23.1 C
Kathmandu

भाष्य निर्माण आफैमा महत्वपूर्ण

भाष्य निर्माणको नकारात्मक पाटोबाट आफ्नो मतलाई सुरुवात गरौँ। शहरिया इलिट तथा मध्यम वर्गको जीवनशैली, सोचाइ र उपभोगको अवस्था स्वाभाविक हिसाबले ग्रामीण क्षेत्रको भन्दा पृथक् हुन्छ। यातायात, विद्युत्, इन्टरनेट, खानेपानी लगायत सुविधासँग जोडिएपछि ग्रामीण क्षेत्रले सुगमताको लामो सास फेर्छ। तर त्यसको अलावा शहरले सुशासन खोजिरहेको हुन्छ। सडकमा ट्राफिक जाम नहोस्, प्रशासनमा काम फटाफट होस्। धुवाँधुलो र होहल्ला जीवनलाई प्रभावित नपारोस्। शिक्षा र स्वास्थ्य गुणस्तरीय र भरपर्दो होस्। महङ्गीले चुलोमा निरन्तर आक्रमण नगरोस्। रोजगारीका पर्याप्त अवसरहरू सृजना होऊन् र सरकारले बारम्बार नीतिगत फेरबदल गरेर व्यापार व्यवसायमा प्रहार गर्ने काम नगरोस्। हेर्दा, सुन्दा बहुतै सरल लागे पनि माथिका शर्तहरू देश विकासको मूल खम्बा हुन्। तर, पुराना राजनीतिक दल र नेताहरूको धोकाधडी र गलफती, प्रदेश सरकारको ६/६ महिनामा भइरहेको फेरबदल, राजनैतिक नियुक्ति पाएका व्यक्तिहरूको विगत, नेता र तिनका आफन्त र नातागोताहरूको भ्रष्टाचार, तस्करी र कमिसनमा संलग्नताले शहरिया वर्ग सहित आम सर्वसाधारण आक्रान्त बनेका छन्। यो पृष्ठभूमिमा देशले धेरथोर विकासको लय समात्दा पनि सकारात्मक भाष्यको निर्माण हुनसक्दैन।

नेपालको शहरिया वर्ग यिनै मुद्दाहरूबाट आफू आक्रान्त बनेको र निस्सासिएको महसुस गरिरहेको छ। सञ्चारमाध्यम, गोष्ठी, कार्यशाला वा कफी शपहरूका बहस वा गफ यिनैका दुष्परिणामहरू हुन्। अब भाष्य निर्माणको अर्को पाटो हेरौं। नयाँ वर्षको सुरुवातीसँगै गत वैशाख ३ गते नागढुङ्गादेखि सिस्ने खोलासम्मको २ हजार ६६७ मिटर लामो सुरुङ मार्गको ब्रेक–थ्रु भयो। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको टनेल खन्ने काम पनि वैशाख महिनाभित्रै सम्पन्न हुने सम्बन्धित स्रोतको दाबी छ। चिनियाँ राजदूत छन सोङका अनुसार यस आयोजनामा अत्याधुनिक मेसिनको सहायताले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेर विश्व कीर्तिमान कायम गरेको छ। यसअघि यस्तो कीर्तिमान १ हजार २२४.१३ मिटर रहेको समेत उनको दाबी थियो। त्यसैगरी विद्युत् उत्पादन र विद्युतीकरणको पछिल्लो रफ्तार स्मरणयोग्य नै छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’का अनुसार २०८० मा मात्रै ५५१ मेगावाट जडित क्षमताको ऊर्जा परियोजना सञ्चालनमा आएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८० मा थपिएको समेत गरी नेपालको कुल जलविद्युत् जडान क्षमता ३ हजार १४५ मेगावाट पुगेको छ।

यसअघि २०८० साउनमा पत्रकार सम्मेलन मार्फत नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ९५ प्रतिशत जनसंख्या विद्युत्को पहुँचमा पुगेको जानकारी दिएका थिए। केही वर्ष अगाडि दैनिक १६ घण्टासम्म लोडसेडिङको मार खेपेको नेपाली समाज अहिले विद्युत् बिक्रीबाट अर्बौँको आम्दानीको खबर सुनिइरहेको छ। त्यसैगरी नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई र मधेश द्रुतमार्गको सुरुङ, पुल र सडक निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ। पर्यटकको आगमन पनि सन्तोषजनक रहेको तथ्याङ्कहरूले देखाइरहेको छ। सन् २०१९ मा ११ लाख ९० हजार पर्यटक आएकोमा २०२३ मा यो संख्या १० लाख १४ हजार ८७६ मा पुगेको छ। कोभिड महामारीले अलगथलग पारेको पर्यटन व्यवसाय लगभग कोभिड पूर्वको अवस्थामा फर्किएको छ। त्यस्तै सूचनाप्रविधिको क्षेत्रले गुणात्मक फड्को मारेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन व्यवसायलाई पछ्याइरहेको काठमाडौँस्थित अनुसन्धानमूलक संस्था आईआईडीएसको पछिल्लो अध्ययनले देखाएको छ। संस्थाका अनुसार सन् २०२२ मा आईटी सेक्टरले ५१५ मिलियन अमेरिकी डलर बराबरको सेवा आपूर्ति गरेको थियो जुन कुल जीडीपीको १.४ प्रतिशत हो।

नेपाल श्रीलङ्का बन्दैछ भनेर सडकदेखि संसद्सम्म चर्को बहस पैरवी भएको दुई वर्ष वरिपरि हुनथालेको छ। वैदेशिक मुद्रा सञ्चितको मात्र वस्तु तथा सेवा आयातको लागि झण्डै साढे ६ महिनाका लागि पर्याप्त रहेको तथ्याङ्कले देखाएको थियो। तर नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको देखाएको छ। देश पहिलेभन्दा झन् बिग्रियो, भत्कियो, हरेक नकारात्मकताले सिमाना नाघिसक्यो भनेर अहिले होहल्ला भइरहेको छ। के पहिलेका शासकहरूले देशलाई स्वर्ग बनाएका थिए रु हामी पहिले सुशासन र अमनचयनले व्यवस्थित भएका थियौं र अहिले त्यो भत्कियो रु बिल्कुल होइन। समाज र चेतना जहिले विज्ञान र प्रविधिको विस्तारसँगै विस्तार र समृद्ध हुँदै जान्छ। नेपाली समाज पनि त्यसबाट अछुतो छैन। चेतनाको स्तर अभूतपूर्व विकास भएको छ। रोजगारीको लागि देशको सीमा नाघेर संसारको कुनाकुनामा पुगेको छ। हुनत विदेशी गन्तव्यलाई असाध्यै नकारात्मक कोणले हेर्ने बानी नेपालीको छ। तर आर्थिक विकास र भूमण्डलीकरणको लेन्सले हेर्दा आजको युगमा यो अपरिहार्य बनेको छ।

गाउँगाउँमा मोटरबाटो पुगेको छ। बिजुली तथा सञ्चारले गाउँलाई देश विदेशसँग जोडेको छ। पहाडमा घण्टौँ लागेर खानेपानी बोक्ने समस्या हटेको छ। दाउरालाई ग्याँस चुलेले विस्थापित गरेको छ। ह्वाइट हाउसमा जो वाइडेन र दूरदराजमा बस्ने हाम्रा आमा बाहरूले टेलिभिजनमा देख्ने, हेर्ने घटना, सिनेमा, समाचार एउटै हुन्। गाउँले जनसमुदायलाई विकास भएको छ कि छैन भनेर सोध्ने हो भने विरलैले भन्लान् कि भएको छैन भनेर। छोटो समयमै नेपाली ग्रामीण समाज नयाँ स्थानमा उभिएको छ। त्यसैगरी नेपाली समाज आर्थिक सामाजिक सांस्कृतिक कोणबाट तीव्र सङ्क्रमणको अवस्थामा छ। माओवादी युद्ध, २०६२/६३ को जन आन्दोलन र अन्य स-साना आन्दोलनहरूले स्थापित गरेका मुद्दाहरू संस्थागत भए पनि अपेक्षित जनआकांक्षा पूरा गर्न नसक्दा सङ्कटमा परेका छन्। र, त्यसको संशोधन वा विघटनका मागहरूले सडक तात्न थालेको छ। वैदेशिक रोजगारी र अध्ययन नयाँ फेसनको रूपमा उदाएको छ। गणना गर्दा एउटा सानो गाउँमा करोडपतिको संख्या १०० भन्दा माथि पुग्न गाह्रो छैन। अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिणकोरिया, जापान, इजरायल अहिले नेपालीको लागि पानीपँधेरो जस्तो बन्न थालेको छ। त्रिभुवन विमानस्थलमा देखिने दैनिक हजारौं युवाको लस्करले यसलाई पुष्टि गरिरहेको छ। जनसङ्ख्या वृद्धिदर ह्वात्तै घटेको छ। केही दशक अगाडिसम्म आधा दर्जन बढी सन्तानको जन्म सामान्य जस्तै थियो। अहिलेको युवापुस्ता ३५ वर्ष पुग्दासम्म बिहेवारीको लागि हतार गर्दैन। जन्मदर १ प्रतिशत तल झरिसकेको छ। बन्द समाज भूमण्डलीकरणसँग एकाकार भएको छ। अंग्रेजी नयाँ वर्षदेखि जन्मदिन मनाउने विदेशी शैली यतिखेर आम संस्कृतिको रूपमा विकास भएको छ। गहिरोसँग नियालेर हेर्दा नेपाली अर्थ-सामाजिक संरचनामा कायापलट भएको देखिन्छ। यहाँनेर प्रश्न उठ्छ कि नेपाली समाज किन यतिविघ्न कृतघ्न छ। प्रगति, विकास र सकारात्मक रूपान्तरणलाई किन नजरअन्दाज गरिरहेको छ रु भू-राजनीतिमा शक्तिहरूको निर्माण र विनिर्माणले भाष्यको निर्माण कसरी हुन्छ भन्नेबारे पछिल्ला केही अन्तर्राष्ट्रिय घटनाहरूको समीक्षा गरौँ।

अमेरिका लगायत अन्य युरोपियन बुद्धिजीवी, विद्वत् समुदाय, अनुसन्धानमूलक संघ-संस्थाहरू, सञ्चारमाध्यम लगायतले सन् १९८० यता चीनले तीव्र गतिमा आर्थिक विकास गर्यो र ८०० लाख मानिसलाई गरिबीको रेखाबाट माथि उठायो। तर चीन सन् २०१२ मा सी जिनपिङको सत्ता आरोहणसँगै तीव्र गतिमा निरंकुश र अधिनायकवादको दिशामा अगाडि बढिरहेको छ। यसले उदार र खुला बजारमा आधारित विश्व व्यवस्था (रुल्स बेस्ड इन्टरनेशल अर्डर) लाई उल्टाउँदैछ।

जारी रूस-युक्रेन, इरान-इजरायलइजरायल-प्यालेस्टाइन युद्धले अमेरिकाको वैश्विक श्रेष्ठता अन्त्य गरिदिएको छ र विश्व दोस्रो शीतयुद्धमा प्रवेश गरेको छ।

चिनियाँ अर्थतन्त्रमा चुचुरो (पिक) मा पुगेको छ। अब चीनले अमेरिकालाई उछिनेर विश्वको पहिलो अर्थतन्त्र बन्न सक्दैन।

भारतीय अर्थतन्त्रको विस्तार लोभलाग्दो छ। यसले चिनियाँ अर्थतन्त्रलाई समेत उछिन्ने सामर्थ्य राख्छ। सन् २०३० भित्र नै ७ ट्रिलियन जीडीपीको रूपमा विश्वको तेस्रो अर्थतन्त्रमा दरिनेछ।

अन्तर्राष्ट्रिय भूराजनीतिक प्रतिस्पर्धाले भाष्यको निर्माण कसरी गर्दछ भन्ने यी केही उदाहरणहरू हुन्। यो भाष्य निर्माणमा मुख्यतः पश्चिमा सञ्चारमाध्यम, बुद्धिजीवी र संघ–संस्थाहरू रहेका छन्। सन् १९९० पछिको अमेरिकी नेतृत्वको एक ध्रुवीय विश्व व्यवस्थामा चीन, रूस, इरान, उत्तरकोरिया, भेनेजुएला जस्ता देशहरूले चुनौती खडा गरेपछि क्रमिक रूपमा यस्ता भाष्यहरूले विश्वस्तरीय रूप ग्रहण गर्दै गइरहेका छन्। अर्थशास्त्री स्टेफेन रोचले आफ्नो पुस्तक ‘एक्सिडेन्टल कन्फ्लिक्टः अमेरिका, चाइना एण्ड द फल्स न्यारेटिभ’मा अमेरिका र चीनबीच जारी संघर्षले निर्माण गरेको कथा र त्यसले निर्माण गरेको ‘झुटा भाष्य’ (फल्स न्यारेटिभ) ले दुई देशलाई कसरी विनाशकारी युद्धतर्फ डोहोर्याइरहेको छ भन्ने स्पष्ट पार्दै भनेका छन्, ‘झूटको दोहोर्याइले प्रायः विश्वास पैदा गर्छ।’ एक शताब्दी अगाडि नै शोभियतकालीन मार्क्सवादी दार्शनिक लेनिनले भनेका छन्, ‘एउटा झुट बारम्बार बोलियो भने त्यो सत्य बन्छ।’ भाष्य एकैपटक वा एकै दिनमा स्थापित हुँदैन। यसको लागि अथक र निरन्तरको प्रयत्न चाहिन्छ। सन् २०१३ को नोबेल पुरस्कार विजेता अर्थशास्त्री रोबर्ट जे। शिलरले, भाष्य निर्माणबारे आफ्नो पुस्तक ‘न्यारेटिभ इकोनोमिक्स’ मा भनेका छन् उदाहरणका लागि, बीसौं शताब्दीको दोस्रो आधाका कथाहरूले स्वतन्त्र बजारहरूलाई ‘कुशल’ बजारको रूपमा व्याख्या गर्दछ, त्यसैले सुधारका लागि चालिने सरकारी कदमहरू पनि अप्रभावी हुन्छन्। तर समयक्रमले यसलाई पुष्टि गर्न सकेन। २००८ को वित्तीय संकट, २०१९ को अन्त्यतिर सुरु भएको कोभिड-१९ महामारी र वातावरणीय परिवर्तनले निरन्तर सरकारी हस्तक्षेपको माग गरिरहेको हुन्छ। विमजी, कमका अनुसार ‘भाष्य भनेको कुन घटनासँग सम्बन्धित र कुन क्रममा सम्बन्धित हुने भन्ने छनोट हो( त्यसैले यो कथा आफैं भन्दा पनि कथाको प्रतिनिधित्व वा विशिष्ट अभिव्यक्ति हो।’

प्राध्यापकद्वय आन्द्रेयस एन्टोनियाडस र वेन ओ’लफलिनले भाष्यबारे आफ्नो मत राख्दै भनेका छन् ‘भाष्यले आफूलाई सामान्यतः मानव कार्यसँग जोडिएका अनुक्रमहरूको बारेमा कथाहरू सुनाउने अभ्यासको रूपमा वर्णन गर्दछ।’ नयाँ बन्ने र पुरानो भत्किने प्रक्रियामा भाष्यको निर्माण तेज गतिमा निर्माण र विस्तार हुनेगर्दछ। भाष्य निर्माणलाई विकास वा विघटनको साधनका रूपमा पनि परिभाषित गर्न सकिन्छ। भाष्य निर्माणको लागि लामो अनुभव, बारम्बार युद्धमा संलग्न, दुस्मनको शक्ति, रणनीति र योजनालाई स्पष्टसँग बुझेको र त्यसले आफूलाई पार्न सक्ने प्रभाव र खतराबारे सूक्ष्म ज्ञान भएको हुनुपर्छ। भाष्य निर्माणका लागि अमेरिकी र युरोपियनहरू अब्बल मानिन्छन्। पर्याप्त आर्थिक स्रोतसाधन र स्थापित सञ्चारमाध्यम तथा भाषाको कारण उनीहरूको भाष्य छिटो बिक्ने र विश्वभरि प्रवाह हुने गर्दछ। तर अन्य उदाउँदा शक्ति राष्ट्रहरू यसमा कमजोर देखिन्छन् वा पश्चिमाहरूले नै त्यस्तो भाष्यको निर्माण गर्ने गर्दछन्। भाष्यलाई भाइरल बनाउने काम स्थापित व्यक्तित्वहरूको हो। सामाजिक सञ्जाल, पत्रिका तथा टेलिभिजन वा सूचना वा सञ्चारका माध्यमहरू, कलाकार, बुद्धिजीवी, खेलाडी, लेखक वा अन्य कुनै स्थापित संघ–संस्थाले हो। नेपालमा यस्ता स्थापित व्यक्ति तथा संस्थाहरूले सकारात्मक भाष्य भन्दा नकारात्मक भाष्यको निर्माणमा बढी जोड दिइरहेका छन्।

भाष्यले कथालाई जानकारीमा वा अझ भन्नुपर्दा, प्राप्तकर्ता (अडियन्स) को लागि ज्ञानमा परिणत गर्दछ। प्रत्येक ‘कथाको घटना’ ज्ञानको एक एकाइ हो जुन दर्शकहरूलाई चाहिन्छ। मूलतः भाष्यको निर्माण शक्तिशालीहरूले गर्ने गर्दछन्। आर्थिक स्रोतसाधनको प्रयोग गरी सञ्चारमाध्यमहरूको सुव्यवस्थित परिचालनबाट भाष्यको निर्माण गरेको देखिन्छ। भाष्यको निर्माण आफ्ना रणनीतिक अभीष्टहरू परिपूर्तिका लागि गरिन्छ। मुख्यतः आफ्ना विरोधीहरूले प्राप्त गरेको ख्यातिलाई निस्तेज गर्न भाष्यको सिर्जना र स्थापित गरिन्छ। भाष्य निर्माणको ज्ञान र अनुभवमा नेपालीहरू विश्वमै सबैभन्दा कमजोर छन् वा भाष्य कसरी निर्माण गर्ने र स्थापित गर्ने भन्नेबारे सामान्य जानकारी समेत छैन। केही स्थापित बनेका भाष्यहरू नियोजित, योजना र रणनीतिमा होइनन्, बहकाउमा स्थापित बनेका हुन्। अन्त्यमा चर्चित अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले आफ्नो चर्चित पुस्तक ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’मा ‘राष्ट्रिय भाष्य’बारे विशद व्याख्या गर्दै भनेका छन्, ‘भाष्य नागरिकहरूको लागि आफ्नो इतिहासको साझा बुझाइको लागि एक राजनीतिक साधन हो। जसले त्यसपछि यसको भविष्यको साझा बुझाइमा डोर्याउँछ। यो साझा समझको साथ, जनता थप एकताबद्ध हुन्छन्, जसले राष्ट्रलाई धेरै ठूला कामहरू सम्पन्न गर्न सक्षम बनाउँछ।’ यसर्थ सकार वा नकारको प्रचार र प्रवाहको लागि भाष्य निर्माण आफैँमा सबैभन्दा महत्वपूर्ण कुरा हो। तर यसलाई सकारात्मक कथा बुनेर देश आर्थिक विकास र रूपान्तरणको दिशामा छ भनेर आशा छर्ने बुद्धिजीवी, नेता, संघ-संस्था र कलाकर्मीको चर्को अभाव नेपाली समाजले कुरिरहेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार