27.1 C
Kathmandu

बैङ्कर्सहरूको कार्यशैली नसुध्रिए बैंक माथि प्रहार निश्चित

नेपालमा बैंक तथा वित्तीय संस्था माथि प्रहार भइरहेको छ। राजनीतिज्ञदेखि सर्वसाधारण, सञ्चारमाध्यम र स्वार्थ समूहहरूको प्रहार बैंकमाथि देखिएको बैंकहरूले आरोप लगाइरहेका छन्। आइतबार मात्रै वित्तीय क्षेत्रमा क्रियाशील नेपाल बैङ्कर्स संघ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैङ्कर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संयुक्त र छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै वित्तीय प्रणालीमाथि धावा बोलिएको जनाएका छन्। लघुवित्त समस्या संस्था केन्द्रित नभई प्रवृत्ति केन्द्रित छ। तर, अहिले वित्तीय प्रणालीमा उठेको प्रश्न विशेषतः एनआईसी एसिया बैंक केन्द्रित छ। एनआईसी एसियाको काम गराइको प्रवृत्तिप्रति ज्यादै नकारात्मक भाष्य बनिरहेको छ। मानिसहरू एनआईसी एसियाप्रति एकदमै नकारात्मक किन भइरहेका भन्नु  त्यसको कारण एनआईसी एसिया स्वयम् र अन्य बैंकले पनि बुझ्नुपर्छ। अनावश्यक रुपमा यसरी संस्थागत धारणा बाहिर आउँदा एनआईसी एसियाको गलत अभ्यासको संस्थागत ढाकछोपको अवस्था बन्न सक्छ। एनआईसी एसियाले ३ दिनमा ४ वटा विज्ञप्ति निकाल्ने अवस्था किन आयो ? त्यसको हेक्का हुनुपर्छ।

एनआईसी एसिया प्रकरणपछि बैंकिङ प्रणालीमा प्रश्न उठेको भनेर जसरी सम्बन्धित संस्थाहरू उत्रिएका छन्, त्यसले उनीहरूलाई भोलिका दिनमा नैतिक संकट पर्न सक्छ। अहिले एनआईसी एसियाका सवालमा कतिपय सञ्चारमाध्यम माथि विज्ञापन नदिएको रिस पोखेको भनेर हल्का टिप्पणी हुने गरेको छ। तर, विज्ञापन नदिएकै भरमा कुनै बैंकमाथि टिकाटिप्पणी भएको पाइँदैन। त्यसो हुँदो हो त सरकारी र विदेशी लगानीका र अन्य बैंकहरूमाथि पनि निरन्तर प्रश्न उठ्दो हो। बैंक आफूले गर्ने व्यवसाय सुरक्षित, पारदर्शी र प्रश्न नउठ्ने गरी गरेको खण्डमा सञ्चारमाध्यमले कसरी खेद्‌न सक्छन् र ? आफूले गलत नगरेको भए आत्तिनु किन पर्छ ? विगतमा नेपाल बंगलादेश बैंक, नेपाल विकास बैंक, गोर्खा डेभलपमेन्ट बैंक, नेपाल सेयर मार्केट एन्ड फाइनान्सलगायत संस्था सञ्चारमाध्यमले समाचार लेखेकै कारण डुबेका होइनन्। उनीहरूको गलत अभ्यासका कारणले डुबेका हुन्, सञ्चारमाध्यमले त प्रश्न मात्रै उठाएका हुन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि डा. बाबुराम भट्टराईसम्मले नेपालको बैंकिङ पद्धतिमाथि प्रश्न उठाएका मात्र छैनन्, बैंक भनेका मिटरब्याजी हुन् भनेर सार्वजनिक घोषणा गर्दा बैङ्करहरूले प्रतिवाद गर्ने सामर्थ्य राखेनन् र त्यसबारेमा आधिकारिक धारणा माग्न सकेनन्।

बैंकिङले मुलुकको अर्थतन्त्रलाई दीर्घकालसम्म डोर्‍याउनुपर्छ। यस्तो जिम्मेवारी लिएको क्षेत्रले तत्काल नाफा खोज्ने बहानामा जे–जस्ता हर्कत देखाएको छ, त्यो कुनै पनि अवस्थामा सह्य छैन। नियामकले दिएका निर्देशनसमेतलाई पाखा लगाउने गरी उपभोक्तामाथि बैङ्करहरूले गरेको ज्यादतिका शृङ्खला छ्यापछ्याप्ती पाइन्छ। जब मुलुक चलाएका व्यक्तिहरू नै वित्तीय प्रणालीप्रति खुलेआम लागिरहेका छन् भने अरु झिनामसिना स्वार्थ समूह लाग्नु अनौठो होइन। तर, त्यसो भनेर अराजकतालाई प्रश्रय दिनु कदापि उचित होइन। त्यति मात्रै होइन अहिले अराजक अभिव्यक्ति दिने व्यक्ति भनेर अमुक मानिसलाई जसरी बैंकहरूले लाञ्छना लगाइरहेका छन्, ती व्यक्ति कसले उत्पादन गरेको हो ? तिनै व्यक्ति होइनन् अमुक बैङ्कर भगवान हुन् भन्दै मूर्ति बनाउन लगाएको सार्वजनिक घोषणा गरिरहेका छन्। बैंकिङ तत्काल परिणाम खोजेर गरिने व्यवसाय होइन। बैङ्किङले मुलुकको अर्थतन्त्रलाई दीर्घकालसम्म डोर्‍याउनुपर्छ। यस्तो जिम्मेवारी लिएको क्षेत्रले तत्काल नाफा खोज्ने बहानामा जे–जस्ता हर्कत देखाएको छ, त्यो कुनै पनि अवस्थामा सह्य छैन। नियामकले दिएका निर्देशनसमेतलाई पाखा लगाउने गरी उपभोक्तामाथि बैङ्करले गरेको ज्यादतिका शृङ्खला छ्यापछ्याप्ती पाइन्छ। बेलाबखतमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरू मात्र पाइँदैन। साँच्चिकै बैङ्करहरूले दिएका दुःखका कथाहरू पनि पाइन्छ।

आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न राज्य संयन्त्र चुकेकै हो। तर, त्यही बहानामा बैंकहरूले गलत अभ्यास चलाउन प्रश्रय पाउनु हुँदैन। संस्थागत विज्ञप्ति एउटा बैंकबाट किन आँउछ ?  बैङ्करहरूको धारणा हेर्दा यस्तो लाग्छ, अहिलेको घटनाक्रमले एउटा बैंकमा भएको अनगन्ती गलत कदमलाई सच्याउने अवसर दिएको होइन बरु थप गलत अभ्यास गर्न उक्साइरहेको भान हुन्छ। एकोहोरो बैंकको समर्थन गर्नुपर्छ भन्दैमा बैङ्करहरूले चलाएको गलत अभ्यासलाई कसैगरी साथ दिन सकिँदैन। अहिले बैंकिङ प्रणालीमा भएका गलत कदमलाई नियामक नेपाल राष्ट्र बैंकले समेत कारबाही गर्न नसक्ने परिवेश बनाइँदैछ, किन ? के बैङ्करहरू गलत अभ्यासमै रमाउन चाहेका हुन् प्रश्न उब्जिएको छ। ब्याज निर्धारण, ऋण असुली र दैनन्दिन गतिविधिमा जुन ढंगले बैङ्करहरू उच्छृङ्खल ढंगले प्रस्तुत भइरहेका छन् र नीति अंगीकार गरिरहेका छन्, त्यसले वित्तीय प्रणालीलाई मजबुत होइन, कमजोर बनाउँदै लगेको छ। के एउटा अराजक व्यक्तिले प्रश्न उठाउँदैमा बैंक डुब्ने अवस्थामा पुगेको हो ? वा आमरूपमा बैंकमाथि प्रश्न उठ्ने ठाउँ कसले बनाएको हो, एउटा अराजक व्यक्ति कि ? बैङ्कर स्वयंले ? त्यसैले अराजक र उच्छृङ्खल गतिविधि गर्ने र अनावश्यक ढंगले मान्छे उचाल्ने व्यक्तिलाई कानुनी कारबाही गर्नैपर्छ। तर, अर्को कोणबाट बैङ्करहरू आफू पनि सच्चिनु जरुरी छ। आफूले सर्वसाधारण उपभोक्तामाथि गरेका ज्यादती सम्झिएर आत्मआलोचित हुँदै नयाँ ढंगले व्यवसाय विस्तारमा ध्यान दिनुपर्छ। बैङ्करहरूको कार्यशैली र व्यवहार नसुध्रिए बैंकिङ प्रणालीमाथि आगामी दिनमा थप प्रहार हुने निश्चित छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार