8.1 C
Kathmandu

१ अर्ब ३१ करोड भ्याट छली प्रकरणमा व्यवसायी बियानी थुनामा

विराटनगर । कर छलीसम्बन्धी एक ठूला प्रकरणमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभ कुमार बियानीलाई न्यायिक हिरासतमा पठाइएको छ।

‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’का सञ्चालक रहेका बियानीमाथि १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोप छ। आन्तरिक राजस्व कार्यालय विराटनगरको अनुसन्धानमा यस्तो तथ्य खुलेपछि उनलाई कानुनी कारबाहीका लागि कारागार चलान गरिएको हो।

राजस्व कार्यालयका अनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को उल्लंघन गर्दै यति ठूलो परिमाणमा राजस्व छली गरेका हुन्। असार १६ गते कार्यालयले थुनुवा पुर्जी जारी गर्दै उनलाई पक्राउ गर्न निर्देशन दिएको थियो।

थुनुवा आदेशमा बियानीले आरोपअनुसारको राजस्व छली रकम धरौटी स्वरूप नगद वा सम्पत्ति पेश नगरेको उल्लेख छ। सोही आधारमा आन्तरिक राजस्व कार्यालयले ऐनको दफा २३(घ) अनुसार थप आदेश नभएसम्मका लागि उनलाई मोरङ कारागारमा राख्न निर्देशन दिएको हो।

राजस्व कार्यालयले ठूला कर छलिकारीहरूमाथि कडाइका साथ कारबाही अगाडि बढाउने नीति लिएको जनाएको छ। यस घटनाले कर प्रणालीको पालनामा चुक्ने व्यवसायीहरूलाई कडा सन्देश दिने विश्वास गरिएको छ।

थप समाचार

ताजा समाचार