30.1 C
Kathmandu

विपन्नको उत्थानमा लघुवित्त सेवाको योगदान

विपन्नको पर्यायवाची शब्द गरीब तथा परिवारको गरीबी अवस्था हो भनेर भन्दा खेरि प्रश्न उब्जिएला उसो भए गरीबी के हो त ? गरीबीको परीभाषा सबै ठाउँमा सधैँ भरी लागू हुन सक्ने तथा मान्यता रहन सक्ने परिभाषा दिन गारो छ । तर साधारण अर्थमा गरीबी  भन्ने वित्तकै न्यूनतम स्तरको मानवीय जीवन जिउन पनि कठिन भएको अवस्था हो । कुनै पनि व्यक्ति वा परिवारलाई सामान्यतया दुई छाक खान एकसरो कपडा लगाउन, बस्नलाई ओत ( गास, बास र कपास ) को साथै शिक्षा स्वास्थ्य, सञ्चार, यातायात तथा मनोरञ्जन जस्ता आधारभुत आवश्यकताको अभाव नै गरीबी हो । गरीबी भित्र मानिस लाई बाँच्नको लागि अतिआवश्यक न्यूनतम क्यालोरी र स्वास्थ्य उपचारको अभाव रहेको अवस्था हुन्छ । अर्को भाषामा गरीबीको अर्थ समाज तथा समुदायमा उपलब्ध श्रोत साधनको तुलनात्मक रुपमा कमी हुनु नै गरीबी हो  अर्थात गरीबीको अर्थ  न्यूनतम आवश्यकता पुरा गर्न नसक्नु मात्रै नभएर अन्य व्यक्ति परिवार तथा समुदायको तुलनामा कम तल्लो स्तरको जीवन बाच्नु नै गरीबी हो । अर्न्तराष्ट्रिय मान्यता अनुसार गरीबी भनेको जो कोही ब्यक्तिले दैनिक २ अमेरिकी डलर भन्दा कम खर्च गरिरहेको अवस्था नै गरीबी हो । यसको मतलव गरीबीमा गाँस वास कपास को अभाव न्यूनतम स्तरको मानवीय जीवनयापनको अभाव, रोजगारीको अभाव शिक्षा स्वास्थ्यको अभाव जस्ता अवस्था नै गरीबी हो । 

विपन्नको उत्थानमा लघुवित्त सेवा एक अस्त्रको रुपमा पहिचान भएको छ । लघुवित्त सेवा भन्नाले साधारण अर्थमा स सानो आकारमा प्रदान गरिने वित्तिय सेवा हो अर्थात लघुको अर्थ सानो थोरै हुन्छ भने वित्त भनको आर्थिक  र सेवा भन्नाले प्रदान गर्नु सुविधा दिनु भन्ने बुझिने भएकोले लघुवित्त सेवा भन्नाले स सानो आकारमा प्रदान गरिने आर्थिक सेवा हो भनी भन्न सकिन्छ । लघुवित्तीय सेवा भित्र सामान्यतया कर्जा, बचत, बीमा तथा विप्रेषण सेवाहरू पर्दछन् । अर्को अर्थमा लघुवित्त सेवा भन्नु नै विपन्न वर्गलाई लक्षित गरि प्रदान गरिने वित्तिय सेवाको रुपमा बुझिन्छ । लघुवित्त सेवाको लक्ष्य उद्देश्य नै समाजमा रहेका गरीब विपन्न दलित शोषित पीडित  सुकुम्बासी निमुखा निर्धन तथा महिला वर्गलाई प्रदान गरिने वित्तिय सेवा हो । लघुवित्त सेवा भन्ने बित्तिकै स सानो कर्जा बिनाधितो, समुह जमानत किस्ता किस्तामा असुली, उत्पादनमूलक प्रयोजनको लागि छोटो अवधीको कर्जा प्रवाह, स सानो अङ्कमा पनि बचत संकलन गर्नु, अनिवार्य बचत र सामूहिक बचत , वित्तिय सेवाका साथै गैरवित्तीय सेवा समेतसँगै हुने, वित्तिय साक्षरता प्रदान गर्ने, विशेष गरी कर्जा बीमा ,सदस्यको जीवन बीमा, परियोजना बीमा तथा स्वास्थ्य बीमा सेवा प्रदान गर्नु र समुदायको घरदैलोमै विप्रेषण सेवा प्रदान गर्ने जस्ता विशेषता लघुवित्त सेवाका हुन्छन ।

नेपालमा विपन्न वर्गमा लघुवित्त सेवा को सुरुवात भएको त्यति धेरै भएको छैन । सर्वप्रथम लघुकर्जाको सुरुवात संस्थागत रुपमा २०१२ सालमा राप्ती दुन सहकारी बाट भएको पाइन्छ । त्यसपछि २०३० सालमा वाणिज्य बैक मार्फत साना क्षेत्र कर्जामार्फत प्रयास गरियो भने २०३२ सालमा कृषि विकास बैंक मार्फत वैदेशिक अनुदान सहयोगमा सञ्चालित साना किसान विकास परियोजना  लघु मार्फत  कर्जा दिन सुरु भएको पाइन्छ । यस्तै गरि सरकार मार्फत महिला विकास कार्यक्रम, प्राथामिकता क्षेत्र कर्जा, महिलाका लागि उत्पादन कर्जा कार्यक्रम  जस्ता कार्यक्रम मार्फत लघुकर्जा प्रदान गर्ने प्रयास गरेको पाइन्छ । नेपालमा लघुवित्त सेवा को संस्थागत व्यवस्थित सेवा भने ग्रामीण बैङ्किङ पद्धति मार्फत  प्रदान गरिने सेवा लाई नै लघुवित्त सेवा भनेर बुझ्ने गरिन्छ । विश्व समुदायमा ग्रामिण बैङ्किङ पद्धतिको प्रतिपादन अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुस बाट बङ्गलादेशमा भएको हो । नेपालमा ग्रामीण बैङ्किङ पद्धतिको अनुसरण गरि सर्वप्रथम सेवा प्रदान गर्ने कार्य २०४९ सालमा डा. हरिहरदेव पन्तले निर्धन संस्था मार्फत सुरुवात गराउनु भएको हो । गैर सरकारी क्षेत्रबाट ग्रामीण बैङ्किङ पद्धतिको अनुसरण निर्धन संस्थाले गरि सकेपछि  सरकारी स्तरमा पूर्वाञ्चल तथा सुदूरपश्चिमाञ्चलमा ग्रामीण बैंक को स्थापना भयो । यस अवस्थामा लघुवित्त सेवा एक अनुदानमा मात्रै सञ्चालन हुन सक्ने वित्तिय सेवाको रुपमा परीक्षण कै अवस्थामा थियो । लघुवित्त सम्बन्धी स्पष्ट नीति नियम कानुनको अभाव दक्ष जनशक्तिको अभाव, प्रविधिको अभाव, दूरदर्शी नेतृत्वको अभावलाई डा. पन्तले नै  एक सक्षम दूरदर्शी विश्लेषकको रुपमा सरकार र नेपाल राष्ट्र बैंकलाई कार्यदिशा बोध गराउँदै नमुनाको रुपमा नेपालमा लघुवित्त क्षेत्रको विकास र विस्तारमा नेतृत्वदायी भूमिका निभाउनु भयो फलस्वरुप उहाँलाई नेपालमा लघुवित्तका पिताको रुपमा पहिचान गरिएको छ ।  ग्रामीण बैङ्किङ प्रणालीलाई नेपालको आर्थिक सामाजिक भौगोलिक र संस्कृति तथा परम्परा सुहाउँदो रुपमा परिमार्जन गरेर देशमा विपन्नको लागि पुरा जीवन सर्मपित गरि कहिले सरकारी कहिले गैरसरकारी संस्थाको नेतृत्व गरि डा. पन्तले पुर्याउनु भएको महत्वपूर्ण योगदान को परिणाम स्वरुप विश्व बजारको तुलनामा नेपालमा लघुवित्त सेवाको विकास विस्तार का साथै सेवाको विशिष्टीकरण र संस्थागत विकास  धेरै भएको छ । 

नेपालमा परम्परागत बैङ्किङ पद्धति अनुसार सेवा पुर्याउने क वर्गका वाणिज्य बैंक ख वर्गका विकास बैंक र ग वर्गका वित्त कम्पनीहरूले आठ दशक सम्ममा देश भित्र पुर्याएको सेवाको तुलनामा लघुवित्त संस्थाले करिब अढाई दशकमा पुर्याएको योगदान धेरै गुणा बढि र प्रभावकारी भएको कुरा विभिन्न तथ्यहरूबाट प्रमाणित भएको छ । देशमा घ वर्गका वित्तिय संस्था ५७ लघुवित्त सेवा प्रदायकहरूका ५०७६ वटा शाखा कार्यालय मार्फत ७७ वटै जिल्लामा लघुवित्त सेवा ६० लाख ०२ हजार परिवारमा पुर्याएका छन । यि सबै संस्था मार्फत वितरित लघुकर्जा मध्ये २०८० पौष मसान्त सम्म ४.३९ खर्ब कर्जा  उठाउँन बाँकी रहेको छ भने सदस्यहरूबाट यि संस्थाले १.६९ खर्ब बचत संकलन गर्न सक्षम रहेका छन । नेपालमा लघुवित्त सेवा विभिन्न प्रकारका वित्तिय संस्था तथा गैर वित्तिय संस्था, सीमित बैङ्किङ संस्था, गैर सरकारी संस्था र सहकारी संस्थाहरू मार्फत लघुवित्त सेवा प्रदान गरिदै आएको छ । 

विपन्न वर्ग महिला लगायत समाजका कमजोर वर्गमा गरिने सम्पूर्ण बैङ्किङ कारोबार को रुपमा लघुवित्त सेवाले पहिचान बनाएको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई गरीबी निवारणको लागि सहस्राब्दी विकास लक्ष्य २०१५ प्राप्त गर्ने एक महत्वपूर्ण अस्त्रको रुपमा लिएको थियो । नेपालको परिवेशमा लघुवित्त सेवा सुरुवात पूर्व करिब ५० प्रतिशतको हाराहारीमा रहेको गरिबी हाल करिब २०.२७ प्रतिशतमा झर्न सफल भएको छ यो प्रगतिमा पूर्ण रुपमा दावी गर्न नमिले पनि लघुवित्त सेवाको महत्वपूर्ण योगदान रहेको कुरामा भने दुई मत रहको पाइदैन । देश भित्र लघुवित्त सेवाको योगदान लाई समीक्षा गर्दा विपन्न तथा गरीब वर्गलाई ऋण सेवा, घरदैलोमै वित्तिय सेवा आर्थिक क्रियाकलापमा भएको वृद्धि, विपन्न समुदायमा भएका बचत गर्ने बानीको विकास, परिवार तथा समाजका आर्थिक क्रियाकलापमा महिला सहभागिताको वृद्धि, स्वरोजगारी , उधमशिलता र रोजगारीका अवसरमा भएको वृद्धि, महिला विपन्न समुदायको आत्मनिर्भरता मा विकास , राष्ट्रिय पुँजीको विकास ,सामूहिक भावना र उत्तरदायित्वको विकास, महिला सशक्तीकरण, महिला नेतृत्वको विकास , पारिवारिक शिक्षा स्वास्थ्य शान्ति बाल विद्यालय भर्ना दरमा भएको वृद्धि, बाल तथा मातृ मृत्युमा घट्दो दर, परिवार समाजमा शान्ति तथा मेलमिलापमा भएको सकारात्मक प्रभाव र सामाजिक सुरक्षामा भएका सुधार वृद्धि विकास जस्ता सकारात्मक प्रभावहरू बाट लघुवित्त सेवाको योगदान प्रष्टै देख्न सकिन्छ । 

लघुवित्त सेवा कै कारण नेपाली समाजमा ब्यापक रुपमा रहेको अनौपचारिक वित्तिय प्रणाली तथा साहु महाजनको थिचोमिचो शोषणबाट विपन्न समुदायलाई औपचारिक वित्तिय प्रणाली ल्याउने महत्वपूर्ण कार्य लघुवित्त सेवा बाट भएको छ । परम्परागत रुपमा नेपाली समाजमा लगानी पुँजीको अभावमा रहेको  हलिया, कमैया, बालीघरे, अधियाँ, बस्तु साटासाट, को सट्टा औपचारिक बैंकिङ पद्धति को स्थापित हुँदै गएको छ । लघुवित्त संस्था मार्फत सुरु सुरुमा समुह जमानतमा प्रति व्यक्ति ५००० कर्जा दिने गरेकोमा हाल बिनाधितो समुह जमानतमा प्रतिव्यक्ति सात लाख सम्म र धितो लिएर ७ लाख सम्म कर्जा प्रवाह गर्न थालेका छन । यि संस्थाहरूबाट कर्जा सापटी लिएर धेरै विपन्न परिवारका कर्मठ युवा शक्तिहरू स्वरोजगारी हुँदै उनीहरूको उद्यमशीलता भएको वृद्धि विकास स्वरुप आफूजस्तै अन्य युवालाई रोजगार दिन सफल भएका छन ।

केही वर्ष अगाडि सम्म अरुको बाख्रा , सुंगुर, भैँसीका पाडी अधियाँ पालेर दुःख गर्ने, अरुको रिक्सा भाडामा लिएर चलाउनेहरू लघुवित्तको सेवा पश्चात आज आफैले फार्म चलाएर मालिक बन्न सफल भएका छन । यस्तै हिजो सम्म एक दर्जन चुरा र पोते लगाउन श्रीमान तथा सासु ससुरासँग खर्च को लागि हात थाप्ने गृहिणी महिलाहरू, घर बाहिर हिँड्दा घुम्टो ओढेर हिँड्ने, घरमा श्रीमान तथा कुनै लोग्ने मानिसको अनुपस्थितिमा कुनै पनि आर्थिक निर्णय लिन नसक्ने र आफूलाई कमजोर महसुस गरेर बस्ने महिलाहरू अहिले लघुवित्त संस्थाद्वारा गठन भएका समुहमा आवद्ध भएर बचत गर्न सिकेका छन्, समुहमा बसेर आर्थिक क्रियाकलाप बारेमा छलफल गर्ने गर्छन, कसले के व्यवसाय गर्दा, कसरी  गर्दा सफल भयो भनेर छलफल गरेर सिक्ने गर्छन जसले गर्दा समुहमा अरुको देखासिकी गर्दा गर्दै स सानो स्वरोजगार गर्न प्रेरणा मिलेर अगाडि बढेर सफल  उद्यमी बन्दै अरु बेरोजगारलाई रोजगार दिन सफल भएका छन , उधम व्यवसायबाट गरेको आम्दानी आफ्ना नाउँमा बचत खाता खोलेर जम्मा गरेका छन फलस्वरुप परिवारमा आर्थिक कारोबार सक्रिय सहभागिता जनाउँदै परिवारको सफल नेतृत्व गरेका यथेष्ठ उदाहरण पाइन्छ । यति मात्रै नभएर कुन बैंकमा कुन बचत खातामा धेरै ब्याज बचतमा पाइन्छ, कर्जाको ब्याज कहाँ सस्तो पर्छ, व्यवसायमा कति कर्जा आवश्यक पर्छ ,कर्जा कसरी तिर्नु पर्छ , समुहमा कर्जा विश्लेषण गरेर समुह सदस्यलाई सिफारिस गर्ने नगर्ने, समुह केन्द्र व्यवस्थापन नियन्त्रण गरेर समुदायमा नेतृत्व गर्ने सिक्दै सामुदायिक क्रियाकलापमा महिला सहभागिता लघुवित्त सुरुवात भन्दा अगाडिको तुलनामा धेरै प्रगति गरेका छन । हिजो समुह तथा केन्द्रको नेतृत्व गर्ने महिलाहरू आज देशकै विधायिका सदस्य बनेर समाज र देशकै लागी सफल नेतृत्व गरेको पाइन्छ । परिवारमा महिलाको सक्रियता बढेसँगै बालबच्चाको शिक्षा र महिला तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको पाइएको छ यस अवधीमा नेपालले उल्लेखनीय अङ्कमा सुधार गरेको बाल मृत्यु दर, मातृ मृत्यु दर, स्कुलमा बाल भर्ना दर, स्कुल छोड्ने दर, छोराछोरीको समान शिक्षा जस्ता कुराहरूमा लघुवित्त सेवाको प्रत्यक्ष योगदान रहेको छ । यसै कुरालाई मनन गरेरै संयुक्त राष्ट्रसङ्घले तथा विश्वका सबै राष्ट्रले गरीबी निवारण को लागि लघुवित्त सेवा लाई प्रमुख अस्त्रका रुपमा लिएको पाइन्छ ।

नेपालमा विपन्नको उत्थान गर्ने उद्देश्य लिएर स्थापना भएका लघुवित्त संस्थाहरू कम्पनी ऐन २०६३  र  बैंक तथा वित्तिय संस्था ऐन २०७३ अन्तर्गत रहेर सञ्चालन भएका छन । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहेर  लघुवित्त सेवाको विकास र विस्तार हुँदै आएका छन । लघुवित्त संस्थाहरू पब्लिक कम्पनीको रुपमा रहेको र यसको शेयर पुँजी बजारमा बिक्री हुनाले लघुवित्त सेवाको विकास विस्तारमा आम लगानीकर्ताहरूको पहुँच भएको छ । सुरु सुरुका वर्षहरूमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति अनुसार  वाणिज्य बैंकहरूले अनिवार्य लगानी गर्नु पर्ने प्राथमिकता कर्जा तथा विपन्न वर्ग कर्जाको लगानी  नगरेर जरिवाना तिर्ने गर्दथे भने अहिले लघुवित्त सेवाको सफलतासँगै सबै बैंक तथा वित्तिय संस्थाहरूले प्रत्यक्ष रुपमा लघुवित्त सेवा दिन थालेका छन त केहीले सहायक कम्पनीहरूको स्थापना गरेर लघुवित्त सेवा लाई आफ्नो अभिन्न अंगको रुपमा लिएका छन । नेपाल राष्ट्र बैंकको नीति पनि लघुवित्त संस्था खोल्न र सेवा सञ्चालन गर्न लचिलो नीतिको कारण हाल लघुवित्त संस्थाको स्थापना वर्षायाममा च्याउ उम्रिए जस्तै छ भन्न सकिन्छ । यसरी सुरुका वर्षमा लघुवित्त सेवा विपन्नको उत्थान तथा गरिबी निवारण गर्ने सामाजिक व्यवसायको रुपमा विकास गरिएता पनि पछिल्लो समयमा लघुवित्त सेवा मा व्यापारिकरण भएको छ भन्दा अन्यथा नहोला किन भने लघुवित्त सेवा भित्र देखिएको च्याउ उम्रिए जस्तै लघुवित्त संस्थाको स्थापना, अस्वस्थ प्रतिस्पर्धा, सदस्यतामा दोहोरोपना, बहुसंस्थाद्धारा लगानी, संस्थागत सुशासनको कमी, नाफा मुखी, उद्देश्यमा विचलन जस्ता चुनौती प्रशस्तै मात्रामा देखिएका छन । यसका साथसाथै लक्षित वर्ग पहिचानको अभाव, अपुग कर्जा प्रवाह, कर्जा सदुपयोगिताको कमी, बीमा तथा सुरक्षण अभाव, उद्यमशीलताको अभाव, दक्ष र व्यवसायिक जनशक्ति तथा श्रम व्यवस्थापनको अभाव, कर्जा सूचनाको अभाव, आन्तरिक नियन्त्रण प्रणालीको अभाव, कर्मचारी आन्दोलन र संगठनीकरण, राजनैतिक आन्दोलनका कठिनाइहरू, प्राकृतिक प्रकोप र विपद व्यवस्थापनको अभाव जस्ता समस्याहरू लघुवित्त सेवा क्षेत्रमा रहेका छन । यस्तै गरी लघुवित्त सेवा सञ्चालनमा नीतिगत समस्या र चुनौती पनि रहेका छन । लघुवित्त संस्थामा लगानीको लागि आन्तरिक श्रोतको कमी , गैर सदस्यलाई उद्यमशील कर्जाको अभाव, योजना र कार्यक्रमबीचको समन्वयको अभाव, संस्थागत कर, राजनीतिक अस्थिरता जस्ता समस्या तथा चुनौतीहरू यस क्षेत्रमा देखिएका छन ।

लघुवित्त संस्था देशभित्र रहेको ब्यापक गरिबी निवारणको लागी सरल र सहज तरिकाबाट औपचारिक वित्तिय सेवा सबै जनताको पहुँचमा पुर्याएर जनस्तरमा वित्तिय साक्षरता को विकास गर्दै पुँजी निर्माण गर्ने, लगानीको लागि पुँजी सरल तरिका बाट महिला, विपन्न, बेरोजगार का हात सम्म पुर्याउने, बचत गर्न सिकाउने, सामाजिक परिचालन गर्ने, महिला सशक्तीकरण गर्ने, ग्रामीण दूरदराजमा लुकेर छिपेर रहेका सिप कला कौशल र स्थानीय उत्पादन को प्रर्वद्धन गरि विपन्न समुदायको आम्दानी बढाएर समुन्नत समाजको परिकल्पना गरि सञ्चालनमा आएको हो । लघुवित्त संस्थाको स्थापना देखि विकास विस्तारमा नेपाल राष्ट्र बैंक, सरकार तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको योगदान महत्वपूर्ण रहेको छ । लघुवित्त सेवाले समाजमा पारेको सकारात्मक प्रभाव तथा योगदानको राष्ट्रिय स्तरमा मूल्यांकन हालसम्म नगरिए पनि यसले ठुलो हिस्सा समेटेको दावी गर्न सकिन्छ । अबको मुख्य रणनीति भनेको लघुवित्त सेवालाई बढि भन्दा बढि विश्वासिलो बनाउँदै  स्थायीरुपमा सेवा प्रदान गर्नु सेवामा स्तरीकरण, विविधिकरण गर्दै पूर्ण लघुवित्त सेवा प्रदान गर्नु आजको आवश्यकता हो । लघुवित्त सेवा प्रदायक संस्थाहरू सुविधाजनक र जनघनत्व बढि भएका तराई र पहाडका बजार उन्मुख ठाउँमा खचाखच भरिएका छन  भने पहाड हिमाल र तराईकै पनि दूरदराजका गाँउमा न्यून उपस्थिति रहेको छ ।

कतै अहिले सम्म लघुवित्त को बारेमा केही थाहा  छैन समुदाय अझैपनि साहुमहाजनको बाट आर्थिक कारोबार गरिरहेका छन त सुगम ठाउँहरूमा एउटी महिला दशौँ लघुवित्त संस्थाको सदस्य बनेर एउटै प्रयोजनको लागि  अनावश्यक कर्जा लिनु कर्जाको दुरुपयोग गर्नु एक संस्थाबाट कर्जा लिएर अर्कोमा किस्ता तिर्नु, महिनामा दशौँ दिन समुह बैठकमा भाग लिनु , कर्जा किस्ता तिर्न नसकेर घरपरिवार विचल्ली हुनु ले लघुवित्त सेवाको दुरुपयोग हुन थालेको अवस्था रहेको छ भने लघुवित्त संस्थाहरू मा पनि उद्देश्यमा विचलन आएर असुली र नाफा नै सबैथोक हो भन्ने अवधारण बढेको पाइन्छ । यस अर्थमा लघुवित्त सेवाले हाल सम्म समाजमा पारेको सकारात्मक प्रभाव लाई कायम राख्दै निरन्तर रुपमा विश्वसनियता कायम राखेर सेवामा स्थायित्व कायम गर्न देश भित्र लघुवित्त सेवाको योगदानको मूल्यांकन छिटो भन्दा छिटो गरिनु पर्छ  लघुवित्त सेवाले समेटेको क्षेत्र नक्सांकन गरेर  लघुवित्त सेवा नपुगेका गाँउमा छिट्टै सेवा पुर्याउने सेवामा प्रविधिको प्रयोग गरेर कर्म लागतमा सेवा प्रदान गर्ने , कर्जा लगानी मात्रै नगरेर बचत तथा सामाजिक सुरक्षण तथा लघुबिमा सेवा साथै पुर्याउने, लघुवित्त सेवा प्रदायक संस्थाहरूको अस्वस्थ प्रतिस्पर्धा रोक्ने, आन्तरिक नियन्त्रण, संस्थागत सुशासन, वित्तिय अनुशासन कायम गर्ने, साख सूचना व्यवस्थित गर्ने र उद्देश्यमा विचलन हुन बाट रोक्ने काम आजको अपरिहार्य आवश्यकता भएको छ । लघुवित्त सेवा लाई सामाजिक व्यवसायको रुपमा विकास गरेर यसमा लगानी गर्न चाहने लगानीकर्तालाई बढि मुनाफा होइन सामाजिक रुपमा सम्मानित हुन पाउने अवसर प्रदान गर्ने प्रणालीको रुपमा विकास गरे मात्रै विपन्नको उत्थानमा लघुवित्त सेवाको स्थायित्व हुने देखिन्छ  ।  


(लेखक लघुवित्त र लघुबिमा क्षेत्रमा लामो अनुभव प्राप्त अधिवक्ता हुन-सम्पादक ) 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार