21.1 C
Kathmandu

आफूले आफैंलाई चिन्न  सक्नु नै विपश्यना

विपश्यना के हो ?  त्यहाँको माहोल कस्तो हुने रहेछ ?  ध्यानका विधिहरू केकस्ता होलान् ? ध्यानका विधिहरू कसरी अगाडि बढ्लान् ? यसले जीवनमा के परिवर्तन ल्याइदिन्छ ? आदि प्रश्नहरू स्वाभाविक रूपमा विपश्यनाबारे जान्न बुझ्न चाहने जो कोहीमा पनि हुनसक्छ । यिनै जिज्ञासा मभित्र पनि थिए । यही जिज्ञासा मेटाउनका लागि पनि म विपश्यनाप्रति थप आर्कषित थिएँ । वास्तवमा विपश्यना भगवान् गौतम बुद्धले आजभन्दा करिब २५/२६ सय वर्ष पहिले आफ्नै जीवनमा प्रयोग र विकास गरेको ध्यान विधि हो । ज्ञानतालाई छिचोल्न, जीवन र जगतबारे अलिकति भए पनि चिन्तन गर्न र बाह्य जगतबाट आफैँभित्रको ज्ञानको विराट महासागरमा डुब्नका लागि भने व्यक्ति अन्तर्यात्रामा जानुपर्दछ । जसले मानव जीवनलाई जीवन्त बनाउन अनि आफू हुनुको अर्थ खोज्न प्रेरित गर्दछ । यही अन्तर्यात्राका मार्ग हो विपश्यना नेपाली बृहत् शब्दकोशले पनि विपश्यनालाई आहार, विहार र विचारमा संयम र सन्तुलन कायम गरी काया, वेदना, चित्त र धर्मको अवलोकन गर्दै मुक्ति प्राप्त गर्न विभिन्न चरणमा सम्पादन गरिने विशेष प्रकारको साधना ! आफ्नै अन्तरनिरीक्षण गरी आत्मबोध गर्ने बौद्ध  विधिका रूपमा अर्थ्याएको छ ।

वास्तवमा विपश्यना कुनै तन्त्र-मन्त्र, जादु, चमत्कार बुद्धि विलासको माध्यम नभई जीवनको अस्तित्व अडिएको श्वासप्रश्वासको बोध गर्ने माध्यम हो । जबसम्म हाम्रो श्वासप्रश्वासका सन्तुलन हुन्छ जीवन पनि सहज र स्वस्थ रहन्छ, जब यसमा गडबड सुरु हुन्छ तब चिन्ता, भय, त्रास एवम् असहज परिस्थिति सृजना हुँदै जान्छ । एउटा अमेरिकी र नेपालीले फेर्ने श्वासप्रश्वास प्रक्रियामा केही भिन्नता हुँदैन । भूगोल फरक भए पनि मानिसका आवेग र संवेग समान किसिमका हुन्छन् । त्यसैले त मानिस रिसाउँदा, डराउँदा मुटुको धड्कन छिटोछिटो चल्छ अनि शान्त अवस्थामा सुस्तरी चल्ने गर्दछ । हो, विपश्यना त्यही विज्ञान हो, जसले आफैँभित्रको श्वास-प्रश्वासलाई नियाल्दै जाँदा शरीर र मनको विकारलाई शुद्धीकरण गरेर स्थायी शान्ति, खुसी र आनन्द प्रदान गर्दछ ।

कुनै व्याख्या विश्लेषण वा तर्क-वितर्कभन्दा पनि प्राकृतिक रूपमा हाम्रो शरीरमा सृजना हुने विविध संवेदनाहरूलाई केवल साक्षी भाव वा द्रष्टा भावले जे-जस्तो छ त्यस्तै र त्यही रूपमा स्वीकार्न सक्ने तथा तटस्थ बन्न सक्ने उत्कृष्ट अनुभव हो, विपश्यना । आफ्ना परिवार तथा आफन्त सबैबाट भिन्न नितान्त आफैंभित्र डुबेर दश दिनसम्म आर्यमौनको पूर्ण पालना गरी बस्दाको त्यो क्षण अनि त्यसको सकारात्मक परिवर्तन स्वरूप शरीर र मनमा आउने ऊर्जा जो-कोहीका लागि जीवनको एउटा अविस्मरणीय प्राप्ति बन्दछ । विपश्यनाको सुरुका तीन दिनसम्म आना पाना ध्यान गरिन्छ जहाँ पूरा ध्यान श्वास बाहिर निस्कने र भित्र जाने प्रक्रियालाई गहिरोसँग अनुभव गर्दागर्दै ध्यानको एउटा गहिराइमा पुग्न सकिन्छ । एउटा ढाँचा र शैलीबाट चल्न बानी परेको शरीर र मनलाई काबुमा राख्न सुरुका दिनहरू निकै कष्टकर हुन्छन् ।

बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म खाना, खाजा र छोटा-छोटा विश्रामबाहेक निरन्तर ध्यानस्थ बस्नुपर्दा ढाड दुख्ने, घुँडा दुख्ने, खुट्टा निदाउने जस्ता शारीरिक कष्टलाई त बिस्तारै स्वीकार्न सकिन्छ तर सुरुका दिनमा मनभित्र हुने मौनताभित्रको कोलाहल भने झनै डरलाग्दो बनेर आउँछ । अतीत र भविष्यका कैयौं स्वैरकल्पनाका आँधीहुरीले मनलाई एक ठाउँमा अड्याउने काम निकै चुनौतीपूर्ण हुन्छ । यद्यपि जब तीन दिनको अवधि पार गरिन्छ तब बल्ल विपश्यनाको वास्तविक यात्रा सुरु हुन्छ । चौथो दिनबाट शरीर यात्रामा अगाडि बढ्छ । शरीरको शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म निरन्तर बाँकी दिनहरू अत्यन्तै सूक्ष्म रूपमा एक एक गर्दै अवलोकन गर्दै गइन्छ । गहिरो ध्यानका अवस्थामा सुखका होस् या दुःखका संवेदना जे घट्छ त्यसलाई जस्ताको त्यस्तै ग्रहण गर्ने शक्ति प्राप्त हुन्छ जसलाई विना कुनै राग, विना कुनै द्वेष वा मोह ग्रहण गर्न सकिन्छ । ध्यानको अवस्थामा जे महसुस हुन्छ, साक्षी भावले स्वीकार्ने जुन अभ्यास बारम्बार गर्दै गइन्छ, यही प्रक्रियाबाट शरीर र मनको शुद्धीकरण हुँदै गई जब दशौं दिन पार गरिन्छ तब आफूभित्र एकप्रकारको गहिरो आनन्द, शान्ति, करुणा र दिव्य भावको आभा घटित हुन्छ । दुनियाँ चिन्दाचिन्दै र बुझ्दाबुझ्दै आफैंलाई चिन्न र बुझ्न नपाई जीवन सकिन्छ ।

अहिलेको व्यस्त समय र भागदौडको दिनचर्याबाट दश दिनको समय मात्रै विपश्यनामा लगाउन सक्यौं भने यसका माध्यमबाट आफूभित्र सुषुप्त अवस्थामा रहेको अन्तर्दृष्टिलाई जागृत गराई आफैंलाई चिन्न र बुझ्न सकिन्छ दशौं दिनमा बिहान दश बजे जब आचार्यज्यूहरूले मैत्रेय ध्यान गराउनुहुन्छ, तब आर्यमौन भङ्ग हुन्छ । आर्यमौन भङ्गपछिको खुसी, आनन्द र आत्मिक शान्तिको अनुभूति कुनै शब्दमा व्यक्त गर्न सकिने विषय होइन । शरीरमा स्फूर्ति अनि मनमा शान्तिको त्यो क्षणलाई कर्ता स्वयम्ले मात्र अनुभव गर्न सक्छ । वास्तवमा जीवनलाई बुझ्ने प्रयास स्वरूप कैयौं किताब पढिन्छ, प्रवचन सुनिन्छ, फिल्म हेरिन्छ, बुद्धिविलासका लागि अनेकौं तर्क- वितर्क, विचार-विमर्श गरिन्छ । यी र यस्ता यावत् विषयबाट प्राप्त हुने ज्ञानभन्दा भिन्न आफ्नै अन्तरात्माबाट प्राप्त हुने अजम्बरी ज्ञान भने विपश्यनाबाट मात्र सम्भव हुन्छ ।

संसारमा आज हरेक मानिसले खुसी, शान्ति र आनन्द खोजेको छ । यिनै कुराको खोजीमा मानिसले कुनै कसर बाँकी राखेको छैन । मन्दिरमा घण्ट बजाएकै छ, मस्जिदमा नवाज पढेकै छ, चर्चमा प्राथना पनि गरेकै छ अनि गुम्बामा ॐ मणि पद्मे हूँ पनि जपेकै छ ! धन, पद, प्रतिष्ठा पनि कमाएकै छ । आखिर सारा कुरा प्राप्त गरेर पनि मानिस किन तनावमा छ ? किन बेचैन छ ? किन निराश छ < म, मेरो र मलाई भन्दाभन्दै जीवनभर राग, द्वेष, मोह पालेर आफैं पनि दुःखित हुँदै अरूलाई पनि दुःखित तुल्याउँदै निकै बोझिलो र अत्यासलाग्दो जीवन जिउन विवश छ । मानिस अल्पज्ञानले कर्मकाण्ड र अध्यात्म उस्तै हो भन्ने भ्रममा फगत कुनै एउटा धर्म, दर्शन र सम्प्रदायको जगमा आफूलाई दास बनाएर जीवनप्रतिको सच्चाइ नबुझी भौंतारिइरहेको छ । जान अन्जानमा साम्प्रदायिक भावना फैलाइरहेको छ । अतः बाहिरी संसारको यी र यस्ता यावत् विषय र वासनाबाट मुक्त भई आफ्नै अन्तर्दृष्टिले आफैंलाई हेर्ने र चिन्ने साधन हो विपश्यना ।

आजको मानिस बेहोशीबाट होशतर्फ फर्कने अर्थात् जे गर्दैछ सो होशपूर्वक गर्न सक्ने हो भने युगौंयुगदेखिको मानिस-मानिसबीचको वैरभाव, वैमनस्य र शक्तिको अहङ्कार अन्त्य गर्दै सादा र सुखी जीवनयापन गर्न सक्छ । विपश्यनाको प्राप्ति भन्नु नै मानव जीवनको सार्थकताको खोजी हो । मानवले आफूलाई संसारकै सर्वश्रेष्ठ प्राणी दाबी गर्छ । त्यसो हो भने मानिस र अन्य प्राणीका बीचमा के भिन्नता छ त ? जन्म र मृत्युका बीचमा प्राणीले जे फरक कर्म गर्छ, त्यसैले जीवनको अस्तित्व र पहिचान स्थापित गर्दछ । खाने, सुत्ने, सन्तान जन्माउने, हुर्काउने र एकदिन काल पर्खने मात्रै हो भने यति त जनावरले पनि गरेकै छ ।
यति कर्म गरेर मानव अन्य प्राणीभन्दा भिन्न कसरी भयो त ? मानिस चेतनशील प्राणी हो, ऊ सोच्न सक्दछ । म को हुँ, किन यस धर्तीमा आएको हुँ, मेरो अस्तित्व केमा छ ? भनेर खोज्नु तथा मानिस र सम्पूर्ण प्राणीका हितका बारेमा सोच्नु पनि मानिसको कर्म हो । धर्तीमा जन्मिएर हुर्कनु, बढ्नु, सम्पत्ति कमाउनु, घरघडेरी जोड्नु, सन्तान उत्पादन गर्नु मात्रै जीवनको सार्थकता होइन । यो सुन्दर धर्तीमा मानव रूप लिएर जन्मिएका हामी जीवनलाई नबुझी बेहोशीमै यो संसारबाट बिदा भएका त छैनौं ? यही अज्ञानतालाई छिचोल्न, जीवन र जगतबारे अलिकति भए पनि चिन्तन गर्न र बाह्य जगतबाट आफैंभित्रको ज्ञानको विराट महासागरमा डुब्नका लागि भने व्यक्ति अन्तर्यात्रामा जानुपर्दछ ।

जसले मानव जीवनलाई जीवन्त बनाउन अनि आफू हुनुको अर्थ खोज्न प्रेरित गर्दछ । यही अन्तर्यात्राका मार्ग हो विपश्यना । हामी संसारलाई र सिङ्गो ब्रहृमाण्डलाई जान्ने, बुझ्ने प्रयासमा देश विदेश भौंतारिन्छौं, अनेकौं ग्रह-उपग्रहका बारेमा सोधखोज, अध्ययन, अनुसन्धान गर्छौं । भौतिक सुख विधाको खोजीमा आफ्नो सम्पूर्ण जीवन नै व्यतीत गरिदिन्छौं तर आफ्नै जीवनको आधार आफैंभित्र चलिरहने श्वासका बारेमा भने अनभिज्ञ हुन्छौं । दुनियाँ चिन्दाचिन्दै र बुझ्दाबुझ्दै आफैंलाई चिन्न र बुझ्न नपाई जीवन सकिन्छ ।

अहिलेको व्यस्त समय र भागदौडको दिनचर्याबाट दश दिनको समय मात्रै विपश्यनामा लगाउन सक्यौं भने यसका माध्यमबाट आफूभित्र सुषुप्त अवस्थामा रहेको अन्तर्दृष्टिलाई जागृत गराई आफैंलाई चिन्न र बुझ्न सकिन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार