काठमाडौँ । काठमाडौँको टोखामा रहेको एसिया प्यासिफिक स्कुलले तेस्रो अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसका अवसरमा बोल्दै साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी डा. नवराज लम्सालले बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि विद्यालयसँगै अभिभावकहरूको पनि महत्त्वपूर्ण भूमिका हुने बताए ।
उनले भने, असल छोराछोरी बनाउन बाबु आमाले त्याग गर्नु जरुरी छ । स्कुल मेसिन होइन । बालबालिकालाई हालिदियो अनि असल र राम्रो बनेर निस्कने, त्यसैले असल विद्यार्थी बनाउन बाबु आमाले पनि ध्यान दिनुपर्छ ।
४ वर्ष अगाडी स्थापना भएको एसिया प्यासिफिक स्कुल टोखा नगरपालिका भित्रको उत्कृष्ट शैक्षिक संस्था मध्येमा पर्छ । अभिभावक दिवसको अवसरमा बोल्दै विद्यालयका प्राचार्य रमेश घिमिरेले विद्यालय यो अवस्थासम्म आई पुग्नमा विद्यालयका शिक्षक कर्मचारीसँगै अभिभावकहरूको पनि महत्त्वपूर्ण योगदान रहेको बताए । उनले भने, हामी गुणस्तरीय शिक्षाका लागि कटिबद्ध छौ । तर सबै विद्यार्थी पढाइमा अब्बल नहुन सक्छन् । उनीहरूको क्षमता हेरेर त्यसमा उनीहरूलाई प्रोत्साहन गर्नु पर्छ । जसले उनीहरूलाई भविष्यमा आफ्नै खुट्टामा उभिन सक्षम गर्छ ।
कार्यक्रममा डा.राजु अधिकारीले बालबालिकालाई शिक्षासँगै संस्कारी बनाउनु पर्ने बताए । उनले एसिया प्यासिफिक स्कुलले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिएको भन्दै खुसी व्यक्त गरे ।
विद्यालयका शिक्षा निर्देशक राजन अधिकारीले विद्यालयको शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
स्कुलले आज नर्सरी देखि कक्षा ३ सम्मको अभिभावक दिवस मनाएको थियो भने भोलि शनिवार कक्षा ४ देखि १२ सम्मको अभिभावक दिवस मनाउने जनाएको छ । उक्त अवसरमा बालबालिकाहरूले नाटक, नृत्य तथा विभिन्न गतिविधि प्रस्तुत गरेका थिए । उक्त अवसरमा डा. राजु अधिकारीद्वारा लिखित बनौँ संस्कारी पुस्तकको लोकार्पण समेत गरिएको थियो ।