29.1 C
Kathmandu

दशैंलाई घर जाने हवाई टिकट महंगियो, इन्धन र नाफामुखी वायुसेवाका कारण उपभोक्ता मारमा

काठमाडौं । दशैंलाई घर जाने हवाई टिकट महंगिएको छ । इन्धन र नाफामुखी वायुसेवाका कारण हवाई टिकट महंगो हुँदा उपभोक्ता मारमा परेका छन् । दशैं शुरु हुन अझै एक महिना बाँकी हुँदासम्म स्थलमार्गको टिकट खुलाउने सुरसार छैन् । तर, आकास मार्ग हुँदै यात्रा गर्नेहरुको लागि भने केही गन्तव्यको टिकट नै सकिसकेको छ ।

काठमाडौंबाट पूर्वको तुम्लिङटार जाने हवाइ यात्रुका लागि टिकट सकिइसकेको छ भने कर्णालीको सुर्खेत जाने टिकट पनि पाउन मुश्किल भइसकेकेको छ । यी गन्तव्यमा बुद्ध एयरले मात्रै उडान गर्छ । तुम्लिङटार र सुर्खेतमा बुद्धको दैनिक एकएक उडान छ । उडान संख्या थोरै भएकोले पनि चाँडै टिकट सकिएको बुद्ध एयरले जानकारी दिएको छ ।

काठमाडौंबाट दुर्गम गन्तव्य जाने क्षेत्रमा भने उडानै कम हुने, दुर्गम उडान गर्ने तारा, सीता, समिट र नेपाल वायुसेवा निगम छन् । यी वायुसेवाका टिकट अनलाइन प्रणालीमा आउँदैनन भने यात्रुले चाहेको गन्तव्यमा टिकट पाउनै नसक्ने अवस्था छ ।

दशैंका लागि अनलाइन प्रणालीबाट सम्बन्धित वायुसेवाले जतिबेला पनि लिन पाइने गरी टिकट बुकिङ खुला राखेका कारण एक महिना बाँकी हुँदा चल्तिका गन्तव्यमा पनि ५० प्रतिशत अकुपेन्सी भइसकेको छ ।

काठमाडौंबाट दशैंमा बाहिरिने आम नेपाली हवाइ यात्रुका लागि धमाधम टिकट बुकिङ शुरु भइरहेको छ । दशैंको सुरसार नै नगरेका सर्वसाधारणले जहाजबाट जाने तयारी गरेका छन भने तिनका लागि सामान्य अवस्थामा जस्तो सस्तोमा पाइने टिकट किन्नै पाइदैन ।

वायुसेवा कम्पनीहरुको एक त आम्दानीको उपयुक्त मौसम भएको र अर्कोतर्फी यात्रु हुने बहानामा सस्तो टिकटको बिक्री नै खुला गर्दैनन् । दशैंको फूलपाती शुरु हुन भन्दा एक महिना अगाडि अर्थात १७ भदौको शुक्रवारका दिन पाइने टिकट यसको ठीक एक महिनापछि दोब्बरसम्म बृद्धि हुने गरेको छ । आन्तरिक उडानका वायुसेवाले सबै गन्तव्यमा सस्तो टिकट नै नदिएको हुँदा अहिलेको सस्तोमा पाइने टिकटो तुलनमा दशैंमा दोब्बर महंगोसम्म पर्छ ।

वायुसेवाले अवको २० दिनपछि पाइने टिकट सस्तोमा बेचेका छैनन् । दशैं लागेछि नै वायुसेवाले सस्तो टिकट नदिने गरेका छन् ।

काठमाडौंबाट बाहिरिने यात्रुको चाप हुने र मागेजति टिकट दिनै नसक्ने भएकोले विगतका वर्षदेखि नै दशैंमा सस्तो टिकट बिक्री गर्ने गरेका छैनन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भने चाडबाड लागिसकेको भएपनि अझै हवाई यात्रुको अकुपेन्सी भने अपेक्षा अनुसार बढ्न नसकेको तर्क गर्छन् । उनले भने ‘बुकिङ अनलाइनबाट खुलि नै रहेको छ । वायुसेवा कम्पनीले ठूला जहाजबाट सेवा दिइरहेकोले पनि टिकटै नपाउने अवस्था भने छैन् ।’

अनलाइन प्रणाली भएकोले यात्रुले जहिले टिकट लिए पनि पाउने अवस्था भने रहेको दाबी सम्बन्धित वायुसेवाको छ । अनलाइन प्रणालीको लागि हवाइ उडानको लागि ४/५ महिनापछि (जनावरी तथा फेब्रुअरी)सम्मको टिकट पनि लिन पाउने व्यवस्था छ । जति पछिको टिकट भयो उति सस्तो पाइन्छ । तर, यो नियम दशैंमा बाहेक अरु बेलामामात्रै वायुसेवाले लगाउने गरेका छन् । यसले गर्दा यात्रुले आफूले चाहेकै समयमा टिकट लिन सक्छन् ।

पहिलाजस्तो एक महिना अगाडि मात्रै खुला हुने र टिकट लिन यात्रुको भिड लाग्ने अवस्था अहिले नभएको पनि यती एयरलाइन्सका प्रवक्ता बर्तौलाले बताए ।

गत वर्ष कोरोना महामारीले दुःख दिएकोले स्थलमार्गको तुलनामा हवाइ टिकटमा चाप पर्ने गरेको थियो । अहिलेसम्मको उडान तालिका अनुसार दशैंलाई टिकट पाउने अवस्था भएकोले नै अहिलेसम्म थप उडानको तयारी नभएको बर्तौलाले बताए । उनका अनुसार अहिले ठूला जहाज भएकोले दैनिक १५÷१६ हजार यात्रुलाई सेवा दिन सक्ने क्षमता भने बनेको छ ।

यात्रुले दशैंको समयबाहेकमा छिटो टिकट लिँदा सस्तोमा पाउँने सम्भावना हुन्छ भने जति ढिलो गर्यो महंगो पर्छ । यस्तो समस्या उडानको गन्तव्य र यात्रुको चाप अनुसार उडान महंगो पर्ने सक्ने सम्बन्धित वायुसेवाको भनाइ छ  ।

दशैं भनेको सबै वायुसेवाको लागि काठमाडौंबाट बाहिरिने यात्रु धेरै हुन्छन् । दशैंको बेला फर्कदा रित्तै हुने अवस्था भएकोले पनि सस्तो टिकट नै नबेच्ने गरेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए । उनले भने ‘यात्रुको बुकिङ उत्साहजन नै भएकोले सबैजसो गन्तव्यमा नर्मल (महंगो) भाडादरमै यात्रुले टिकट लिन थालिसकेका छन् ।’

दशैं अगाडि काठमाडौंबाट बाहिरिने र दशैं सकिएपछि भित्रने यात्रुको चाप हुन्छ । यसो हुँदा एकतर्फी यात्रु हुने हुँदा सामान्य अवस्थाको तुलनामा वायुसेवाले सस्तो टिकट बिक्री नगर्ने र महंगोमात्रै बेच्ने गरेका छन् । यस्तो टिकट पनि हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको दरभन्दा माथि जाँदैन् । नियामकले तोकिदिएको अधिकतम भाडाको सीमाभित्रै रहेर सबै वायुसेवाले सेवा दिने गरेको पनि कर्णले बताए ।

गुण एयरलाइन्सका वरिष्ठ मार्केटिक निर्देशक प्रज्वल थापा भने अरुबेला यात्रु खोज्दै हिड्नुपर्ने भएपनि चाडबाडको बेला भने आफैं टिकट खोज्दै आउने गरेको बताए । यात्रुको खर्च गर्ने क्षमता बढेको, स्थालमार्गको तुलनामा छिटो र सहज सेवा लिन सकिनेदेखि बाध्यताले जहाज चढ्नेसम्मका कारण अहिलेको नर्मल समयमा पनि वायुसेवाको अकुपेन्सी ९५ प्रतिशतसम्म हुने गरेको उनको बुझाइ छ ।

दशैंको घटस्थापनाको दिनदेखि टीकाको दिनसम्म भने काठमाडौंबाट बाहिर जाने टिकट पाउनै गाह्रो हुन्छ । फर्कदा पनि टीकाको भोलिपल्टदेखि पूर्णिमाको दिनसम्म यात्रुको चाप बढी हुने देखिएपनि विगतका वर्षजस्तो टिकटै नपाउने अवस्था भने अहिले न्यून भएको बुझाइ थापाको छ ।

सरकारले हवाइ इन्धनको शुल्क बढेकोले यो दशैंमा विगतको भन्दा यात्रुलाई टिकट महंगो भने लाग्छ तर वायुसेवा कम्पनीले भने कम मार्जिनमै काम गरेर सेवा दिइरहेको दाबी पनि वायुसेवा कम्पनीहरुको छ ।

हवाइ टिकटमा इन्धनको हिस्सा नै ४० प्रतिशतभन्दा बढी हुने गरेको छ । इन्धनको शुल्क घटाउने भने भने अहिले पाइरहेको गन्तव्यमा जति पैसा तिर्नुपर्छ त्यो भन्दा करीब आधा सस्तोमै टिकटको सेवा दिन सक्ने बुझाइ पनि थापाको छ ।

इन्धनको शुल्क सस्तो हुँदा र यात्रु आकर्षिक गर्नुपर्ने बेला वायुसेवाले सस्तोमै टिकट उपलब्ध गराएको सम्बन्धित वायुसेवाको भनाइ छ । यस अघि काठमाडौं पोखराको हवाई टिकट २ हजार रुपैयाँमा नै पाइने अवस्था थियो । अहिले इन्धनकै मूल्य बढेको र एकतर्फी यात्रु हुने हुँदा यो गन्तव्यमा अहिले न्यूनतम भाडा नै ३९ सय रुपैयाँ छ । दशैं शुरु भएपनि भने यस्तो टिकटदर न्यूनतम नै ५८६० हुन्छ । यो गन्तव्यमा वायुसेवाले अधिकतम ६९८५ रुपैयाँसम्म भाडा लिने गरेका छन् ।

पोखरा आन्तरिक वायुसेवा लागि सबैभन्दा बढी उडान हुने क्षेत्र हो । पोखरामा श्री, गुण, यती र बुद्ध एयरले नियमित उडनज गर्ने गरेका छन । यी वायुसेवामा पनि सबैभन्दा बढी उडान बुद्ध एयरको हुन्छ । यो वायुसेवाले भने हालको लागि न्यूनतम ५३८५ रुपैयाँसम्मका टिकट फिर्ता हुँदैनन भने ५७१५ रुपैयाँदेखि ६९८५ रुपैयाँसम्मका टिकट मात्रै फिर्ता हुने सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार