काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा डा. गुणाकर भट्टको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टलाई योग्यता नपुगेको भन्दै शुक्रबार निवेदन दर्ता गरेका हुन्।
निवेदनमा भट्टको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को मापदण्ड विपरीत र राजनीतिक सहमतिका आधारमा गरिएको गैरकानुनी कार्य भएको दाबी गरिएको छ। योग्य उम्मेदवार चयनका लागि कानुनी प्रक्रियाअनुसार नियुक्ति समिति गठन हुनुपर्नेमा, त्यसको पालना नगरिएको भन्दै आपत्ति जनाइएको छ।
यसअघि २ वैशाखमा सोही अधिवक्ताद्वयले दायर गरेको रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर नियुक्तिको प्रक्रियाबाट अलग राख्न अन्तरिम आदेश दिएको थियो।
भट्टविरुद्ध दायर नयाँ पूरक निवेदन पनि सोही मुद्दामा आइतबार पेश हुने तयारी गरिएको छ। गभर्नर नियुक्ति सम्बन्धी कानुनी विवादमा अब आइतबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ।