काठमाडौँ । टोखा क्षेत्रबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ।
मुद्दाका मुख्य अभियुक्तका रूपमा ट्रक चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ निवासी कुसाङ लामा (फुच्चे) र नारायण पौडेललाई विभागले आरोपित गरेको हो।
मंगलबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए। विभागले उनीहरूमाथि २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।
विदेशी मुद्रा बरामद भएपछि नारायण पौडेल फरार छन्। उनलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ।
चैत ४ गते टोखा क्षेत्रबाट ना ७ ख १६५२ नम्बरको ट्रकको ‘फल्स बटम’ (कृत्रिम भित्तो) मा लुकाएर चीनको केरुङ तर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित कुसाङ लामा पक्राउ परेका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
हाल बरामद विदेशी मुद्रा र ट्रक विभागको नियन्त्रणमा छन् भने पौडेलको खोजी जारी छ।