8.1 C
Kathmandu

गठबन्धनको बेइमानी र सत्ताको फोहोरी खेल


प्रचण्ड नेपाली राजनीतिका सर्वाधिक बेइमान र पल्टुराम पात्र हुन् । कहिले यता पल्टन्छन्, कहिले उता । यिनी सर्वाधिक अस्थिर छन् । प्रचण्डले, नेपाली राजनीतिलाई विकृत, सङ्कीर्ण र अविश्वसनीय बनाउन सबैभन्दा धेरै योगदान गरेका छन् । प्रचण्डको न त सिद्धान्त प्रति निष्ठा छ, न त आफ्नै बाचा प्रति जवाफदेहिता छ । यिनले आफ्नै सहयोद्धा प्रति पनि बेइमानी गरेका छन् । किसान, मजदुर र आधारभूत तहका नागरिकप्रति यिनमा कुनै संवेदनशीलता र प्रेम छैन । प्रचण्डप्रति मान्छेले निकै तितो टिप्पणी गरिरहेका थिए । यस्तो लाग्थ्यो कि नेताहरू जसरी सोच्छन्, मान्छेहरूले त्यसरी सोच्न छाडेका छन् । नागरिकमा आलोचनात्मक चेत जागृत हुँदैछ । त्यसैले त मान्छेहरू प्रचण्डलाई प्रश्न गर्दै थिए । उनीहरूका प्रश्न थिए, निर्वाचनमा प्रचण्डले के भनेर कांग्रेससँग गठबन्धन गरे ? तत्कालीन नेकपाको विभाजनपछि एमालेप्रति प्रचण्डको टिप्पणी के थियो ? कांग्रेससँग स्वार्थ मिलेको बेला उनले बोल्ने भाषा कस्तो थियो रु धेरै परको कुरा छाडौं, मात्र एक हप्ता अगाडि यो (पुरानो) गठबन्धन पाँच वर्ष जान्छ भनेर प्रचण्ड स्वयम् कसरी उफ्रिँदै थिए रु मान्छेहरू हिसाब गरेर बसेका थिए र भन्दै थिए— आफ्नै बाचा र भाषाप्रति बेइमान नेताबाट के आशा गर्ने ? धोखाधडीको योभन्दा निकृष्ट राजनीति अरु के हुन्छ ?

शान्ति प्रकृयासँगै नेपाली राजनीतिमा उदाएका प्रचण्डका अगाडि अनेकन अवसर आए र गए । उनले आफूलाई अब्बल प्रमाणित गर्ने अवसर त गुमाए नै स्वयम् आफैँलाई समेत नष्ट गरे । अवश्य नै, उनी पटकपटक प्रधानमन्त्री भए । तर, त्यसका लागि उनले हिँडेको बाटो यति धेरै घृणायोग्य बन्यो कि सायद, उनलाई देखेर उनकै विगतलाई लज्जाबोध भएको होस् । दुईमत छैन कि राजनीतिमा सत्ता चाहिन्छ । तर, राज्यसत्ता भन्दा ठूलो हुन्छ नैतिकसत्ता, इमानको सत्ता र विश्वासको सत्ता । प्रचण्डले त्यो सबै सत्ता गुमाए र फगत हासिल गरे बदनामीको एकथान चिसो कुर्सी । प्रश्न आउँछ, त्यसो भए के पछिल्लो गठबन्धनको कुनै राजनीतिक अर्थ छैन ? राजनीतिक अर्थ छ । तर, नकारात्मक । किनभने यो गठबन्धनले राजनीतिक बेइमानीको मानक निर्माण गरेको छ, सुसंस्कृत र लोकतान्त्रिक राजनीतिको धज्जी उडाएको छ । यहाँ म यो लेखमार्फत पछिल्लो सत्ता गठबन्धनले निर्माण गरेका दशवटा बेइमानी सुनाउन चाहन्छु । मलाई लाग्छ, इतिहासको नकारात्मक परिघटनाबाट आगामी दिनले सिकोस् । त्यसका लागि पनि यी बेइमानी बताउनैपर्छ

पछिल्लो सत्ता गठबन्धनले राजनीतिमा अर्को एउटा अवसरवादको मानक स्थापित गरेको छ, त्यो हो, नागरिकको मतमाथि बेइमानी । यसको अर्थ, हिजो निर्वाचन अगाडि गरिएको कांग्रेस माओवादी वा एमाले राप्रपाको मिलेमतो ठीक थियो भनिएको होइन । न त यसो भनेर काङ्ग्रेसप्रति अतिरिक्त मोह राखिएको हो । स्पष्ट हुनैपर्छ, निर्वाचन अगाडिको अप्राकृतिक गठबन्धन र अङ्कगणित, अराजनीतिक र अलोकतान्त्रिक प्रयोग हुन् । तर, खास सन्दर्भमा (ठीक, बेठिक जे भए पनि) हिजो कांग्रेस, माओवादी र  एकीकृत समाजवादी मिले । मिलेरै निर्वाचन लडे । त्यो बेला, उनीहरूले जे भनेर आफ्नो सहकार्यलाई स्थापित गर्ने प्रयत्न गरे, प्रचण्डको पछिल्लो सत्ता पलटले त्यसलाई खण्डित गरेको छ । पार्टी कार्यकर्तालाई अर्को दलको निर्वाचन चिह्नमा भोट हाल्न लगाउने, त्यसरी नै मत सेयर गर्ने र निर्वाचन जितेपछि त्यसको अवमूल्यन गर्ने, यो कस्तो राजनीति हो रु एकथोक भनेर भोट माग्ने, जितेपछि अर्को थोक गर्ने ? यो चरम विश्वासघात हो । एउटा एजेन्डामा भोट माग्ने र अर्को एजेन्डा बोकेर सत्तामा जाने, योभन्दा निम्नकोटीको राजनीति के हुन्छ ?

हालैको कुरा हेरौँ, राष्ट्रिय सभाको निर्वचनमा लेनदेन गर्ने, अनि धोका दिने । पालैपालो प्रधानमन्त्रीको बाचा गर्ने अनि अरुको पालो आउन लाग्दा गठबन्धन नै तोडिदिने । सत्ताका लागि यतिधेरै नीच कसरी हुनसक्छन् मान्छेहरू ? एकहप्ता अगाडि मात्र यो गठबन्धन पाँच वर्ष टिक्छ भनेर आफैँ भाषण गर्ने अर्को हप्ता कसरी पल्टुराम बने ?  उनको यो अदलीबदलीलाई न त कतै कुनै तर्कले पुष्टि गर्दछन्, न त तथ्यहरूले । यो कुनै एक व्यक्ति प्रचण्डको मात्र कुरा थियो भने ठीकै थियो । तर, यो हाम्रा शासकहरूको प्रवृत्तिको कुरा हो । यो लोकतान्त्रिक राजनीतिलाई गिजोल्ने र अस्थिरतालाई स्पेस दिने नालायकीको कुरा हो । यो जनआन्दोलनलाई बदनाम गर्ने कुरा हो । अतःः यस्तो प्रवृत्तिलाई आलोचना नगरी कसरी बस्न सकिन्छ रु अझ ठूलो आश्चर्य त यो छ कि पुरानो गठबन्धनलाई मत हाल्ने नागरिकलाई घोका दिइँदैछ भन्ने कतै स्वीकारोक्ति छैन । न त कतै क्षमायाचना छ, न त लज्जाबोध । एक दिन यता पल्टिएको छ, अर्को दिन उता पल्टिएको छ । आफ्नो चरित्रलाई ुग्लोरिफाईु गर्ने दासहरूको जयगान सुनेको छ र आनन्दले रमाएको छ । यो कस्तो राजनीति हो, जहाँ मात्र षड्यन्त्र, धोकाधडीको र बेइमानी चल्छ, इमान चल्दैन ।

यो गठबन्धनले अस्थिरताको नयाँ शृङ्खला थपेको छ । विचार गरौं त, वर्ष(वर्षमा सरकार परिवर्तन गरेर हाम्रो लोकतन्त्र कसरी संस्थागत र सबल हुन्छ रु किनभने सङ्घीय सरकार अस्थिर हुँदा राज्य अस्थिर हुन्छ । प्रदेशहरू अस्थिर हुन्छन् । राज्य संरचना अस्थिर हुन्छन् । नीति र योजनाहरू अस्थिर हुन्छन् । विचार गर्नुपर्ने कुरा के भने सरकार बन्ने र ढल्ने कुरा दलहरूको निजी कुरा होइन । गठबन्धन बनाउने र भत्काउने कुरा पनि दलहरूको निजी कुरा होइन । यो देशको छवि र प्रतिष्ठाको कुरा हो । यो राज्यलाई कसरी स्थायित्व दिने भन्ने कुरा हो । तर, पछिल्लो प्रकरणले हाम्रो आन्तरिक राजनीति त खज्मजियो नै, विश्व राजनीतिमा समेत हामी अझ पत्रु देखियौँ । यो खेलले हाम्रो दल, नेतृत्व र राज्यको विश्वमञ्चमा बदनामी भएको छ । सत्ताका लागि नाङ्गै नाचेर हाम्रो राजनीतिले कसरी इज्जत बचाउला ?

सत्ता गठबन्धनमा संलग्न दलहरूले गरेको सहमतिपत्र हेर्दा लाग्छ, उनीहरूको कुनै राजनीतिक सङ्कल्प, सपना र नवीन योजना छैन । यो मात्र भागबन्डाको तमसुक हो । जस्तो कि सहमतिमा कतै पनि देशका आर्थिक, सामाजिक र राजनीतिक सङ्कट समाधान गर्ने प्रस्ताव छैनन् । न त महँगीको कुरा छ, न त बेराजगारीको । न त भ्रष्टाचार अन्त्य गर्ने सङ्कल्प छ, न त प्रशासनिक सुधार र सुशासनको योजना । सहमतिको पहिलो नम्बरमा प्रधानमन्त्री प्रचण्ड हुने भनिएको छ । दोश्रो, बुँदामा राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमाले हुने भनिएको छ । अर्को बुँदामा छ, चारदलले मन्त्रालय भागबन्डा गर्ने सहमति । चौथौ बुँदामा छ, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउने कुरा । पाँचौँ बुँदामा छ, सङ्घीयता कार्यान्वयनको । छैटौँ बुँदा छ, न्यूनतम साझा कार्यक्रम बनाउने । सातौँमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने कुरा छ भने आठौँमा छ, देशको स्वाधीनता, सार्वभौमसत्ता र अखण्डतालाई सुदृढ गर्ने अमूर्त सहमति । न्यूनतम साझा कार्यक्रम र सङ्कल्प नबनाइ कसरी यी दल एक ठाँउमा आइपुगे किनभने उनीहरूको साझा कार्यक्रम छ फगत सत्ता । राजनीतिमा विचार, मुद्दा कार्यक्रम, नीति र सङ्कल्पको स्थानमा फगत सत्तालाई जसरी स्थापित गर्न खोजिँदैछ, त्यो नेपाली राजनीतिकै लागि बेइमानी हो ।

एमाले माओवादीको कुरा गर्दा उनीहरू एक ठाँउमा आउने कुनै नैतिक र राजनीतिक कारण देखिँदैन । अवश्य नै कम्युनिष्टहरूको एकताका लागि मनग्गे सैद्धान्तिक कारण थिए र छन् । तर, हिजो एमाले( माओवादीहरू जसरी विभाजित भए, त्यसले उनीहरूबीचको सैद्धान्तिक एकतालाई पनि ठाउँ राखेको देखिँदैन । सुन्नै नसकिने भद्दा गाली, आरोप(प्रत्यारोप, सत्ताको दुरुपयोग । उनीहरूले राजनीतिलाई यति धेरै विकृत बनाए भनिसाध्य छैन । हिजो उनीहरूको एकताले पनि देशलाई घाटा दियो र विभाजनले पनि । तर, देशलाई उनीहरूले दिएको त्यो क्षतिका लागि न त कतै एमालेले माफी माग्यो, न त माओवादीले । न त कतै उनीहरूमा त्यो आरोप प्रत्यारोपका लागि लज्जाबोध देखियो, न त पश्चाताप । आफ्नो कमजोरीप्रति क्षमायाचना नगरी उनीहरूबीच गठबन्धन हुनु अर्को बेइमानी हो । खास भन्नेहो भने अस्थिरताका लागि नेपालका कम्युनिष्टहरू जति धेरै बदनाम छन्, त्यो अर्थमा यो गठबन्धन कम्युनिष्टहरूको निधारमा लागेको अर्को कलङ्क हो । जसले भन्छ, कम्युनिष्टहरू सबैभन्दा पदलोलुप र अविश्वासनीय हुन्छन् । त्यसो त नेपाली समाजलाई भत्काउन र भाँड्नमा माओवादीहरू सबैभन्दा धेरै दोषी छन् । समाजमा जुनखाले राजनीतिक उदण्डता पन्छिँदै गयो, त्यसका मुख्य कारण हुन् उनीहरू । जसले नेपाली समाजको मौलिक ज्ञान निर्माणको प्रक्रियालाई बिथोले र विवेकको हुर्मत लिए । मान्छेका सामाजिक र सांस्कृतिक आस्थाहरूमाथि जसरी प्रहार भयो, त्यसले हाम्रो सामाजिक लय नै खल्बल्यायो । मान्छेका निजी मामलामा पार्टीलाई प्रवेश गराइ जसरी हस्तक्षेप गरियो, त्यसका मुख्य दोषी हुन् माओवादीहरू पछिल्लो दशकमा समाजलाई उदारताबाट सङ्कीर्णतातिर लैजाने जुन प्रयत्न भए त्यसमा दोषी छन् माओवादीहरू ।

नेपाली राजनीतिलाई तर्क र तथ्यबाट निकालेर पूर्वाग्रहको भुङ्ग्रोमा जसरी हालियो, त्यसका लागि सबैभन्दा ठूलो योगदान कसैले गरेका छन् भने त्यो माओवादीले नै हो । यतिमात्र होइन, सत्ताको दलीयकरणमा कम्युनिष्टहरूको र विशेषतः माओवादीको जुन हात छ, त्यो सबैभन्दा माथि छ । समाजको पार्टीकरणमा कम्युनिष्टहरूले सबैभन्दा ठूलो योगदान गरेका छन् । त्यसैले त हाम्रो समाज पूर्वाग्रहले भरिँदै गएको छ र लोकतन्त्र दलतन्त्रमा फेरिएको छ । यो अर्थमा कम्युनिष्टहरू जति धेरै ठूला हुन्छन्, त्यति नै हाम्रा सङ्कटहरू बढ्दै जानेछन् । कम्युनिष्टहरू जति धेरै गठबन्धन गर्दछन्, हाम्रा समस्याहरू गिजोलिँदै जानेछन् । अतः आजको आवश्यकता न त कम्युनिष्टबीचको गठबन्धन हो, न त एकता । बरु आजको आवश्यकता हो, कम्युनिष्टहरूको लोकतान्त्रिकरण वा कम्युनिष्टहरूको वैचारिक, सङ्गठनात्मक र सांस्कृतिक पुनर्गठन । कम्युनिष्टहरूको लोकतान्त्रिकरणमा अवश्य नै, एमालेको निकै ठूलो योगदान थियो र छ । तर, जब एमाले माओवादी एक ठाँउमा उभिन्छन् लोकतन्त्रिकरणको त्यो प्रक्रिया अवरुद्ध हुन पुग्छ । बरु उल्टो, उनीहरू राज्य, राजनीति र देशलाई अझ हस्तक्षेप गर्ने प्रतिस्पर्धामा उत्रिनेछन् । र, दुर्भाग्यका साथ भन्नुपर्छ, त्यो प्रतिस्पर्धालाई एक वा अर्को कोणबाट साथ दिन बाध्य हुनेछ रास्वपा

यो गठबन्धन जसरी बन्यो, त्यसले दलहरूभित्रको आन्तरिक लोकतन्त्रलाई अझ नाङ्गेझार बनाएको छ । किनभने न त पुरानो गठबन्धन तोड्ने राजनीतिक र वैचारिक विमर्श दलहरूभित्र देखियो, न त गठबन्धनमै । प्रचण्डले न त पुरानो गठबन्धनमा आफ्ना असन्तुष्टि राखे, न त सहयात्रीहरू बीच नै यथोचित विमर्श भयो । नयाँ गठबन्धन किन आवश्यक भयो रु नयाँ गठबन्धनका एजेन्डा के हुनुपर्छ ? यी प्रश्नमा न त एमालेको केन्द्रीय समितिमा छलफल भयो, न त माओवादीमा । न त रास्वपामा, न त जसपामा । सबै काम यसरी भयो कि मानौँ यो देश मात्र एक दर्जन मान्छेहरूको बिर्ता हो । सत्ता षड्यन्त्रको योभन्दा विकृत रूप अरु के हुन्छ ? यो मतदाताहरूप्रतिको अपमान त हो नै, यसले सम्बन्धित पार्टीका नेता र कार्यकर्तालाई पनि अपमान गरेको छ ।

यी तमाम घटनाले राजनीतिको बृहत्तर लक्ष्यलाई अवमूल्यन गरेर राजनीतिको केन्द्रमा स्थापित गरिदियो फगत सत्ता अर्थात् राजनीतिको साध्यलाई इन्कार गरियो । साधन हाबी भयो । सबैलाई थाहा छ, राजनीति र सरकार अलग कुरा हो । राजनीतिले सुदूर भविष्य देख्छ । राजनीतिले निष्ठा र गरिमाबारे विचार गर्छ । राजनीतिले नैतिक सीमाको सम्मान गर्छ । तर, जब एउटा नेता सिंहदरबार पुग्नुलाई नै अभिष्ट ठान्दछ त उसले गर्ने राजनीति कस्तो हुन्छ रु इतिहासलाई घोका । वर्तमानलाई घोका । भविष्यलाई घोकाअनेकन् धोकाधडीको एउटा उदाहरण हो यो परिघटना । राजनीतिमा दलहरू हुन्छन् । दलहरू जन्मनु, हुर्कनु र आफ्नै सामर्थ्यबाट राज्य सत्तालाई बदल्न प्रयत्न गरिरहनु स्वाभाविक हुन्छ । लोकतन्त्रमा दलहरूको स्थान निर्धारण हुन्छ जनमतबाट । तर, जब षड्यन्त्र र अङ्कगणितको चलखेल प्रखर बन्छ, तब जनमतको कुनै अर्थ हुँदैन । अर्थ हुन्छ, फगत षड्यन्त्र र तानातानको । परिणाम, ठूला दल सत्ता राजनीतिको कुनामा पुग्छन् र हाबी हुन्छन् साना दल । परिणाम राज्य र राजनीतिमा ठूला दलहरूको भूमिका कमजोर बन्दै जान्छ । मुख्य दलहरूलाई सत्ताको खास भूमिकाबाट पृथक राखेर साना तिना दलहरूको प्रभावमा सरकार गठन र विघटन हुनु सुखद कुरा होइन । यो लोकतन्त्र, जनमत र जनअपेक्षाको मानमर्दन हो ।

आफ्नै बाचाप्रति धोकाधडी यो गठबन्धनको अर्को चरित्र हो । यसमा पुराना दलहरू त यसै बदनाम थिए, रास्वपासमेत त्यो बदनामीको हिस्सेदार बन्न पुग्यो । रास्वपाबाट नयाँ, सुसंस्कृत र वैकल्पिक राजनीतिको अपेक्षा गर्नेहरूका लागि यो निकै दुखद् हो । उदाहरणका लागि, रवि लामिछानेले ९रास्वपा० गत आमनिर्वाचनमा लगाएको नारा थियो— ‘नो नट अगेन, बाहरू घर बस १ु यहाँ ुबाुको अर्थ के हो, सबैलाई थाहा छ । खासमा रास्वपाले पुरानो सम्पूर्ण पुस्तालाई राजनीतिबाट बिदा दिनुपर्ने प्रस्ताव गरेको थियो । त्यसैले उ लोकप्रिय पनि भयो र मतदाताले सायद त्यही नाराको प्रभावमा उसलाई मतदान गरे । तर, भयो के रु रास्वपा पहिलोपटक एमाले अध्यक्ष ओलीको काँध चढेर प्रचण्ड सरकारमा गयो । चुनावअघि एउटा कुरा, चुनावपछि अर्कै कुरा । दुर्भाग्यवश, खास परिस्थितिमा रास्वपा सरकारबाट निस्कियो । मान्छेलाई लाग्यो कि रास्वपा अब सप्रनेछसिक्नेछ । दूरगामी महत्त्वका राजनीतिक, वैचारिक र सङ्गठनात्मक काममा आफूलाई केन्द्रित गर्ने छ । सुसंस्कृत राजनीतिको जग बलियो बनाउनेछ ।

सायद, नागरिकको यही अपेक्षालाई सम्बोधन गर्न हुनुपर्छ । रवि लामिछानेले एउटा ट्वीटमा भनेका थिए— अब यो चार वर्ष तपाईंहरू नै मिल्नुस् । हामीबाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । हामी ८४ अगाडि कोहीसँग मिल्दैनौँ । तपाईंहरू सबै मिलेर रास्वपाविरुद्धको गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै रु तर, भयो के, आफ्नै बाचा र प्रतिबद्धताविपरीत नयाँ गठबन्धनको सिद्धान्तहीन लेनदेनमा रास्वपा फेरि रमायो । आफ्नै बाचाप्रति बेइमानी गर्ने राजनीतिको रास्वपा स्वयम् हिस्सेदार भयो । रास्वपामै लागू हुने अर्को पनि उदाहरण छ । केही अगाडि बालकुमारीमा एउटा दुखद् घटना भयो । एउटा प्रदर्शनमा प्रहरीको गोली लागी दुई युवा मारिए । मृत्यु हुने युवाको पक्षमा भएको प्रदर्शनमा सहभागी रास्वपा सांसद डा. तोसिमा कार्कीले हातमा प्लेकार्ड लिएर भन्दै थिइन्— सत्र हजार प्लस दुई । तिनै तोसिमाको पार्टी रास्वपा प्रचण्डका अगाडि घुँडा टेक्न पुग्यो कसरी रु हालै सार्वजनिक भएको शहीदको सूची एकपटक प्रश्न नगरी ल्याप्चे लगायो कसरी ? पुराना बा र बाका पार्टीहरूप्रति रास्वपाको यो समर्पणले अनगिन्ती प्रश्न उठाएको छ । के त्यसको जवाफ रास्वपाले दिनसक्छ ?

यो गठबन्धनले ‘कन्फ्लिक्ट अफ ईन्ट्रेष्टु को पनि धज्जी उडाएको छ । जस्तो कि सबैलाई थाहा छ, रास्वपाका सभापति रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा सार्वजनिक शङ्कामा छन् । पछिल्लो समय उनलाई समेत मुछेर (गोर्खा मिडिया प्रालि र कतिपय सहकारी) आर्थिक घोटालामा छानबिन गर्न निवेदन परेको छ । उनका साझेदारमध्ये कोही नेपाल प्रहरीको खोजीमा छन्, कोही इन्टरपोलको । यस्तो बेला लामिछाने स्वयंलाई गृहमन्त्री दिन गठबन्धन कसरी तयार भयो रु लामिछाने स्वयम् गृहमन्त्री हुन कसरी तयार भए रु सुशासनको कुरा गर्ने र सुसंस्कृत राजनीतिको दुहाइ दिने रास्वपा स्वयम् त्यसका लागि कसरी तयार भयो रु के कन्फ्लिक्ट अफ इन्ट्रेस्टको मुद्दा रविको हकमा लागू हुँदैन ?

रास्वपाको सत्ता आरोहणसँगै वैकल्पिक राजनीतिको अर्थ र औचित्यमाथि फेरि प्रश्न उठेका छन् । यो गठबन्धनले निर्माण गरेको अर्को अपसकुन हो । रास्वपाजस्ता नयाँ दलले राजनीतिक पुनर्गठन र नवीनताका लागि योगदान गर्नुपर्नेमा सत्तालोभमा लहसिँदा राजनीतिक पुनर्गठनको औचित्य कमजोर हुन जाने धेरैको आकलन छ । यसै सन्दर्भमा आलोचनात्मक चेत भएका (हनुमानहरू होइन) मान्छेहरू भन्दछन्– रास्वपा जहाँ गयो र जे भयो, यो त उही पुरानै राजनीतिको निरन्तरता भयो । यो राजनीतिको कुनै नयाँ, वैकल्पिक र सुसंस्कृत बाटो होइन । यही बाटोमा हिँडेर हिजो उपेन्द्र, माधव, प्रचण्ड, कमल थापा र देउवाहरू यहाँ आइपुगेका हुन् । जुन बाटो नर्कतिर जान्छ, त्यही बाटो हिँडेर रविहरू स्वर्ग पुग्छन् कसरी रु विचार गरौं त, एउटा शासक आफ्नो कुर्सी जोगाउन राजनीतिका सम्पूर्ण नियम तोड्छ त त्यसले बनाउने राजनीतिक सभ्यता कस्तो हुन्छ रु एउटा नेता राजनीतिका सम्पूर्ण नैतिक मानक तोड्दै कहिले यता पल्टिन्छ त कहिले उता, उसले देखाउने राजनीतिको बाटो हुन्छ कस्तो ? एउटा शासक स्वयम् आफ्ना बाचा र प्रतिबद्धतामाथि बेइमानी गर्छ भने त्यसले गर्ने राजनीति कस्तो हुन्छ ?

यो न त पुरानो गठबन्धन टुटेको चिन्ता हो, न त नयाँ गठबन्धन बनेकोमा बेखुसी । यो नेपाली राजनीति चरित्रच्युत हुँदै गएकोमा व्यक्त गरिएको चिन्ता हो । किनभने यस्तो विकृत र बेइमान राजनीतिले हामीलाई कतै पुर्याउँदैन । अन्तिम कुरा दीर्घकालीन राजनीतिको आँखाबाट हेर्दा गतहप्ता नेपाली सत्ता गठबन्धनमा जसरी उल्टापाल्टी भयो, त्यसले न त प्रचण्डलाई फाइदा गर्छ, न त माओवादीलाई । यो नेपाली कम्युनिष्टहरूलाई थप बदनाम बनाउने एउटा निर्लज्ज परिघटना हो । दीर्घकालीन राजनीतिका लागि यो प्रकरणले कांग्रेसलाई भन्दा कम्युनिष्टहरूलाई धेरै घाटा गर्नेछ । तर, पछिल्लो प्रकरणले सबैभन्दा धेरै घाटा गर्नेछ रवि र रास्वपालाई । र, अवसरलाई चिने भने यो सम्पूर्ण प्रकरणमा सबैभन्दा धेरै नाफा हुनेछ गगनहरूलाई । प्रश्न उही छ, के रविले रास्वपालाई यो बाटो हिँडेर पुगिने पतनको पहिरोमा झर्नबाट जोगाउलान् ? अथवा, आफ्नै इतिहासको भारी बोक्न नसकेर थिलथिलो भएको कांग्रेसलाई के गगनले यो अवसरमा नयाँ, ताजा र जीवन्त बनाउँलान् ?

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार