30.1 C
Kathmandu

घात गर्ने दुष्टहरूलाई आम नेपालीले कालान्तरमा थुक्ने छन

ऐतिहासिक खोज र दस्तावेज लेखन निकै संवेदनशील विषय हो । यो समग्र देश र जनताको प्राचीन विरासतको अध्ययन गरी भावी पुस्ताका लागि मार्गदर्शन गर्ने कसी हो । सामान्यतः खोजमूलक लेख र समाचार प्रकाशनपूर्व त्यसका भरपर्दो प्रमाणहरूको बारेमा यकिन हुनुपर्छ । लेखकले आफ्नो कृति कागजीपन्ना भर्ने अक्षरहरूको थुप्रो मात्र नभएर कुनै कालखण्डको इतिहाससमेत हो भन्ने बोध गरेर लेख्नुपर्ने हुन्छ । अझ इतिहाससम्बन्धी विषयमा लेख्दा त पुरातत्व विभाग, सङ्ग्रहालय, जनस्तरमा रहेका दस्तावेज, किम्वदन्ती आदिलाई मिहीन ढङ्गले केलाएर उतार्न सकेको खण्डमा मात्र लेख्नुको अर्थ हुन्छ । तर, नेपालको सन्दर्भमा भने त्यसको ठिक विपरीत तथा लहडीपन मा मात्र सीमित छ कि भन्ने देखिन्छ ।
मिहीन तथा सूक्ष्म ढङ्गबाट इतिहास लेखन र खोजीकार्यमा लागि अविष्मरणीय योगदान दिएका कर्मठ पात्रको हकमा भन्नुपर्दा बाबुराम आचार्य, योगी नरहरिनाथ, स्वामी प्रपन्नाचार्य (कालू राई) , खप्तड बाबा, नयनराज पन्त, दिनेश पन्त, ज्ञानमणि नेपाल, धनबज्र बज्राचार्यलगायत केही पात्रलाई लिन सकिन्छ । अर्काथरी कतिपय लेखकले भने पूरै इन्डो पश्चिमा मिसनको आवाजलाई मात्र प्रश्रय दिँदै आएका छन् । विदेशी मिसनको निम्ति नकारात्मक इतिहास वा लेखहरू लेख्ने, वास्तविकतालाई तोडमोड गर्ने, नागरिकमा भ्रम छर्ने, नेपालको अस्तित्व र सार्वभौमसत्ता जोगाउने ऐतिहासिक पात्रहरूप्रति घृणा र द्वैष फैलाउने मिसनमा आफूलाई देशकै १ नम्बरको अखबार दाबी गर्ने लगायत नेपालका निजीक्षेत्रका केही पत्रपत्रिका तथा इलेक्ट्रोनिक मिडिया एवम् बिकाउ लेखकहरू सक्रिय छन् । यसमध्ये कतिपय लेखकको त नाम नै तोक्नु सान्दर्भिक होला, जसमा आहुति भनेर चिनिने विश्वभक्त दुलाल, डा. गोपाल गुरुङ, बाबुराम भट्टराई, खगेन्द्र सङ्ग्रौला, कनकमणि दीक्षित, युग पाठकलगायत अग्रपङ्क्तिमा छन् । अहिले यस्ताहरू नै राज्यबाट सम्मानित र पुरस्कृतसमेत हुन्छन् ।

यसैगरी, हिजोआज लेखक बन्ने रहर या होडबाजीमा निष्पक्ष र रचनात्मक खोज अनुसन्धान गर्नुभन्दा ऐतिहासिक विषयमा कोठामा बसेर कथा लेखेझैँ लेखिएका किताबहरू पनि इतिहास बिगार्ने अर्कोथरि तत्व हुन् । कुनै मिसनरीको स्वार्थ वा विदेशी इसारामा कलम चलाएर भ्रमित तुल्याउनेहरू भन्दा यस्ता भुइँफुट्टा वर्ग कालान्तरमा झनै खतरनाक सावित हुनसक्छन् । बेलैमा सचेत बनेर उनीहरूलाई सजग गराउनु अति आवश्यक छ । स्वार्थी वर्गले लेखिसकेका दस्तावेजहरू कति प्रामाणिक र स्पष्ट छन् कुनै कालखण्डमा त्यसको उचित मल्याङ्कन अवश्य नै हुनेछ । यसै प्रसङ्गमा ुढकाल समाज, नेपालको केन्द्रिय कार्यालय कोटेश्वर, काठमाडौँले २०८० सालको वार्षिक भित्तेपात्रो प्रकाशन गर्यो । उक्त भित्तेपात्रोमा कुलानन्द ढकाल भनेर राखिएको एउटा फोटोले धेरैको ध्यान तान्यो । उक्त क्यालेण्डरमा पाण्डे वंशका कुलपुरुष काजी कालू पाण्डेको तस्बिरलाई पृथ्वीनारायण शाहका राजनैतिक सल्लाहकार कुलानन्द ढकालको तस्बिर भनी सार्वजनिक गरियो । पुनः २०८० साल पौष २७ मा जनार्दन ढकाल र बद्रीप्रसाद ढकालले ढकाल वंशको ऐतिहासिक विवेचना र युगपुरुष कुलानन्द ढकाल नामको पुस्तक प्रकाशन गरी सोही आलोचित फोटो राखेपछि त्यसले जनमानसमा भ्रम सिर्जना गर्नसक्ने भन्दै सामाजिक सञ्जालमा केही ढकाल र पाण्डेहरूबाट चर्को आलोचना भएको छ । गोरखा दरबारको सङ्ग्रहालयमा बडामहाराज पृथ्वीनारायण शाहसँगै कालू पाण्डे र कुलानन्द ढकालको संयुक्त तस्बिर सजिलै भेटिने भए पनि ढकाल समाजका प्रबुद्ध व्यक्तित्व जनार्दन ढकाल र बद्रीप्रसाद ढकालले सो तस्बिरको पहिचान गर्न नसकी कालू पाण्डेको तस्बिरलाई सामान्य संशोधन गरि सार्वजनिक गर्नु एक लेखकका रूपमा र ढकाल वंशका लागि समेत लज्जास्पद कार्य हो भन्ने देखिन्छ ।

सामाजिक सञ्जाल आएको व्यापक आलोचनापछि पुस्तक लेखक बद्रीप्रसाद ढकालबाट क्षमायाचना गर्दै सच्चिनुको सट्टा सुनसान पोखरीमा ढुंगा हान्दा कुनै तरङ्ग आउँछ, त्यो तरङ्ग पानीको झुल्कासँगै किनारतर्फ अघि बढ्छ र एउटा कम्पन उत्पन्न गराउँछु भन्दै दिएको अभिव्यक्ति केटाकेटीपन जस्तै अपरिपक्व प्रतीत हुन्छ । आजसम्म नखोजिएका र सम्बोधन नगरेका कुराको केही खोज, अनुसन्धान गरी पुस्तककार कृतिका रूपमा ढकालहरूको ऐतिहासिक पक्ष र नेपाल एकीकरणमा योगदानको मूल्याङ्कनमा लेखिएको हो यो पुस्तक ‘ढकाल वंशको ऐतिहासिक विवेचना र युगपुरुष कुलानन्द ढकाल। यहाँ समाविष्ट गरिएका कुराहरू प्रारम्भिक खोज हुन्, वंशवृक्ष निर्माण गर्न खोजिएको रेखाङ्कन मात्र हो, यो परिष्कृत र परिमार्जन हुँदै जानुपर्छ, निश्चित रूपमै अब ढकालका बारेमा जानकार, विज्ञ खोजकर्ता र चासो राख्ने जानकारहरूले खोज अनुसन्धान गर्दै अझ उत्कृष्ट ऐतिहासिक तथ्य सम्मत कृतिको निर्माण गर्नुहुनेछ भन्नेमा पङ्क्तिकार पूर्ण आशा राख्दछ ।
हुन त विगतको खोज र अध्ययनबाट तत्कालीन समयमा खिचिएको वा निर्माण गरिएको कुनै तस्बिर नरहेको र पछि कुनै चित्रकार वा कलाकारले परिकल्पना गरी निर्माण गरेको फोटो वा तस्बिर रहेका तथ्य हामी सामु रहेको छ । जसको उदाहरण नेपालका विभिन्न स्थानमा राखिएका पृथ्वीनारायण शाहकै तस्बिरमा एकरूपता पाइन्न । समवय, समसामयिक, समकक्षता वा उही समयकाल मानिसका पहिरन, वेशभूषा, पहिचान उस्तै देखिनु नयाँ कुरा होइन । तर एउटा राज्यको पण्डित र सेनाधिपतिको तस्बिरका भिन्नतासमेत छुट्याउन नसक्ने कार्य यहाँ टड्कारो देखिन्छ । बाँकी कुरा ज्योतिर्विद् कुलानन्द ढकालको तस्बिर पुस्तकको लागि लेखकको आग्रहमा बनाइएको हो या नियतबस छापिएको हो? कोसँग मिल्छ मिल्दैन ? भन्ने तर्क आफैँमा जिज्ञासाको विषय हो । समयमै खोज गरौँ, बुझौँ र सकारात्मक तरिकाले वास्तविक इतिहास सबैमाझ ल्याउने प्रयत्नमा लागौँ ।

लेखकको भनाइमा प्रतिकार दिँदै धार्मिक एवम् राजनीतिक विश्लेषक सुवास ढकाल लेख्नुहुन्छ, हे दैव तिमीहरूले सक्ने भयौ नि ! आफ्नै पूर्वजको इतिहास लेख्दापनि अर्कै वंशका कालु पाण्डेको फोटो राखेर के गरेको यो ? लडाइँ लड्न जानुअघि अनुमति दिने (साइत हेरिदिने, कुटनैतिक व्यवस्थापन गरिदिने) लाई लडाइँको योद्धासँग तुलना गरिदियौ । १२ औँ पुस्तामा आएर धर्मपनि सकिनु, राजसंस्था पनि सकिनु, हे धर्मगुरु के भएको हो यस्तो ? यसै प्रसङ्गमा सन्देशजंग पाण्डे भन्छन्, ए ढकाल काकाहरू ! हाम्रा पुर्खा र तपाईँका पुर्खा कुनैबेला त एउटै थिए । तर, पछिसम्म एउटै त थिएनन् होला है, लाजको पसारो, आफ्नो पुर्खाको इतिहास त खोज्न सकेनौ, एउटा फोटोसमेत अर्काको चोरेर के बेइज्जत गरेको हो यो ? आफ्नै पुर्खा चिन्न नसक्नेले पनि के लेखक भइ टोपल्नु परेको होला फेरि ?

कुलानन्द ढकाल मैले पनि सम्मान गर्नेमध्येका एक प्रमुख व्यक्ति हुन् । गोरखा म्युजियममा कालु पाण्डे र कुलानन्द ढकाल पृथ्वीनारायण शाहसँगै रहेछन् त ! कालु पाण्डे र कुलानन्द ढकाल छुट्याउन समेत नसक्नेले कस्तो किताब लेखे होला खै ? यसैगरी लेखक तथा ऐतिहासिक अध्येता भरत चिन्तन ढकालले यस्तो लेखेका रहेछन् हाम्रा आदरणीय दाजुहरू जनार्दन ढकाल र बद्रीप्रसाद ढकालको कृति ढकाल वंशको ऐतिहासिक विवेचना र युगपुरुष कुलानन्द ढकाल धेरै दृष्टिकोणबाट राम्रो भएपनि केही विवादित देखियो । आफ्नो कुलवंशको इतिहास लेखनजस्तो गम्भीर विषयमा हतार, गुपचुप वा खेलाँची नगरौँ, एकपटक प्रकाशन भइसकेपछि विवाद आयो भने वा अर्को प्रामाणिक तथ्य भेटियो भने लाजमर्दो होला भनेर मैले उहाँहरूलाई पटक पटक सचेत गराएकै हो । कुनै विवादित विषयवस्तु वा तस्बिरलाई प्रश्रय नदिउँ, कुलानन्द ढकालको तस्बिर सुहाउँदो खालको बनाऔ, नभए म आफैं कोही राम्रो चित्रकार खोजेर बनाउन लगाउँछु भनेर पनि भनेकै हो ।
अहिले विवाद आएकामध्ये एक विषय हाम्रा प्रातःस्मरणीय कुलपुरुष तथा ज्योतिर्विद कुलानन्द ढकाल कस्तो हुनुहुन्थ्यो भन्ने हो । दाजुहरूले कहिले कालु पाँडेको त कहिले कसको तस्बिरलाई कुलानन्द ढकाल भनेर भ्रममा बसिरहनुभयो, अहिले प्रकाशनमा आइसकेपछि केही बन्धुहरूले प्रमाणसहित आपत्ति प्रकट गर्नुभयो । जे भएपनि कालु पाँडेको भनेर चिनिएको तस्बिरलाई कुनै किताब वा क्यालेण्डरमा कुलानन्द ढकाल हो भनेर छापिदिँदैमा कसैले पनि मान्दैन । यति कुरामा उहाँहरूको ख्याल पुगेको देखिएन । पुस्तकभित्रका विषयवस्तुमा समेत हेर्दा सामान्यजस्तो लाग्ने तर गम्भीर विषयमा हचुवा तथ्यका आधारमा इतिहास आफ्नो स्वार्थमा ढाल्नु लज्जास्पद मात्र हुन्छ । विवादित विषयवस्तुहरू हटाएर यस पुस्तकको परिमार्जित संस्करण छिटै पढ्न पाइनेछ भन्ने आशा गरेको छु ।

आदरणीय कान्छाकुमार कर्माचार्य गुरुले २२ वर्ष अगाडि परिकल्पना गरी बनाउनुभएको र गोरखा सङ्ग्रहालयमा समेत राखिएको निम्न तस्बिरका आधारमा कुलानन्द ढकालको फोटो बनाइएको भए अहिले कुनै विवाद गरिरहनुपर्ने अवस्था आउने थिएन । आन्तरिक विषय भएपनि सामाजिक सञ्जालमा आइसकेपछि यस खालको तर्कवितर्कले सार्वजनिक स्वरुप ग्रहण गर्दछ । त्यो अरुका लागि समेत चासो र सरोकारको विषय बन्न पुग्छ । अहिले हचुवाका विषयवस्तु लेखेकै भरमा लेखक बन्न त सजिलो छ । तर, आमसञ्चारले फड्को मारिसकेको जमानामा कीर्ते, गलत वा झुठो कार्य गरेर त्यसैलाई स्थापित गराउँछु भनेर कसैले कल्पना गर्नुसमेत व्यर्थ छ । इतिहासलाई आफ्नो स्वार्थअनुरूप चलाउन खोज्ने लिखित वा अनलाइनका यस्ता सामग्रीहरूले केवल देश र जनताप्रति गद्दारीपनबाहेक केही जनाउँदैन । क्षणिक स्वार्थ वा व्यक्तिगत लाभका लागि इतिहास, समुदाय वा केवल आफ्नै वंश जोसुकैप्रति घात गर्ने दुष्टहरूलाई आम नेपालीले कालान्तरसम्म धिक्कार्ने छन् । उनीहरूका आफ्नै सन्तानले समेत थुक्ने दिन अवश्य आउने छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार