23.1 C
Kathmandu

वडाअध्यक्ष बिनाको सहमतिले सिसडोलमा लफडा, सडकमै फोहोर र दुर्गन्ध

बञ्चरेडाँडा/सिसडोल । काठमाडौैंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका १५१ वटा ट्रकलाई स्थानीयले बुधवार फोहोर फाल्न दिएनन् ।

सोमवार काठमाडौैं महानगरपालिका, सहरी विकास मन्त्रालय र प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच फोहोर व्यवस्थापनको सहमति त भयो तर, उक्त सहमति गर्दा स्थानीय जनप्रतिनिधि तथा संघर्ष समितिलाई नराखेको भन्दै विरोधमा उत्रिका धादिङ र नुवाकोटका स्थानीयको विरोधपछि बुधवार दिनभर सिसडोल क्षेत्र तनावग्रस्त भयो ।

काठमाडौंबाट गएका अधिकांश ट्रक फोहोरै नफालि फर्किए । तर, स्थानीय र भाडाका ट्रकले भने मंगलवार राती स्थानिय सुतेपछि सडकमै फोहोर फ्याँकेर फर्किए ।

नुवाकोटको ककनी गाउँपालिकाको जाल्पादेवी बालुवा ढुंगा उद्योगदेखि करिब १ किलोमिटरसम्मको सडकमा फ्याकिएको फोहोर, त्यसबाट निस्किएको दुर्गन्ध र हिलो सडकमा बगेको लिच्चडका कारण सडकमा स्थानीय बासिन्दासमेत हिडँडुल गर्न नसक्ने अवस्था सिर्जना भएको छ । सो क्षेत्रका स्थानीय चालकले बाटोमै फोहोर फ्याँकेकका कारण बुधवार विहान दूध ढुवानीदेखि स्थानीयको आवतजावत नै रोकिएको छ ।

फोहोरले बाटो छेकेका कारण बुधवार धुनीबेशीको १ नम्बर अन्तर्गत खाल्डे क्षेत्रको करीब १ हजार लिटर दूध खेर गएको छ । दैनिक १ हजार देखि १५ सय लिटरसम्म सो क्षेत्रबाट उत्पादन हुने दूध बालाजु ल्याउने गरिएको थियो । बुधवार भने बाटो नै अवरुद्ध हुनेगरी फ्याँकिएको फोहोरका कारण एकै दिन १ हजार लिटर दूध खेर गएको खाल्डेका स्थानीय चिरञ्जीवि कार्कीले बताए ।

कार्कीले भने ‘सरकार र महानगरले अहिलेसम्म गरेको सहमति कार्यान्वयन गर्ने, स्थानीयलाई आश्वासन देखाउने तर पुरा गर्नेका काम भने गरेनन् । धादिङको धुनिवेशी र नुवाकोटको ककनीका स्थानीयलाई दिने भनेको रोजारीको प्रतिवद्धता पूरा अहिलेसम्म पूरा भएको छैन् ।’

सडक बनाउनेदेखि प्रभावित क्षेत्रका पीडितले मागेको व्यवहारिक माग पूरा नहुँदा आफूहरू असन्तुष्ट भएर काठमाडौैंको फोहोर रोक्नुपरेको उनले बताए ।

वडाका जनप्रतिनिधिलाई वेवास्था गरेर गरिएको सहमति वास्तविक फोहोरमैला प्रभावित जनताको माग सम्बोधन गर्ने खालको नभएको ककनीका अर्का स्थानीय विष्णु घिमिरेले बताए । उनले आफ्नो ठाँउमा फोहोर फाल्ने सहमति गर्दा सोही क्षेत्रका वडाअध्यक्षलाई बेवास्ता गरिएको विषयप्रति असन्तुष्टि जनाएको बताए ।

घिमिरेले भने ‘महानगरले पछिल्लो पटक सहमति गर्दा पशुन्छी, जनावरमा परेको असरलाई समावेश गरेको छैन भने राज्य पक्षले आफ्ना समस्या हल नगरेका कारण स्थानीय असन्तुष्ट हुन पुगेका हुन ।’

अझै राज्यले वास्तविक प्रभाविक स्थानीय नछुट्याउने र फोहोर व्यवस्थित ढंगले नफाल्ने र स्थानीय वडा प्रतिनिधिलाई समावेश गरेर वास्तविक प्रभावितको समस्या सम्बोधन नभएसम्म फोहोर अवरोध गर्ने काम नरोकिने घिमिरेले बताउँछन् ।

धुनिवेशी १, ३ र ४ का जनप्रतिनिधि र ककनी १ देखि ३ सम्मका जनप्रतिनिधि राखेर अहिले सम्बोधन नभएको माग पूरा नगरेसम्म स्थानीयको आन्दोलन नरोकिने दावी घिमिरेको छ । प्रत्यक्ष प्रभावित क्षेत्र छुट्याएर दिइने सेवा सुविधामा स्पष्ट नपारेसम्म स्थानीयको आवाज कसैले दबाएर दबाउन नसक्ने पनि उनको भनाइ छ ।

नेताहरूले गरेको सहमति स्थानीयले नमान्ने कारण नै प्रभावित क्षेत्रका जनप्रतिधिलाई समावेश नगरी गरिएको एकलौटी निर्णय भएको धुनीवेशी १ का खाल्डेका स्थानीय दिनेश कार्कीले बताए ।

कार्कीले भने ‘स्थानीयलाई पन्छाएर चार डाँडा पारिका मेयरले गरेको सबै सहमतिसँग हाम्रो असहमति हो ।’ अहिले स्थानीयले उठाएको माग सम्बोधन गर्न पहिलो शर्त त व्यवस्थित तरिकाले फोहोर फाल्नुपर्छ भन्ने हो ।

राज्यले दुई वर्षका लागि भनेर फोहोर फाल्न सुरु गरेको सिसडोलमा अव्यवस्थित भएकै कारण १७ वर्ष भइसकेको छ । अब फोहोर फ्याँके गरी तयारी भएको बञ्चरले डाँडाको फेदीको कुँडुलेमा पनि व्यवस्थित ढंगले फ्याक्न नखोजेका कारण विरोध गर्नुपरेको दिनेशले बताए ।

मेयरले ५ वर्ष काम गरिसकेको र यो अवधिमा उनले व्यवस्थित ढंगबाट फोहोर विशर्जन गर्न नलगाएकै कारण आज स्थानीयले अवरोध गर्नुपरेको बताएका छन् । १७ वर्षदेखि फ्याँकिदै आएको फोहोर व्यवस्थित नभएको हुँदा अब पनि त्यहीँ ढंगमा काम नहोस् भनेर स्थानीयले विरोध गर्नुपरेको धुनिवेशी १ का दिनेशले बताए ।

काठमाडौं महानगरले पनि स्थानीय वडा अध्यक्षलाई र अगुवा स्थानीयलाई पनि बेवास्था गरेको हुँदा एउटा एजेण्डा धुनिवेशीको मेयर एक्लैले गरेको सहमतिको विरोध हो भने अर्को एजेण्डा व्यवस्थित रूपमा फोहोर बिसर्जनमा प्रयास नै नगर्नुप्रति भएको धुनिवेशीका स्थानीयको भनाइ छ ।

यहाँ स्थानीयले व्यवस्थित रूपमा फोहोर फ्याक्नुपर्ने, दुर्गन्ध फैलन दिन नहुने, दिउँसोको समयमा फ्याँकिएको फोहोरले स्थानीयलाई असान्त बनाएकोले रातीको समयमा फाल्नुपर्ने स्थानीयको भनाइ छ । फोहोरबाट निस्किएको दूषित पानी बाटोमा चुह्याउँदै लान नहुनेसहितको माग स्थानीयको छ ।

सिसडोलमा काम गर्ने कर्मचारी खटाउने र तलव दिएर काम लगाउने काम सम्बन्धित क्षेत्रका स्थानीय तहबाटै गराउनुपर्ने माग पनि स्थानीयको छ । स्थानीयले रोजगारी पाउन सहज हुनुपर्ने माग पनि स्थानीयको छ । जनताले राखेको सानोतिनो समस्या समाधान गर्नुपर्ने माग पनि स्थानीयले गरेको छ ।

धुनिवेशीको १ नम्बर वडामा लगेर फोहोर फ्याँकै अनि यहीको वडा अध्यक्षलाई समावेश नगरी सहमति गरेको कारण विरोध गरिएको अर्का एक स्थानीयले बताए ।

उनका अनुसार अहिलेको आन्दोलन धुनिवेशी १ नम्बरका वडा अध्यक्ष मानबहादुर तामाङको नेतृत्वमा भएको आन्दोलन हो । अध्यक्ष तामाङ गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ अनुसार यसभन्दा अगाडि आ–आफै बसेर गरेको सहमति भएकाले स्थानियहरूले विरोध गरिएको हो ।

‘सरोकारवाला र प्रभावि वडाध्यक्षलाई वेवास्ता गरेकाले विरोध गरेका हौं,’ अध्यक्ष तामाङले लोकान्तरसँग भने ।
ककनी वडानम्बर १ का अध्यक्ष पदम बलामीका अनुसार स्थानीयको जायज माग पुरा नभएकाले सोमबारको सहमति नमानेको बताए ।

‘भोलि बस्ने बैठकमा प्रभावित क्षेत्रका वडाध्यक्ष र सरोकारवालालाई बोइएकाले अब हाम्रो माग पुरा हुने अपेक्षा छ,’ वडाध्यक्ष बलामीले लोकान्तरसँगको कुराकानीमा भने । भोलि –(विहिवार) शहरी विकास मन्त्रालयमा वडाअध्यक्ष र केहि स्थानीयसहित समस्या समाधान गर्न लागि बैठक बस्न लागेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार