27.1 C
Kathmandu

कर्तव्य पालन नगरी अधिकार मात्र खोज्नु दुर्भाग्य 

महादेव शिव, पर्वतकी एकमात्र छोरी पार्वतीलाई मन पऱ्यो । पार्वतीले तपस्या गरिन् । पर्वतले शिवसँग पार्वतीको विवाह गरिदिए । ती शिवपार्वती भनिए । यी दुवैको वैदिक विधिअनुसार ब्रह्माजीले विवाह गराएका हुन् । मन मिलेपछि राजकी छोरी र मसानमा बस्ने शिवको परिवार पनि सुखी हुने रहेछ । लोग्नेस्वास्नीको मन मिलेको छ भने शिव पार्वतीको जस्तो नमिल्दो परिवार पनि सुखी हुन्छ । शिव मसानमा बस्ने, खरानी धस्ने । हिमालमा बस्ने, ध्यान लागेपछि युगौँ नउठ्ने । पार्वतीचाहिँ राजाकी छोरी, सारै सुखले पालिएकी, बाघमा चढ्ने । महादेव गोरूमा चढ्ने । बाघले गोरूलाई देख्नै नसक्ने १ शिवपार्वतीको मन मिलेपछि तिनको पनि मन मिलेकै छ । छोरा गणेश हात्तीजस्तो । मुसामा चढ्ने । महादेवले सर्पको माला लाउने । मुसालाई सर्पले देख्नै नसक्ने । शिवपार्वतीको मन मिलेपछि तिनको पनि मन मिलेकै छ । सर्पले मुसालाई खाँदैन । छोरा कार्तिकेयको बाहन मयूर । मयूरले सर्पलाई देख्नै नसक्ने । तर शिवपार्वतीको मन मिलेपछि न बाघले गोरू खान्छ, न सर्पले मुसो खान्छ, न मयूरले सर्प खान्छ । न पार्वतीलाई शंकरसँग गुनासो छ न शिवलाई पार्वतीसँग गुनासो छ । हिउँको चिसो घर स्वर्गसरि छ ।

लोग्नेस्वास्नीको मन मिल्छ यो घर स्वर्ग हो । पतिपत्नीबीच प्रेम छ( त्यो घर वृन्दावन हो । दम्पतीले एकअर्कालाई विश्वास गर्छन्  त्यो घर बैकुण्ठ हो । धन सम्पत्ति चाहिन्छ । छरछिमेकी चाहिन्छन् । परिवार चाहिन्छ । सबैभन्दा बढी, सबैभन्दा महत्वपूर्ण त लोग्नेस्वास्नीका बीचमा विश्वास चाहिन्छ । शिवपार्वती विश्वास हुन् । त्यो विश्वासले शिव परिवार सुखको पर्याय बनेको छ । पुराणहरूले सुखी दाम्पत्यमा शिव परिवारलाई सम्झिन्छ । समस्या हुन्छन् । तनाव हुन्छन् । दुःख हुन्छन् । यदि पतिपत्नी मिलेका छन् भने दुःख सजिलै काटिन्छ । यदि पतिपत्नीमा मिलाप छैन भने त्यो घर नर्क हुन्छ । शिवपार्वतीको घर कैलाश स्वर्गसरि छ । किनभने शिवपार्वतीमा मिलाप छ । आशीर्वाद दिनेले ‘शिवपार्वती’ को जोडीलाई सम्झिन्छन् । शिव परिवारको असङ्गति होइन । पतिपत्नीमा मिलाप छ भने सबै असङ्गति सहयोगी हुन्छन् । ऋषि कर्दम तपस्वी थिए । जङ्गलमा तपस्या गर्थे । ब्रह्माले भने तपस्या गर्नु राम्रो हो । विवाह गरेर सन्तान जन्माउनु । ऋषि, देव तथा पितृऋणबाट मुक्त हुनु हो । तिमीले विवाह गर्नुपर्छ । तपस्वीको विवाह भयो । राजा मनुकी छोरी सत्यवती पत्नी बनिन् । पतिपत्नी दुवै जङ्गलमा निवास गर्न थाले । दुईबीच ठूलो विश्वास थियो । तपस्वी तपस्या गर्थे । राजकुमारी पतिको तपस्यामा सहयोग गर्थिन् ।

एकदिन कर्दम ऋषिले सम्झे उनी विवाहित हुन् १ सत्यवतीसँग क्षमा मागे । तपस्याको बलले सबै सुख जुटाए । सत्यवती र कर्दमका ११ वटा सन्तान भए । अन्तिम सन्तान ऋषि कपिल जन्मे । ऋषिले तपस्या गरिरहँदा सत्यवतीले दुःख मानिनन् । कर्दमलाई छोडिनन् । आफ्ना बुबा सम्राटसँग गुनासो पोखिनन्सधैँ विश्वास र श्रद्धाका साथ ऋषिसँग रहिन् । ऋषिको लक्ष्यलाई आफ्नो लक्ष्यमा समाहित गरिन् । ऋषि कर्दम र राजपुत्री देवहुतिको आपसी विश्वासले ‘भगवान्’ नै छोरा बनेर आए । छोराले आमालाई सांख्य दर्शनको उपदेश दिए । बुबा कर्दमले आफ्नै त्याग, प्रेम र समर्पणले मोक्ष प्राप्त गरे । पतिपत्नीको एकआपसी समर्पणले जङ्गलमा मङ्गल भयो । ऋषि कर्दम र राजकुमारी देवहुति दुवैले ससुरा र बुबाको राज्यसुखको आवश्यकता परेन । सीता नेपालको खेतबाट जन्मेकी थिइन् । राम दशरथ राजाका छोरा थिए । दुवै राजकुमार र राजकुमारी थिए । विश्वामित्रसँग घुम्दै जनकपुरमा सीतारामको आँखा जुधे । स्वयंवरमा सीताले रामलाई पतिको रूपमा स्वीकार गरिन् । रामले सीतालाई पत्नीको रूपमा स्वीकार गरे । दुवैको वैदिक विधिले विवाह भयो । दुवै एकआपसमा दम्पती बने । अयोध्या फर्केर दाम्पत्य जीवन बिताउन थाले । समयले कोल्टे फेर्यो । रामलाई १४ वर्षको वनवास मिल्यो । राम एक्लै वनवास जान चाहन्थे । सीताले पटक्कै मानिनन् । सीता र रामको मन मिलेको थियो । सीता रामको मन मिलेको हुँदा अयोध्या नै बैकुण्ठ बन्यो । पतिपत्नी मिल्दा घर स्वर्ग हुन्छ । गाउँ बैकुण्ठ हुन्छ । पतिपत्नी नमिल्दा घर लङ्का हुन्छ ।

सत्यवान राजकुमार थिए । सावित्री राजा अश्वपतिकी छोरी थिइन् । सत्यवान् र सावित्रीको विवाह भयो । सत्यवान् केवल एक वर्ष जीवित रहने छन्( नारदले सूचना दिए । सावित्री कत्ति पनि आत्तिइनन्बरू सधैं छायाँझैँ सँगै रहन थालिन् । एकदिन काल आयो । कालले भन्यो( मैले सत्यवान्लाई लैजानुपर्छ । विधाताको यही नियम हो । सावित्रीले मानिनन् । कालले धेरै प्रयत्न गरे । धेरै वरदान दिए । तर सावित्रीले मानिनन् । उनी आफ्ना पतिसँग साँचो प्रेम गर्थिन् । उनको प्रेम शरीरसँग थिएन । आत्मासँग थियो । पतिसँग उनको कुनै स्वार्थ थिएन । अन्ततः काल हाऱ्यो । सावित्रीले विजय प्राप्त गरिन् । यो सबै आपसी विश्वासले भयो । दुःखको बेलामा छोड्ने के पति १ दुःखको वेलामा साथ छोड्ने के पत्नी रु पतिपत्नी दुःख(सुखका साथी हुन् । एकआपसमा पुरक हुन् । पतिपत्नीका बीचमा अविश्वास, झैझगडा तथा मन नमिल्दा काल चाँडो आउँछ । मन्दोदरीको कुरा नमान्दा रावण मारियो । पत्नीको कुरा नटेर्दा कंश मऱ्यो । आफ्नी धर्मपत्नीको सल्लाह अस्वीकार गर्दा जरासन्ध मारियो । पत्नी गान्धारीको आग्रह नस्वीकार गर्दा धृतराष्टले राज्य र सन्तान गुमाए । लोग्नेको कुरा नमान्दा सत्यवतीले ज्यान गुमाइन् । पत्नीको कुरा नमान्दा इन्द्रले राज्य गुमाए । संसार पतिपत्नीको मिलनमा सुन्दर हुन्छ । झगडालु पतिपत्नीको संसार कालो हुन्छ । साँच्चिकै नर्कको द्वार हुन्छ ।

जङ्गलमा रावणले सीतालाई अपहरण गऱ्यो । सीताको वियोगमा राम रोए । रामको वियोगमा सीता रोइन् । रावणसँग युद्ध गरेर सीतालाई रामले घर फर्काए । कुनै गुनासो गरेनन् । लव र कुश दुई सन्तानको जन्म भयो । त्यसबखतको चलन त्यस्तै थियो । सीतालाई बात लाग्यो । रामले त्यागे । लक्ष्मणले सीतालाई लागेर जङ्गलमा छोडिदिए । सीताले कुनै गुनासो गरिनन् । रामको कुरा काटिनन् । राम पनि सीताको वियोगमा रहे । त्यसपछि कुनै विवाह नै गरेनन् । सीता र रामको दाम्पत्यको उदाहरण आजको समयमा पनि ‘सीताराम’ भनेर दिइन्छ । रावणले लगेको भनेर सीताको रामले अपमान गरेनन् । रामले त्यागेको भनेर सीताले रामलाई ‘मानवाधिकारको कठघरा’मा उभ्याइनन् । श्रीकृष्णले सत्यभामाको मान राख्न स्वर्गबाट पारिजात ल्याए । राजा हरिश्चन्द्रले पत्नीको मान राख्न मसानको काम गरे । पत्नीको मान, आत्मसम्मान जोगाउन पाण्डवले महाभारतको युद्ध लडे । पति गरम हुँदा पत्नी नरम हुने । पत्नी गरम हुँदा पति नरम हुने । आगोले आगो बाल्छ । पानीले आगो निभाउँछ । एउटा बोल्दा अर्को चूप लाग्ने । अर्को बोल्दा अर्को चूप लाग्ने । मतभेद स्वाभाविक हो । मनभेद हुनै हुँदैन । पत्नी पतिको ऐना हुन् । पति पत्नीको ऐना हो । एउटाले अर्काको अनुहार हेर्नुपर्छ । शिवले सधैं पार्वतीको उत्तर दिए । सबै शास्त्रहरू शिव(पार्वतीको सम्वाद हुन् । सम्वाद गर्नेहरू सधैं सुखी हुन्छन् । विवाद गर्नेहरू सधैं दुःखी हुन्छन् ।

सम्वाद पत्नीले आरम्भ गरे पनि हुन्छ । सम्वाद पतिले आरम्भ गरे पनि हुन्छ । सम्वाद समस्या समाधानको साँचो हो । सम्वाद गर्दा एकअर्काको सम्मान गरौँ । एकले अर्कोलाई तल पार्ने, अपमान गर्ने काम नगरौँ । पत्नीलाई अपमानित गर्ने पतिहरू आफू अपमानित हुन्छन् । पतिको अपमान गर्ने पत्नीहरू आफैमा अपमानित हुनुपर्छ । त्यसैले विवादलाई सम्वादमा रुपान्तरित गरौँ । दाम्पत्यको अर्थ हो, घर र घरायसी मामिलामा समान अधिकार । आफैबीच ठूलो सानो, मेरो तेरो भन्नेहरूले दाम्पत्य जानेका छैनन् । वेदले पति र पत्नीलाई घरका विषयमा समान अधिकार दिएको छ । कसैले कसैलाई हेला गर्न मिल्दैन । हेला गर्नु पाप हो । आफ्नै प्रतिज्ञाविरुद्धको विद्रोह हो । घर, सम्पत्ति, बालबालिका, परिवार, नातागोता र कर्तव्यमा समानता छ । कर्तव्य पालन नगर्ने तर अधिकार खोज्नु धुर्त्याइँ हो । कर्तव्य पालन गर्नेले अधिकार स्वतः प्राप्त गर्छ । पतिपत्नी नै ‘घर परिवार’ हुन् । दम्पतिको अर्थ हो घरपति । पति र पत्नी दुवै घरका मालिक हुन् । दुवै समान स्वामी हुन् । पतिको अर्थ मालिक हो, पत्नीको अर्थ मालिक्नी हो । दुवै समान हुन् । त्यसैले घर दुवैको हो, दुवैले मिलेर घर चलाउने हो । पतिले पत्नीलाई पत्नीले पतिलाई विश्वास गर्नुपर्छ । अविश्वास सम्बन्धको शत्रु हो । शंका सबैभन्दा ठुलो शत्रु हो । शत्रुसँग सम्झौता नगर्नु, विश्वाससँग सम्झौता गर्नु !

विवाह नै दाम्पत्यको जग हो । हिन्दु संस्कृतिमा विवाहविनाको दाम्पत्य राम्रो मानिन्न । आठ प्रकारका विवाह हुन्छन्, ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच । यीमध्ये राक्षस र पैशाच विवाह अस्वीकार्य नै छ । साथै, विवाह भोगलिप्साको साधन होइन, अपितु एउटा पवित्र धार्मिक संस्कार हो । संस्कारले अंतःशुद्धि हुन्छ, शुद्ध अंतःकरणमा तत्वज्ञान या भगवतप्रेम उत्पन्न हुन्छ, जुनचाहिँ जीवनको चरम एवम् परम पुरुषार्थ हो । विवाहमा सेक्स एउटा सानो अङ्ग हुन्छ । विवाहको मुख्य उद्देश्य ऋषि, देव तथा पितृऋण तिर्न सन्तान उत्पादन गर्न र गृहस्थका रूपमा परिवार, गाउँ, राष्ट्र तथा विश्वका लागि आफ्नो कर्तव्य पूरा गर्नु हो । वैदिक संस्कृतिले केवल सेक्सका लागि, केवल आर्थिक स्वार्थका लागि सँगै बस्ने ‘जोडी’लाई दम्पत्ति मान्दैन । यस्ता जोडीहरू ‘पार्टनर’ हुन् । सेक्स व्यापारिक सम्झौता हो । कुरा नमिलेपछि टुङ्गिन्छ । कम्पनीको पार्टनसीप टुङ्गिएझैँ ‘सहयात्रा’ सकिन्छ । पार्टनरसीपमा विश्वास गर्नेहरूको वैवाहिक जीवन छोटो हुन्छ । विवाह(संस्थासँग बाँधिएकाहरूको वैवाहिक जीवन आजीवन रहन्छ । पार्टनरसिपले पारचुके निम्त्याउँछ । विवाहले जीवनमा स्थायित्व स्थापित गर्छ । नेपाल र भारतमा एक प्रतिशत भन्दा कम डिभोर्स हुनु नै विवाह संस्थाको देन हो ।

सबै पार्टनरसिप असफल हुँदैनन् । सबै विवाह सफल हुँदैनन् । धेरैजसो प्रेमविवाहको आयु छोटो हुन्छ । धेरैजसो मागीविवाहको आयु लामो हुन्छ । सानो उमेरको प्रेम एकप्रकारको उन्माद हुन्छ । जुन उन्मादमा सेक्स र चलचित्रहरूले देखाएको ‘स्वप्नजस्तो भावनामा बग्ने’ प्रेम हुन्छ । जसको कुनै गन्तव्य नै हुँदैन । वास्तविक जीवन चलचित्रको जस्तो रि टेक होइन । धेरैजसो चलचित्रका हिरो हिरोइनको प्रेमको आयु छोटो हुन्छ । त्यसरी नै सेक्सको चाहना र चलचित्रको रङ्गीन भावनामा बगेर गरेको ‘पार्टनरसीप’ चाँडो टुङ्गिन्छ । मिल्न नसकेर डिभोर्सलाई ‘अधिकार’सँग जोड्न मिल्दैन । पति र पत्नी दूवै फरक व्यक्ति हुन् । फरक परिवेशमा हुर्किएका हुन् । दूवैको आआफ्नो क्षमता छ । यदाकदा मतभिन्नता स्वाभाविक ठान्नु पर्छ । लोग्नेलाई मनपर्ने भोजन स्वास्नीलाई मन नपर्ला । झिनामसिना विमतिलाई स्वाभाविक सम्मान गर्दै गृहस्थ चल्नुपर्छ । सधैं झगडा गर्ने केका पतिपत्नी । कहिल्यै पनि विवाद नगर्ने केका पतिपत्नी रु हातमा चुरा भएपछि बज्छन् । ती चुरा फोरिन्नबरू झन् जतन गरिन्छ । यस्तै, पतिपत्नीले आफ्नो सम्बन्धलाई जतन गर्ने हो भने घर स्वर्ग बन्छ । जतन नगर्ने हो भने फुटेको चूराझैं परिवार विखण्डनमा जान्छ । त्यसैले विमति हुँदा ‘सम्वाद’ गर्नुपर्छ । सम्वाद नगर्दा समस्या बल्झिँन्दै जान्छ । बल्झिँदै गरेको समस्याले अविश्वास निम्त्याउँछ । अविश्वासले विग्रह आउँछ । त्यसैले शिवपार्वतीझैँ हरेक कुरामा सम्वाद गरौँ ।

पतिपत्नी दम्पति हुन् । वैदिक विधिले विवाह गरेका पतिपत्नी हुन् । विवाह नगरी दाम्पत्य हुँदैन । विवाहका साक्षी अग्नि हुन् । अग्नि, सूर्य, पृथ्वी र यज्ञ दाम्पत्यका साक्षी हुन् । परिवार, आफन्त र आमन्त्रित दाम्पत्यका साक्षी हुन् । विवाह पवित्र यज्ञ हो । दाम्पत्य पवित्र सम्बन्ध हो । गृहस्थजीवनको आरम्भ हो । संसार चलाउने साँचो हो । पतिपत्नी घर हुन् । पतिपत्नी परिवार हुन् । पतिपत्नी घरका जग हुन् । दम्पतिको अर्थ हो घरपति । पति र पत्नी दुवै घरका मालिक हुन् । दुवै समान स्वामी हुन् । पतिको अर्थ मालिक हो । पत्नीको अर्थ मालिक्नी हो । दुवै समान हुन् । सानो ठूलो कल्पना हो । त्यसैले घर दुवैको हो । दुवैले मिलेर घर चलाउने हो । पतिले पत्नीलाई पत्नीले पतिलाई विश्वास गर्नुपर्छ । विश्वासमा संसार टिकेको छ । अविश्वास सम्बन्धको शत्रु हो । शंका रावण हो । शंका सबैभन्दा ठुलो शत्रु हो । शत्रुसँग सम्झौता नगर्नु, विश्वाससँग सम्झौता गर्नु ! हरेक पतिपत्नीले एकआपसमा मनमनै सोधौँ के तपाईंले आफ्नी पत्नीको सुखदुःख तिमीलाई कस्तो छ ? मेरा कारण तिमीलाई कुनै समस्या त भएको छैन ? मलाई थाहा छ तिमीले मेरोरपरिवारको हेरविचार गर्दा धेरैथोक गुमाएकी छौ । मैले तिमीउपर न्याय गर्न सकेको छैन, मैले तिमीलाई गालीगलौज गरिहालेँ भने पनि मलाई क्षमा गर्नु बारे नियमित सोधपुछ र सहयोग गर्नुहुन्छ ? धेरैजसो नेपाली पतिहरू पत्नीहरूलाई ‘केटाकेटी र आइमाई’ भनेर अपहेलनाको दृष्टिले हेर्छन् । शास्त्र र व्यवहारको दृष्टिकोणले यस्तो दृष्टिकोण पूर्ण गलत र क्षमायोग्य होइन । विवाह गर्दा पत्नीलाई ‘मैले तिमीलाई हरेक सुखदुःखमा साथ दिनेछु, जीवनका कुनै निर्णयहरू लुकाउने छैन र मैले गरेका हरेक काममा तिम्रो आधि स्वामित्व हुनेछ’ भन्दै अग्नि साक्षी राखेर कसम खाएको हो । त्यसैले हरेक पतिले आफ्ना पत्नीहरूलाई आफ्नो आधि अङ्ग मान्नुपर्छ । पत्नीलाई दासी ठान्ने मानसिकता पाप हो । यस्ता पापीहरूको जीवन सधैं दुःखमय हुन्छ ।

त्यसैगरी हरेक पत्नीहरूले पनि आफ्नो पतिलाई आधा अङ्ग नै मान्नु पर्छ । दाहिने आँखाले देब्रे आँखालाई छल्न सक्दैन । त्यसैगरी पत्नीसँग पतिबाट लुकाउनुपर्ने केही हुँदैन । पतिबाट माया, प्रेम, सद्भाव, निश्छल व्यवहार चाहनेले त्यस्तै व्यवहार गर्नुपर्छ । पति र पत्नी शब्द र त्यसको अर्थझैँ अभिन्न हुन्छन् । त्यसैले शास्त्रको आज्ञा पालन गरौँ । पति र पत्नी दुवैले दाहिने र बायाँ आँखाझैँ समन्वय गरेर संसारको धर्म पालन गरौँ र, मोक्ष प्राप्त गरौँ । विश्वास गर्नुस्, आपसमा मिल्ने पतिपत्नीको घर स्वर्ग हो । नमिल्ने पतिपत्नीको घर नर्क हो । स्वर्गको सुख चाहनुहुन्छ भने पतिपत्नी मिलेर बस्नुस् । जीवनमै नर्कमा निवास गर्न चाहनुहुन्छ भने आपसमा अविश्वास तथा आरोपहरू लगाएर हिँड्नुस् । सबैको भलोहोस् । तपाईंको दाम्पत्य जीवन शिवपार्वती, लक्ष्मीनारायण, सत्यवान सावित्री, सीताराम तथा विशिष्ट तथा अरुन्धतिको झैँ महान् बनोस् । हामी आफै अगाडि सरेर आफ्नो दाम्पत्य जीवन सुखमय बनाउनका लागि सहजीकरण गरौँ । सधैं याद राखौँ पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार