27.1 C
Kathmandu

ढिलै भएपनि जनताले ठगहरूको अनुहार चिने

सरकारले, अटो व्यवसायीले जे माग गरे त्यही पूरा गरिदियो । सेयर र घरजग्गाको हकमा पनि त्यही भयो । गाडीको मूल्याङ्कनको आधारमा बैंक तथा वित्तिय संस्थाले पहिले ५० प्रतिशत कर्जा दिन्थ्यो, सरकारले बढाएर ८० प्रतिशत दिने निर्णय गरिदिएको छ । सेयरमा लगाएको १२ करोडको सीमा पनि सरकारले हटाइदियो । जग्गाको वर्गीकरण रोकिदियो, कित्ताकाट खोलिदियो । खेतीयोग्य जमिनमा पनि प्लानिङ गर्न दिने निर्णय सरकारले गर्यो । व्यवसायीले जे-जे माग गर्छन् सरकारले धमाधम पूरा गरिदिन्छ । पछिल्लो उदाहरण अध्यादेशमार्फत संशोधन गरिएको नौ वटा लगानीसम्बन्धी ऐन पनि हो । व्यवसायीकै मागअनुरूप सो ऐनमा संशोधन गरिएको हो । प्रथम कुरा के भने सरकारले व्यापार गर्ने होइन, व्यवसाय गर्न सहज वातावरण बनाउनका निम्ति ऐनकानुन निर्माण गर्नेसम्म मात्रै सरकारको हातमा रहन्छ । व्यवसायीले भनेअनुसार गर्दा पनि कारोबार बढेन भने त्यसमा सरकारको के गल्ती रु घरजग्गा कारोबारीहरूको मागबमोजिम कित्ताकाट खोलियो । तर, कारोबार अहिले पनि ठप्प छ । कुरा के हो भने सर्वसाधारणले किनिदिएनन्, उनीहरु ‘मुर्गा’ बन्न चाहेनन् । किन्नेरनकिन्ने त सर्वसाधारणको मर्जीको कुरा हो । अब यसमा सरकारलाई दोष लगाएर हुन्छ रु

बैंकले सेयर एक सय रुपैयाँमा निकासा गर्छन् । बिचौलियाले के गरे, एक सयको सेयरको मूल्य चार हजार पुऱ्याएर सोझासाधालाई बेचे । जग्गा त उब्जनीको स्रोत हो । जग्गामा बिचौलिया गर्नेले अन्न फल्ने जमिनमा डोजर लगाएर, प्लानिङ/प्लटिङ गरेर आनाकै ६०–६५ लाखमा बेचे । छिमेकी मुलुकमा दुई/चार लाखमा पाइने सवारीसाधन यहाँ ३५/४० लाखमा बेचियो । बिचौलियाले कसरी फाइदा उठाइरहेको छन् भन्ने सर्वसाधारणलाई थाहा भएन । उनीहरूले सर्वसाधारणदेखि सञ्चारकर्मीसम्मकै आँखामा धुलो छरेर लुटिरहेका थिए । अहिले बजारमा सेयर, घरजग्गा, गाडी किन्ने कोही छैनन् । किनकि सर्वसाधारणको पनि अब आँखा खुल्यो । उनीहरु सचेत भए, बिचौलियाको ठग्ने दिन अन्त्य भयो । सरकारले सेयर, गाडी र घरजग्गा नकिन्नु भनेर जनतालाई भनेको छैन, तैपनि जनताले किन्दैनन्, किन त रु जनताले हामी कसरी ठगिइरहेका थियौं भन्ने थाहा पाए । दलालले कसरी लुटिरहेका थिए भन्ने छर्लङ्ग देखे । अनि उनीहरूले यी क्षेत्रमा लगानी गरेनन् । आफूहरूले ठग्न नपाएपछि बिचौलियाहरू अहिले ‘गोहीको आँशु’ झारिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा कर्जा लिने सामसुम छ । जति प्रतिशत ब्याज दिन्छु भनेपनि बैंक, सहकारी, लघुवित्त र फाइनान्समा बचत गर्ने खासै छैनन् ।

यता, सस्तोमै कर्जा दिएपनि लिने कोही छैनन् । जनता सचेत भएको अर्को उदाहरण यो पनि हो । बैंक तथा वित्तिय संस्थाको सोझासाझा ठग्ने र उठीबास लगाउने कार्य अब बन्द हुन्छ । अहिले बैंक र फाइनान्स घाटामा गइरहेका छन् । निजी बैंकहरूमा पैसा राख्नेभन्दा निकाल्ने धेरै छन् । लघुवित्त र सहकारीहरू त धेरै नै बन्द भइसके । सर्वसाधारणले बैंक तथा वित्तिय संस्थाको ‘मुखौटा’ भित्रको अनुहार छर्लङ्ग देखिसकेका छन् । ‘मुखौटा’ लगाएर ठग्दै आएकाहरु प्रतिको जनविश्वास उठिसकेको छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन नहुने तथा सेयर, गाडी र घरजग्गामा जथाभावी लगानी गर्न हुँदैन भन्ने कुरा सर्वसाधारणले बुझिसकेका छन् । त्यसैले अहिले बिचौलियाहरू पानीबिनाका माछा जस्तै भएका छन् । व्यवसायीको बर्को ओढेर सर्वसाधारण लुट्दै आएकाहरु लाई लुट्न नपाएपछि तनाव भएको छ । केही दिनअघि सेयर लगानीकर्ताहरू माइतीघरमा आन्दोलनमा उत्रिए । पहिलो कुरा त यिनीहरूले के बुझ्नुपर्ने थियो कि सरकारले सेयर किन्ने होइन । सरकारले आफ्नो तर्फबाट हुने प्रयास गरिदिएकै हो । अनि सरकारविरुद्ध सडकमा आएर सेयरको मूल्य बढ्छ रु कस्तो सोचाइ हो यो । बजार चलाउने सरकार होइन, सर्वसाधारण हुन् । सर्वसाधारणमा त्यति शक्ति छ, चाहे भने बजार उकास्न पनि सक्छन् र खसाल्न पनि सक्छन् ।

हिजो सर्वसाधारणले किनेका थिए र पो बजारभाउ अकासिएको थियो । एक लाख नपर्ने जग्गालाई करोडमा बेचिएको थियो । अब ती दिन गए । पर्दाभित्र बसेर बिचौलियाहरूले आफूहरूलाई लुटेको सर्वसाधारणले राम्ररी बुझिसकेका छन् । त्यसैले अब जति रोए पनि, कराए पनि यी तीनवटा क्षेत्र उँभो लाग्ने छैनन् भन्ने सङ्केत मिल्दैछ । बढी ब्याजको लोभमा पर्दा सर्वसाधारणको साँवा नै डुबेको अवस्था छ । सहकारी र लघुवित्त त लगभग सकी नै हाले, अब सहकारी र लघुवित्त उकासिने कुनै आधार नै देखिन्न । बैंक र फाइनान्समा पनि समस्या देखिँदैछ । राज्यले हिजो पनि सेयर, घरजग्गा र गाडीमा लगानी गर भनेको थिएन, आज पनि ती क्षेत्रमा लगानी नगर भनेको छैन । राज्य हिजो पनि मौन थियो, आज पनि मौन छ । सबैले गरेको त आफ्नै मर्जीले हो । आज नाफा भइरहेको भए, कसैले राज्यलाई सायदै सम्झिन्थे ! नाफा हुन्जेल आफ्नो अनि डुबेपछि सरकारको भन्न त नैतिकताले दिँदैन होला १ त्यसैले आन्दोलन गरेर सेयर, घरजग्गा, सेयरको मूल्य बढ्छ, खाली भएका सटर भरिन्छ भन्नु भ्रम हो । बजार जहिल्यै माथि गइरहन्छ भन्ने छैन । बिचौलियाहरूले हामी सँधै यसरी नै ठगिइरहन्छौं भन्ने सोचेका थिए, तर त्यो पूरा हुन पाएन । बीचमा बसेर खान पल्केकाहरूकै सत्यता बाहिर आउनु नै थियो, आयो ।

थोरै ब्याज आएपनि सरकारी बैंकमा पैसा राखेकोमा सर्वसाधारण खुसी छन् । किनकि उनीहरूले बैंक तथा वित्तिय संस्थाबाट पीडित भएकाहरूको हालत देखिरहेका छन् । बुढापाकाले भन्छन्, ‘सत्य कहिले डग्दैन झुट धेरै बेर टिक्दैन ।’ बिचौलियाहरूले झूटको खेती गरेर ठगेका थिए, जो कुनै दिन बाहिर आउनु नै थियो । आएसँगै तिनको झूटको व्यापार डामाडोल भयो । बिचौलियाहरूले सरकारलाई गलाउँछौँ र हामी ठग्छौँ भन्ने सोचेका छन् भने यो अब सोचमै सीमित हुन्छ । किनकि, जनता बाठो भइसके । सरकार व्यवसायीको मात्रै होइन समस्त जनताको हो । तीन करोड नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ । त्यसैले ‘व्यवसायी आवरण’ मा ठगी गर्नेहरूको होइन अब जनताको कुरा सुन्नुपर्छ । यतिबेला कतिपय ठगहरू देश छोडेर भागिसकेका छन्, बाँकी भएका पनि सायद भाग्नेछन् । देशको राजनीति परिवर्तन गर्ने आमजनता हुन् । यहाँ जनताले चाहे भने क्षणिक समयमै उथलपुथल हुन्छ । ढिलै भएपनि जनताले ठगहरूको अनुहार चिने । यो खुशीको सन्दर्भ हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार