाँडै बितेको त्यो समयले आफ्नो जिन्दगीमा के प्रभाव या असर छोड्यो भन्ने कुराको हिसाब गर्ने हो भने गुणा, भाग, जोड जेजे गरेपनि हात लाग्यो शून्य निस्कन्छ ।

विगतमा अलि फुर्सद भयो कि आफन्तहरू भेटिन्थ्यो, साथीहरूसँग दुःखसुखका कुरा गरिन्थ्यो, घरबाट बाहिर हिँडिन्थ्यो । तर अहिले अलि फुर्सद भयो कि मोबाइलमा ठुलै कुरा छुटिसक्यो झैँ गरी टाउको घोप्ट्याएर बसेपछि समय बितेको थाहै हुँदैन । चाँडै बितेको त्यो समयले आफ्नो जिन्दगीमा के प्रभाव या असर छोड्यो भन्ने कुराको हिसाब गर्ने हो भने गुणा, भाग, जोड जेजे गरेपनि हात लाग्यो शुन्य निस्कन्छ । बिहान ब्युँझिएपछि घरपरिवारमा को उठे, को उठेन, कसैलाई केही भइ रहेको छ कि भनी एकअर्काको सोधीखोजी, दिनभरी गर्नुपर्ने कामका लागि ‘माइण्ड मेकअप’ को ठाउँ सामाजिक सञ्जालले लिँदैछ । ओछ्यानमा राम्ररी आँखै नखोली तकिया वरिपरि रहेको मोबाइल हातमा लियो स्टेटस, लाइक, कमेन्ट, फोटो, साथमा अनलाइनका सामाग्रीहरू हेर्यौ । बाहिरको दुनियाँमा कसकसले केके गरे, को हिजो पार्टी गए, आज कसकसको म्यारिज एनिभर्सरी हो, कसको आफन्तको निधन भयो, कसले नाँचे, विवाहमा कसले कस्तो लुगा लाए लगायतका अनेक जानकारीले भरिएर ओछ्यानबाट उठ्दा मानिसले आफूभित्र भने खालीखाली महसूस गर्न थालेका छन् । आफ्नो शारीरिक अभ्यास, योग ध्यान, चिन्तन मनन सबैको समय सामाजिक सञ्जालले लिन थालेपछि अरुले हेर्दा भरिपूर्ण झैँ देखिने मानिस मनभरि रित्तोपन बोकेर दिनको सुरुवात गर्दैछ । सबैमा यही कुरा लागू हुन्छ भन्ने होइन तर धेरैलाई सामाजिक सञ्जालले आफ्नो वशमा पार्दै लगेको छ । भन्ने बेलामा अहिलेका युवाहरू जतिबेला पनि इन्टरनेटमा झुण्डिरहन्छन् भने पनि बयस्क र अधबैंशेहरूको दिन चर्या युवाको भन्दा झन् नाजुक बन्दैछ ।

पहिलापहिला पूर्ण समर्पित भएर भावनात्मकरूपमा गरिने रीतिरिवाज, चाडबाड सबै नै देखाउनका लागि झैं भएका छन् । दशैँमा टीका लगाउँदा मानिसका हात निधारमा आँखा क्यामेरातिर देखिन्छन् । हुँदाहुँदै लासको छेउमा बसेर, लाश बोकेर खिचिएका फोटोहरू समेत मानिसहरू सोसियल मिडियामा सेयर गर्न थाले । लाश उठाउँदाको भावना जुन हुनुपर्ने हो, दुःखद क्षणको त्यो गहिराइ आफ्नो तस्बिर कस्तो आउला भन्ने सोचमा मानिसले महसुस नै गर्न छोड्यो भन्ने कुरा तिनका मुहारमा झल्किएका भावले देखाइरहेका हुन्छन् । कसैको मृत्युमा श्रद्धाञ्जली दिन जाँदा लाससँग आफ्नो तस्बिर खिचेर अरुलाई देखाउन सक्नुबाट हामी कुन मनोदशाबाट गुज्रिरहेका छौँ भन्ने प्रष्ट हुन्छ । तिथि, वार्षिकी, श्राद्ध केही पनि अब आफ्नो श्रद्धा र भावनासँग मात्र सम्बन्धित रहेनन् । यति गरिसकियो, देखाइहालौँ न भन्ने मानसिकताबाट निर्देशित हुन थाले । घरपरिवार, आफन्त, साथीहरू जो हेरेपनि मोबाइलमा व्यस्त देखिन्छन् । बाबुआमा दुवै सामाजिक सञ्जालमा व्यस्त हुन थालेपछि अहिलेका सन्तानले बाबुआमाबाट पाउनुपर्ने न्यायो माया, आफ्नोपन र स्याहारसुसार पाउन सकेका छैनन् । बच्चाहरू अल्मलिउन् भनेर उनीहरूलाई अभिभावक आफैले हातमा मोबाइल थमाइदिन थालेको देखिन्छ । बच्चाहरू माथि त्यसको असर के सम्म पर्न सक्छ भन्ने कुरामा सरोकारै छैन ।

कसैले आहा‘ गज्जब‘ कस्तो राम्रो भनिदियो भने दङ्ग पर्ने, नकारात्मक कमेन्ट आयो भने निरास हुने १ दुःख या खुशीको लागि जिन्दगीमा कुनै ठुलो उपलब्धि हुनै परेन । अहिले लुगा शरीर ढाक्न भन्दा बढी फोटो खिच्नका लागि लगाउन थालिएको छ । हामी सबै नै यस्ता कुराहरूमा रमाउन थालेका छौँ । पहिलापहिला चिनजानका मानिसले, आफन्तले गर्ने सकारात्मक नकारात्मक टिप्पणीहरूले फरक पार्थ्यो, हिजोआज सामाजिक सञ्जालमा आएका टिप्पणीहरूले फरक पार्न थालेको छ । को हो, कहाँको हो, चिन्नु न जान्नुको मानिसले नकारात्मक टिप्पणी गर्यो भनेर मानिस त्यसैमा तनाव लिएर बाँच्न थालेको छ । जुन कुराको बारेमा टिप्पणी गर्ने मान्छेलाई जानकारीसम्म हुँदैन । हेर्दाहेर्दै परिवर्तन यति भयो कि मानिसहरू आफन्त, साथीहरू बिरामी भएर अस्पताल भर्ना हुँदा जानकारी पाएपछि फलफूल लिएर भेट्न जान्थे । अब त यस्ता कुरा पुराना संस्कृति, परम्परा झैँ बन्दै गएको छ । बिरामी भएको खबर अस्पतालको बेडमा सुतेको फोटोसहित सामाजिक सञ्जाल मार्फत आउँछ अनि ‘गेट वेल सुन’ भन्ने शुभेच्छा पनि सामाजिक सञ्जालमार्फत नै जान्छ । न हेर्न जानु परोस्, न फलफूल, न भेटघाट । बेडमा पल्टिरहेको बिरामीले आफ्ना लागि लेखिएको शुभेच्छा हेरेर मुस्कुराउन नपाउँदै कोल्टे फेर्दा आफूलाई एक्लै पाउँछ । यस्तो बेलामा आफूले आफैलाई सम्हाल्न सकेन भने के होला रु मानिसका परिस्थितिहरू बाहिर देखिएभन्दा फरक परिस्थितिबाट गुज्रिरहेका छन् ।

बाहिरको दुनियाँमा कसकसले केके गरे, को हिजो पार्टी गए, आज कसकसको म्यारिज एनिभर्सरी हो, कसको आफन्तको निधन भयो, कसले नाँचे, विवाहमा कसले कस्तो लुगा लाए लगायतका अनेक जानकारीले भरिएर ओछ्यानबाट उठ्दा मानिसले आफूभित्र भने खालीखाली महसूस गर्न थालेका छन् । यस्तो बेलामा के गर्ने रु ‘स्ट्रेस कोपिङ मेकानिज्म’ का बारेमा हामीकहाँ चर्चा हुने गरेको छैन । योग ध्यान, सकारात्मक सोच‘ उपायहरू फररर‘ भन्न जति सहज छ, हाम्रा स्कुल, कलेज, घर, कार्यस्थल, अभ्यासमै लागू गर्ने वातावरण त्यति देखिँदैन । घटना सन्दर्भहरूलाई कसरी सहज रूपमा लिने भन्ने कुरा मानिस आफैले आफूभित्र विकास गर्ने हो । कहिलेकाहीँ जीवनमा सोच्दै नसोचेका घटनाहरू एक्कासि भइदिन्छन् । हामी सबैलाई आफ्नो कारणले भन्दा अरुको कारणले हुने तनावहरू धेरै हुन्छन् जस्तो लाग्छ । तर ती तनावको व्यवस्थापन भने अरुले गरेर हुँदैन, आफैले गर्नुपर्छ । माइण्डलाई व्यवस्थित गर्न सक्यो भने धेरै कुराको समाधान निस्किन्छ ।

ध्यान मानिसका लागि आफूलाई सम्हाल्ने सबैभन्दा भरपर्दो अचूक उपाय हो । ध्यानले मानिसलाई जीवनमा आइपरेका विपत्तिहरूलाई सहन सहज बनाउँछ । मानिस हो, कुनैपनि विपत्तिमा गाह्रो त हुन्छ नै तर त्यो अप्ठ्यारो अवस्थालाई सहन गर्नका लागि ध्यान गर्ने मान्छेले अन्य जोखिमयुक्त कुराहरूको सहयोग लिनु पर्दैन । न पैसा लाग्ने, न कुनै साइड इफेक्ट, आफूभित्र र बाहिरको संसारलाई उज्यालो बनाउने ‘ध्यान’ हामीले न घरपरिवारमा अभ्यास गर्ने गरेका छौँ न त स्कुल, कलेजमा पढाउने गरेका छौँ । अरुलाई राम्रो गर्ने कुरासँगै आफूले आफैलाई राम्रो गर्ने, माया गर्ने कुरा बाल्यकालदेखि नै सिकाउनु जरुरी छ । आफूलाई माया गर्नु भनेको आफ्नो शरीर, मन र मष्तिष्कलाई दुःख हुने काम नगर्नु हो । शरीरलाई राम्रो नगर्ने खाना खानु, मनलाई दुःख हुने शब्द बोल्नु र मष्तिष्कलाई असर पर्ने गरी नराम्रा कुराहरू सोच्नु आफूले आफैलाई दुःख दिनु हो । अहिलेको समयमा यस्ता कुराको आवश्यकता झनै बढी छ । पहिलापहिला मानिसको संसार सानो थियो, आफू वरिपरि जीवन्त मानिस र सुरक्षित महसूस गर्न सकिने वातावरण हुन्थ्यो । अहिले संसार फराकिलो भएको छ तर देखावटी जीवन बाँचिरहेका ‘फेक’ मान्छेहरूको भीडमा असुरक्षित भावनासहित मानिस एक्लो बन्दै गएको छ । यस्तो अवस्थामा एक्लै हुँदा पनि सहज जीवन कसरी बाँच्ने रु भन्ने तयारी गर्नु आवश्यक छ । मानिस एक्लै बाँच्नु र एक्लोपन फरक कुरा हो । एक्लोपनबाट टाढा रहेर आइपऱ्यो भने कुनैपनि परिस्थितिमा आफूलाई एक्लै बाँच्न सक्ने बनाऔँ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार