सुरेन्द्र ढकाल प्रतिष्ठानले पछिल्लो एक आर्थिक वर्षमा २७ वटा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा २८ लाख रूपैयाँभन्दा बढी रकम सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा खर्च गरेको छ। काठमाडौँमा सम्पन्न प्रतिष्ठानको १४औँ साधारण सभा तथा १३औँ वार्षिकोत्सवका अवसरमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सो जानकारी दिइएको हो। संस्थाका अध्यक्ष सुरेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष शैलिनी ढकालद्वारा पेस गरिएको आय-व्यय विवरणलाई बन्दसत्रले करतल ध्वनिले अनुमोदन गरेको छ।
वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले मानवीय सेवामा योगदान पुर्याउँदै आएका युवराज अधिकारी, राम प्रसाद घिमिरे, विष्णु पराजुली र डा. योग पौडेल गरी चार जना व्यक्तित्वहरूलाई मानार्थ सदस्यता प्रदान गरेको छ। सदस्यता ग्रहण गर्दै नवमानार्थ सदस्यहरूले प्रतिष्ठानले पुर्याउँदै आएको निष्स्वार्थ सामाजिक सेवाबाट प्रभावित भएर आफूहरू संस्थामा जोडिएको बताए। कार्यक्रममा अतिथि सुनिल पाण्डेले शुभकामना व्यक्त गरेका थिए भने कार्यकारी परिषद् सदस्य संझना शाह, मानार्थ सदस्यहरू बुद्धिनारायण श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, सुजिता अधिकारी र लेखापरीक्षक नेत्र भट्टराईले प्रतिष्ठानको पारदर्शिता, व्यवस्थित लेखा प्रणाली र सामाजिक गतिविधिको सराहना गरे।

समारोहमा सचिव तेजेन्द्र प्रसाईँले विगत १४ वर्षको आरोह-अवरोह र संस्थागत विकासक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानले आगामी दिनमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।

