काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन्। असार १३ गते बसेको सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णय शुक्रबारदेखि लागू भएको कम्पनीले जनाएको छ।
भण्डारी यसअघि नेपाल एसबिआई बैंकमा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख र लेखा परीक्षण विभागका अधिकृतको रूपमा कार्यरत थिए। बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव रहेका भण्डारी स्रोतसाधन व्यवस्थापन तथा परिचालनमा दक्ष व्यक्तिका रूपमा चिनिन्छन्।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूतिकरण, सेयर रजिस्ट्रार सेवा, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवासहितका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नवनियुक्त सीईओ भण्डारीको नेतृत्वमा कम्पनीले मर्चेन्ट बैंकिङ सेवामा अझ गुणस्तरीयता र नविनता ल्याउने अपेक्षा गरिएको छ।