29.1 C
Kathmandu

असार १५, राष्ट्रिय धान दिवस: मानो रोपेर मुरी फलाउने दिन

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ भन्ने थियो। राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउँछन्। यस दिनलाई रोपाइ महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांश स्थानमा रोपाइ गरी धान दिवस मनाउने गरिन्छ। कृषि मन्त्रालय सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले धान रोपाइ गरी यो दिवस मनाउने गर्दछन्। खेतमा रोपाइ गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ। सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसकेको पाइन्छ। नेपालले वि। सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

असार १५ नेपाली समाजमा खेतमा रोपाइ गरी दही चिउरा खाएर मनाउने परम्परा रहेको छ। उक्त दिन रोपाइ गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइ गरी हिलो छ्‌यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाइ गीतको रन्कोमा रोपाइ गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरु भएपछि असार १५ सम्म खेत गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाइको ठूलो महत्त्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाइमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्त्वको हुन्छ ।

लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ । त्यस्तै असारमा डुल्ने पजनीमा भुल्नु अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्त्वलाई पुष्टि गर्छ । रोपाइ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइको श्रीगणेश गरिन्छ । रोपाइमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइगरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाइ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यसको उत्पादन भने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनादेखि २ हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, बासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । एक आँकडा अनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाइ गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई र तीन से. मी. पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से.मी. पानी हुनु उपयुक्त हुन्छ ।

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामीण भेकमा किसानहरूले आफ्नै तवरले मनाउ छन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरू एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार