8.1 C
Kathmandu

निष्ठावान् नेता र नैतिक आचरण

नैतिक आचरण र इमानदारिता नै निष्ठावान् नेतृत्वका प्रमुख आधार स्तम्भहरू हुन्।  निष्ठा भनेको नैतिक आदर्श हो र मानवीय विवेकको सुन्दर प्रस्तुति र व्यवहार हो। तपाईँ चाहे विद्यार्थी क्लबको नेतृत्व गर्नुहोस् वा कुनै कार्यसम्पादन टोलीको अथवा कुनै कम्पनीको सिइओेका रूपमा नेतृत्व गर्नुहोस्, त्यो अवस्थामा तपाईँलाई संस्थाका मूल्य र मान्यताहरूलाई मिचेर नैतिक सीमाहरू पार गर्न धेरै सजिलो हुन्छ। त्यो बेला तपाईँले गरेका निर्णय र सम्झौताहरू व्यक्तिगत लाभ र स्वार्थबाट अभिप्रेरित हुने गर्दछन्। अनि यहीँबाटै तपाईँको आदर्श र निष्ठा स्खलित हुन थाल्दछ। यसैको परिणामस्वरूप आज हामीले सार्वजनिक र निजी क्षेत्रमा व्यापक घुसखोरी अनियमितता र विकृतिहरू देखिरहेका छौँ, भोगिरहेका छौँ। वास्तवमा यो कुरा नै अनैतिक नेतृत्वको कुरूप अभिव्यक्ति हो।

निष्ठावान् नेताहरूले व्यक्तिगत लाभभन्दा सामूहिक र आफ्नो सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिने गर्दछन्। उनीहरूमा निर्भीक किसिमको जवाफदेहिता र पारदर्शिता पाइन्छ। उनीहरूले यिनै नैतिक सिद्धान्तहरूको निरन्तर पालना गरेर आत्मविश्वास कमाउँछन् र जस्तोसुकै कठिनाइमा आत्तिने गर्दैनन्, कुनै किसिमका लोभलालच र प्रलोभनमा फस्दैनन्। जस्तोसुकै प्रतिकूल अवस्थामा पनि स्थिर र अविचलित रहेर प्रतिकूलताको सामना गर्छन्। समाजमा यस्तै नेताको मात्र सम्मान बढ्ने गर्छ। यिनै सम्मानित नेताहरूबाट नै सम्मानित संस्कृतिको विकास भई सामाजिक उत्तरदायित्वको क्षेत्रमा ठोस र सकारात्मक योगदान पुर्याउन  सकिन्छ। अनि त्यस बेला समाज लयबद्ध र व्यवस्थित ढंगले चलायमान बन्दछ। आज समाजले यस्तै उच्च र निष्ठावान् नेतृत्व खोजिरहेको छ।

समाजमा जब जो कोही नेता निष्ठावान् संस्कार र आचरणका उज्याला पक्ष बिर्सेर अँध्यारा र काला प्रभावहरूको जालोमा पर्दै जान्छन् तब उनीहरूको भूमिका र नेतृत्व अनैतिक बन्न थाल्छन्। यस्ता अँध्यारा प्रभावमध्येको एउटा कारक तत्त्व व्यक्तिगत लाभको चाहना हो। यसले उनीहरूलाई नैतिक सीमा मिचेर आर्जन गर्न, पदोन्नति पाउन र अनुचित रूपमा पैसा कमाउनका लागि प्रेरित गर्न सक्छन्। यस्तै निष्ठामा आँच पुर्‍याउने दोस्रो कुरा सफलताको खोजी हो। यसका लागि व्यक्तिले अनेक प्रपञ्च गरेर, प्रतिस्पर्धाका सेटिङहरू मिलाएर जस्तोसुकै सम्झौता गरेर भए पनि आफूलाई अरूभन्दा माथि र सफल बनाउन खोज्छन्, उनीहरू कुनै पनि मूल्यमा नतिजा आफ्नो पोल्टोमा पार्न चाहन्छन्। सिद्धान्तका कमजोर ठाउँहरूमा खेलेर होस् या लेनदेन वा काँटछाँटको सम्झौता गरेर होस् उनीहरू जसरी पनि आफूलाई सफल देखाउन खोजिरहेका हुन्छन्।

निष्ठावान् नेतृत्वको तेस्रो बाधा अस्वस्थकर संगठनात्मक संस्कृति हो। यस्तो संस्कृतिले अनैतिक कार्य गरिरहँदा उनीहरूले परिणामबारे सोचेका हुँदैनन्। कमजोर नेतृत्व र नैतिकताको कार्यान्वयनमा गरिने ढिलासुस्ती अनैतिक कार्य गर्न दिइने अनुमति जस्तै हो। यसले समस्यालाई झनै बल्झाउने काम गर्दछ र यो संस्कृतिले नुनको सोझो गर्ने वा गुनको बदला गुनले तिर्न खोज्ने प्रवृत्ति झनै फस्टाउँछ अनि अनैतिक व्यवहारहरू अझ बढ्दै जाने गर्दछन्। नेता वा नेतृत्वलाई लाग्न सक्छ, कहिलेकाहीँका विशिष्ट परिस्थितिमा अनैतिक कार्यहरू पनि आवश्यक हुन्छन् र स्वीकार्य वा जायज हुन्छन् तर जस्तोसुकै परिस्थितिमा पनि यसो गर्नु शोभनीय र जायज मानिँदैन। समाजमा कमजोर चरित्र भएका मानिस साथीभाइको दबाबमा अनैतिक कार्यलाई पराजित गर्न सक्दैनन्। साथै केही नेताहरूको नैतिक धरातल कमजोर छ वा समानुभूतिको अभाव छ, त्यस्तो अवस्थामा उनीहरूले अरूलाई असर नपर्ने गरी अनैतिक व्यवहारको सिकार बनाएका हुन्छन्। यो कुरा पनि नैतिक दृष्टिकोणले खराब नै मानिन्छ।

आज नेपाल भ्रष्टाचारको जालोमा जेलिएको छ। भ्रष्टाचारको बलियो उपस्थिति र पकडले सुशासनको बाटो अवरुद्ध गरेको छ। नेतृत्वलाई मूल्य र सिद्धान्तको नायक बन्नबाट रोकेको छ। यस्तो लाग्छ, प्रत्येक नेपालीले ससम्मान कुनै नेतृत्वलाई राजनेता मानेर ससम्मान भित्तामा सजाउने एउटा पनि व्यक्ति फेला परेको छैन। जता फर्केर हेर्‍यो, व्यक्तिगत लाभका निम्ति आफ्नो शक्ति र साधन स्रोतलाई दुरुपयोग गर्दै शासनको नेतृत्व सम्हालिरहेका मात्रै भेटिने गर्दछन्। यस्तै नेतृत्वका कारण आज निजी तथा सार्वजनिक क्षेत्र दुवैमा नेतृत्वप्रति जनताको विश्वास र भरोसा टुट्दै गएको छ र उनीहरूको नैतिकता नै धरापमा पर्दै गएको छ। स्वार्थका लागि बारम्बार भइरहने नेतृत्व परिवर्तनले राजनीतिक अस्थिरता बढ्दै गएको देखिन्छ। निष्ठापूर्वक नेतृत्व गर्छु भन्नेहरूले पनि स्वतन्त्र रूपले काम गर्न सकिरहेका छैनन् र यसले पनि निष्ठावान् नेतृत्व निर्माणको प्रयासमा बाधा पुर्‍याएको छ। उनीहरूका अल्पकालीन मुद्दा र अजेन्डाहरू दीर्घकालीन नैतिक विचारहरूमा विजयी हुने गर्दछन् जसका कारण पनि निर्णय लिने क्रममा अनैतिक सम्झौताहरू हुने गर्दछन्।

निष्ठावान् नेतृत्व विकासको अर्को चुनौतीका रूपमा सामाजिक–सांस्कृतिक पक्षहरू देखिन्छन्। समाजमा पहिलेदेखि चल्दै आएका मूल्य, मान्यता र परम्परा तथा क्रमबद्ध संरचनाहरूले पनि नेतृत्वका लागि अवसर र चुनौतीहरू सिर्जना गरेका हुन्छन्। नेपाल जस्तो देशमा नैतिक अभ्यास र कार्यका लागि अत्यन्तै थोरै अवसर र ठाउँ छन्। त्यसैले उनीहरूले उपयोगिता र स्वार्थका लागि जस्तोसुकै सम्झौताहरू पनि गर्न पुग्छन्। यसैको उदाहरणका रूपमा नातावाद, कृपावाद, उपहार वा पैसा, आग्रह वा पूर्वाग्रह राखेर त्यसैको छद्म भेषमा घुसखोरी र पक्षपातपूर्ण व्यवहारलाई लिन सकिन्छ। यसैका कारणबाट नेतृत्वले आफूलाई योग्य र माथि सम्झने तथा जनताले हीनताबोधको अनुभव गर्दछन्। यस्ता कुराले समाजमा अन्यायलाई प्रश्रय प्रदान गर्दछ र धनी र गरिबबीचको खाडललाई अझ फराकिलो बनाउने गर्दछ।

सत्य र न्याय मानव जीवनका अमूल्य ज्योति हुन्। असल नेतृत्व यी गुणहरूमा प्रतिबद्ध हुनुपर्छ। म अनैतिक नेतृत्वको पञ्जाबाट जसरी पनि बाहिर निस्कनु छ भने अठोट राख्नुपर्छ। यस्तै नेतृत्वलाई मात्रै परिवर्तनकारी र प्रामाणिक नेता मान्न सकिन्छ। नैतिकतालाई प्राथमिकता दिनसक्ने नेताहरूका कार्य र व्यवहारबाट यस विषयमा मूल्यवान ढाँचा र सिद्धान्तहरू तर्जुमा गरी कार्यान्वयन गर्न सकेमा ती निर्णय र सिद्धान्तहरूले व्यापक अनुमोदन प्राप्त गर्छन्। यसो भएमा नेतृत्व शक्तिशाली बन्न पुग्दछ र यस्तो नेतृत्व वरपरका सबै मानिसको लागि रोल मोडल र आदर्श बन्छन्। यस्ता नेताले प्रमाणका आधारमा काम गर्छन्। नैतिक साहसमा जोड दिन्छन् र उनीहरूले भावनात्मक बुद्धिमत्ता मात्रै देखाउँदैनन् उच्च नैतिकताप्रति प्रतिबद्धता पनि देखाउँछन्। हालैका अध्ययनले के देखाएको छ भने दक्षिण एसियामा संगठनको सफलतामा नैतिकतामा आधारित नेतृत्वको भूमिकालाई नै विशेषरूपले औँल्याएको छ। उदाहरणका रूपमा, जर्नल अफ बिजनेस इथिक्समा प्रकाशित अध्ययन बङ्गलादेशको कपडा उद्योगमा केन्द्रित छ। अध्ययनअनुसार परिवर्तनमा विश्वास राख्ने नेताहरूले कसरी निष्ठा र नैतिकतालाई महत्व दिन्छन् भन्ने कुरालाई देखाइएको छ। भारतीय व्यवस्थापन संस्थानका विद्वान्हरूले उच्च नैतिकताले संगठनभित्रका कर्मचारीहरूमा सन्तुष्टि र राम्रो स·ठनात्मक प्रदर्शनसँग जोडिएको हुन्छ भन्ने बताएका छन्।

त्यस्तै पाकिस्तानका मनोवैज्ञानिकहरूले नेताहरूको परिस्थितिजन्य दबाब, पूर्वाग्रहहरू र नैतिक निर्णयलाई प्रभाव पार्ने कुराहरू हटाउन नैतिक पहिचान र संज्ञानात्मक पक्षजस्ता कारकहरूको मुख्य भूमिका रहने उल्लेख गरेका छन्। यी अध्ययनबाट प्रस्ट हुन्छ कि नेताहरूमा निहित नैतिकता र निष्ठा नै सकारात्मक परिवर्तनका विशेषता हुन्। यिनै नैतिकता र निष्ठाले नै नेतामा विश्वसनीयता, प्रेरणा र निष्पक्षता स्थापना गर्न महत्त्वपूर्ण तत्त्वका रूपमा काम गर्दछन्। यसले गर्दा सम्बन्धित संगठन तथा देश दुवैमा सकारात्मक परिवर्तन सम्भव हुन्छ। समाजका कुनै पनि कार्यस्थलमा निष्ठावान् नेतृत्व प्रदान गर्न असहज र चुनौतीपूर्ण बन्दै गएको छ। हरेक नेतृत्वमा देखिने आत्मकेन्द्रित भावनाले पनि यसलाई चुनौतीपूर्ण बनाएको हो। त्यसैले बलियो निष्ठा आर्जन गर्न र आफ्नो नैतिक पहिचानलाई उच्च राख्नका लागि नेतृत्वले निष्पक्षता न्याय र अखण्डताका सिद्धान्तहरूलाई परिपालन गर्नुपर्छ। उनीहरूमा रहेको नैतिकतापूर्ण इमानदारिताले नै नैतिक निर्णयहरू लिन मद्दत गर्दछ र उनीहरूलाई चुनौतीपूर्ण परिस्थितिहरूमा पनि आफ्नो मूल्य र नैतिकतामा अडिग रहन प्रोत्साहन दिने गर्दछ। नेताहरूले आफूले गरेका कार्यहरूको नैतिक प्रभावहरूको मूल्याङ्कन गर्नका लागि पनि नैतिक आत्मनिरीक्षणको अभ्यास गर्नुपर्छ। उनीहरूले नैतिक प्रतिबिम्बन र तर्कपूर्ण व्यवहारका आधारमा निर्णय लिन सकेमा निष्ठामा आधारित नेतृत्व प्रदान गर्न सकिन्छ।

नैतिकताको बीजारोपण हुने ठाउँ परिवार हो। कुनै बाबुआमा भ्रष्टाचार, ठगी, झुट वा अन्यायपूर्ण काममा संलग्न भएको कुरा छोराछोरीले थाहा पाएमा वा देखेका खण्डमा छोराछोरीले पनि बाबुआमाले गरेका काम ठीक छन् भनेर सिक्न थाल्छन् किनभने बाआमा र घरका ठूलाबडाले गरेका काममा छिट्टै विश्वास गरिहाल्ने उनीहरूको स्वभाव हुन्छ। त्यसैले कमै उमेरका बालबालिकामा यस किसिमका कुकर्म र दुष्टताले जरा गाड्न पुग्दछ। परिवारमा बाबुआमाले गरेका यस्ता बदमासी र बाबुआमाले गरेको काम ठीक हो भनी देखासिकीमा छोराछोरीले गरेका कामलाई पनि सामान्यरूपमा लिएर व्यवहार गरिन्छ भने यो झनै घातक र खराब कुरा हो। यद्यपि परिवारपछि नैतिकता सिक्ने ठाउँहरूमा विद्यालय, छरछिमेक, समाजका धार्मिक र सांस्कृतिक मान्यताहरू पनि पर्छन्। नैतिकताको अभ्यास हुने यी प्रारम्भिक प्रभावहरूले बालबालिकालाई यो कुरा सही र यो कुरा गलत हो भनी बुझ्न आधारशीला निर्माण गर्छन्। यही आधारशीलाको निर्माणबाट नै उनीहरूले क्रमशः न्यायपूर्ण व्यवहार देखाउन थाल्छन्। त्यसपछि जब उनीहरू अझ परिपक्व हुँदै जान्छन् र जीवनमा धेरैभन्दा धेरै अनुभव बटुल्छन् त्यति उनीहरूको आलोचनात्मक चेत र नैतिक स्तरमा परिवर्तन आउन थाल्छ। साथै उनीहरूमा नयाँ नयाँ दृष्टिकोणको पनि विकास हुन थाल्दछ। त्यस्तै व्यक्तिगतरूपमा हुने वृद्धि र विकास, शिक्षा, विविध संस्कृति र विचारधाराहरूको माध्यमबाट पनि व्यक्तिको नैतिक विश्वासलाई परिष्कृत बनाउँछ। यी कुराहरू बाहेक नैतिक तर्कलाई गहन बनाउने काममा संज्ञानात्मक विकासले पनि संगठन महत्वपूर्ण  भूमिका निर्वाह गरेको हुन्छ।

नैतिक मापदण्डहरू कुनै देशका नियम, कानुन वा अधिकारले नियमन गर्ने कुराहरू होइनन्, यी त तर्क, विवेक र आचरणमा आधारित सिद्धान्तहरू हुन्। नैतिक मापदण्ड निष्पक्ष निर्णयहरूमा आधारित हुन्छन् र आत्मनम्रताभन्दा बाहिरका कुराहरूलाई प्राथमिकता दिने प्रकृतिका हुन्छन्। समाजमा जब कोही व्यक्तिबाट यी मापदण्डहरूको उल्लङ्घन गर्ने वा यस्ता विषयलाई सामान्यरूपमा लिने व्यक्तिहरू कोही अन्तस्करणबाटै मौन रहन्छन् भने कसैले तुष्टिकरणका विभिन्न क्रियाको सहायता लिन पुग्दछन्। उनीहरूले आफ्ना अनैतिक कार्यहरूलाई नैतिक र उचित बनाउन पूजापाठ वा दीनदुःखीलाई दान दक्षिणा गर्न खोज्छन् र आफूले अनैतिक किसिमले कमाएको पैसा, मान र सम्मानलाई कायम राखी म निष्ठावान् छु, मभित्र सेवा र सहयोगको भावना छ भन्ने कुरा देखाउन खोजिरहेका हुन्छन्। त्यसैले नैतिक मापदण्डहरूको पालना गर्नु सबैको जिम्मेवारी हो। अझ त्यसमा पनि समाज र देश हाँक्ने अभियानमा लागेका नेतृत्व वर्गका लागि यो झनै बढी जिम्मेवारीको कुरा हो। यस्तै जिम्मेवार नेताहरूबाट नै समाजमा नैतिक वातावरण सिर्जना गर्न सम्भव छ र न्यायपूर्ण समाज निर्माण गर्न सकिन्छ। नेताहरू समाजका दिशा निर्देशक कम्पास जस्तै हुन्। उनीहरूका व्यवहार र निर्णयहरूले नै व्यक्तिगत प्राथमिकता र परिस्थितिजन्य अनैतिक तत्त्वहरूलाई पन्छाएर समाजलाई स्वस्थ र स्वच्छ राख्न सकिन्छ। सकारात्मक परिवर्तनका माध्यमबाट समाज र राष्ट्रलाई गतिशील र उन्नत बनाउन सकिन्छ।

 

  • यस लेखमा समावेश गरिएका विचार लेखका निजी धारणा हुन् । यसले यस मिडियाको धारणाको प्रतिनिधित्व गर्दैन । -सम्पादक 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार