महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
यस पर्वका दिन उपवास गरी ॐ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रौद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंग दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिन्छ। शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा ईशान मूर्तिलाई दूधले स्नान गराइन्छ। फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाइन्छ। सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्।
तीन सय वर्ष अघि माघ कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रूपमा मनाइएको बताइए पनि यकिनका साथ बताउन सकिन्न । यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिव लिङ्गमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ। यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो। यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ। परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सबेरै स्नानादिबाट शुद्ध भएर उपवास गर्ने गरिन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसः
अन्तर्राष्ट्रिय नारी दिवस (International women’s day) अथवा नारी दिवस महिला जागरुकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरि मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०द्दद्ध मा आइपुग्दा विश्वभर ज्ञज्ञद्ध औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइनेछ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोसलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरी को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपनहेगनका सम्मेलनमा यसलाई अन्तराष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन । १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केही फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन क्यालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।
हालका दिनहरूमा संसार भरका विभिन्न महिला समूहद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् । सन् २००१ मा internationalwomensday.com नामक डिजिटल हबको सुरुवात भयो । यसमा सित्तैमा आफ्नो गाउँ समाजमा हुन लागेका कार्यक्रमहरूको रजिस्टर गर्न सकिन्छ । सन् २०१३ मा यस वेबसाइटलाई बेलायतमा रहेको एक कम्पनीले चलाएका थिए । सन् २०१६, मा यसलाई इयुद्वारा स्पोन्सर गरियो र थप ७ वटा महिला सङ्घहरू यसमा आबद्ध भए । वेबसाइटले वार्षिक विषय राख्ने गरेको छ जुन संसार भरलाई सुहाउँदो होस् । थुप्रै संङ्घ संस्थाहरूले यसलाई साथ दिएका छन् । ताइवान मा भने नारी दिवस महिलाको कम्मरको आकारको सर्वेक्षणको नतिजासँगै सुरु हुन्छ, जसमा मोटोपनाको विरुद्ध चेतावनी दिइने गरिन्छ ।