20.1 C
Kathmandu

भयरहित भई शान्ति सित बाँचौँ

 भयरहित भएर शान्ति सित बाँच्नु नै समयको माग हो । यसबाट नै जीवन र जगतको सार झल्किन्छ । आफू पग्लिएर पनि उज्यालो छर्ने, अँध्यारो चिर्ने मैनबत्ती झैँ ठुलो साहस र हिम्मत बोकेर एकत्रित भएमा उसले समाजमा शान्तिरूपी मनका बिउ छरी उज्यालो बाटोमा पाइला सारी शान्तमय एवं भयरहित समाज निर्माण गर्न सक्दछ ।

अहिले हामीहरू समस्यै समस्यामा गुज्रीरहेका छौँ । धेरै मानिसहरू तड्पिएर पीडाको आँसु पिएर बाँचेका छन्, तैपनि बाहिर मिठो हाँसो हाँस्ने प्रयास गर्दैछन्, यो उनीहरूको महानता हो । कति मानिसमा बिहान र बेलुका के खाने भनेर सोच्दैमा दिन वित्दछ तर कतिपय मानिस अरुको गाँस खोसेरै भएपनि पुस्तौँपुस्तालाई कमाउन पछि परेका छैनन् । धनाढ्य र ठुलाबडा भनौदाहरुको पेलाइले गरिब झन गरिब नै बनिरहेका छन् ।

प्रकृतिका आफ्नै देनहरू छन् । उसको आफ्नो छुट्टै नियमहरू छन् । खोलानाला, डाँडापाखा, हिमाल, वायु आदि सबैको आ–आफ्नै नियममा बाँधिएका छन् । प्रकृतिको साथ पाएर नै हाम्रो जीवन यर्थाथमय बनाएका हुन्छौँ । सूर्य अस्ताउन वा उदाउन छोडेर आफ्नो नियम तोडेमा जीवनको परिकल्पना गर्न सक्दैनौँ । खोलामा पनि नबगे त्यसले शोभा दिनेकुरा हुदैन । प्रकृतिको यस्ता नियमहरू जस्तै मानिसले पनि आफलाई सीमाभित्र बाँधेर नियमपूर्वक बस्नु जरुरी हुन्छ ।

आजको कलियुगमा मानिस नियम भन्दा बाहिर गएको छ । छाडा छोडिएका जनावरहरू भन्दा मानिस झन छाडा भईरहेका छन् । जनावरहरू त नियमअनुसार चलेका छन्, तर मानिसले नियमलाई लत्याइदिएका छन् । त्यसैले मानिसको आचरण पशुभन्दा पनि नीच हुँदै गएको छ । पशुपक्षीले त हुलमा बसेर आफ्ना सन्ततिलाई माया गरेका हुन्छन्, तर मानिसमा त माया दया भन्ने मरिसकेको छ । हाँस, कुखुरा र अन्य पशुपक्षीले समेत आफ्ना साना बच्चालाई गुँड बनाई खाना लिएर आई खुवाउने गर्दछन् । त्यस्तै चिलले पनि आफ्ना बच्चालाई विषेश मायाका साथ हुर्काएका हुन्छन् । चराचुरुङ्गीले पनि भोका बच्चाहरूलाई आहारा खुवाई हुर्काएका हुन्छन् । दिनरात पशुहरू मिलेर बसेका हुन्छन् । तर मानिसहरू दुई दिनको जिन्दगीमा पनि हाँसीखुसी बाच्न छोडेर तेरोमेरो भन्दै काटमार गर्न तयार रहन्छन् । आफूले हुर्काएका छोराछोरी, चेलिबेटी माथि गिद्धे नजरले हेरिरहेका हुन्छन् । परिवारमा बुबाआमा, दाजुभाइ, दिदीबहिनी, कसैप्रति पनि प्रेमभाव राख्दैन । दिनहुँजसो , हत्याहिंसा, अपहरण, बलात्कार  जस्ता कुकृत्यले प्रश्रय पाईरहेको छ । आखिर मानिस किन पशुभन्दा पनि नीच भई रहेको छ ? यसको उचित समाधान नभएमा दिनप्रतिदिन बढ्दो हिंसाले समग्र मानवजिवन नै संकटमा परि अस्तित्व नै लोप नहोला भन्न सकिन्न ।

यस धर्तिमा सृष्टि भएर जन्मिएका हरेक जिवजन्तु आफ्नै चक्रमा घुमेका हुन्छन् । प्रकृतिले नियम नै त्यस्तो बनाईदिएको छ अर्थात् जन्मनु, हुर्कन,ु प्रौढ हुनु, बृद्ध हुनु र मृत्यूवरण गर्नु । यो प्रकृतिको अपरिवर्तनिय नियमहरू नबुझेर अज्ञानी बन्नु मानवजिवनको मुर्खता हो । हरेक मानिसको मनमा आशाको त्यान्द्रो झुन्डिएको हुन्छ । मानिस हरेकदिन सुखको खोजिमा भौँतारीरहेको हुन्छ । तर उसले खोजेको सुख के हो बुझ्नै नसकी संसारबाट विदालिनु परेको हुन्छ । प्रकृतिको लिला साच्चै अपरम्पार छ । जीवनको छोटो यात्रामा सकारात्मक कर्महरु गरि मृत्यू अगावै सवैले सम्झीने पूण्यकार्यमा लागि आफ्नो जीवन र जगतलाई अमूल्य र चिरायू बनाउने तिर लाग्नुपर्दछ । मानवजिवन कुमालेको चक्रको माटो जस्तै हो । हाम्रो जीवनको रुपरेखा, आकृति, स्वरुप र पहिचान आफैले बनाउने हो ।

हरेकपल मानिसमा दुई ओटा बाटोहरु तेर्सिएका हुन्छन् । जिवनमा जसले पछिसम्मको उज्यालो बाटोलाई पछ्याउँछ त्यँहा शान्ति मिल्दछ । यसलाई शान्तिको मार्ग भनिन्छ । जीवन भनेकै यर्थाथ चित्रणको पर्याय हो, सुखको संवेग हो । तुरुन्त लाभ लिन खोज्ने, अरुको खुसि चुँडेर संसारीक मोहमा लिप्त हुन खोज्ने क्षणिक आनन्द नै सवै चिज हो भनि सोच्ने र अध्यारो बाटोलाई पछ्याउने व्यक्ति सुखिरहन सक्दैन, उनिहरुमा चिन्ता र जलन मात्र रहन्छ । यो उनीहरुको दुःखको संवेग हो । अन्धकारको कालो र उज्यालो जस्तै सेतो छुट्याउन नसक्ने अर्थात् कालो मै रमाई हिड्न खोज्ने मानिस धर्तिका बोझ हुन, शान्तिका भक्षक हुन ।

भूँई अन्धकार छ तापनि माथि धेरै माथि आकाशमा जुनतारा चम्किरहेको हुन्छ । यस धर्तिमा परिवर्तन गराउन सकिने अन्धकारमय दियोको मधुर तर स्वच्छ उज्यालो भए जस्तै चेतनाका उज्यालो प्रकाशहरु समाप्त भएका छैनन् । चम्किलो दियोहरु निम्नलाग्दा तेल थपेर उर्जाशिल बनाउन सकिन्छ । त्यस्तै हाम्रो मनमा स्वच्छ भावनारुपी तेल थपेर आफैमा उर्जा दिएर संसारलाई शान्तिको बाटोमा डो¥याउन सकिन्छ । घरपरिवार, समाज हुदै आफुभित्रको अहम हटाई समग्र राष्ट्रप्रति शान्तिपूर्ण अर्जुनदृष्टि मार्फत संसारलाई खुसीको वाहार ल्याई झिलिमिलि बनाउन सकिन्छ ।

संसार आज मानिसकै कारण असुरक्षित छ । सवैतिर उज्यालोमा अन्धकार छाए जस्तै भएको छ । आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि ठुलाठुला सोच्न नसकिने हत्या, हिंसा, अपराध, भ्रष्टाचार, कुसंस्कारको जालोले हाम्रा संन्ततिहरुको भविस्य कता जाने हो सोच्न सकिने स्थिति पक्कै छैन । तसर्थ, भयभित भएर शान्तिस्थापना गरि समग्र समाजलाई भयरहित एवम शान्तिमय बनाएर बाँच्नु नै आजको एक मात्र आवश्यकता हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार