20.1 C
Kathmandu

घण्टाकर्ण अर्थात गठेमङ्गलः एक चर्चा

घण्टाकर्ण चतुर्दशी साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिन शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । काठमाडौँ उपत्यकामा यस पर्वलाई गठेमङ्गल भन्ने गर्दछन् । ुगठेमङ्गल पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रूपमा नियुक्त गरी उसको काजकिरिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ । वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र गठेमङ्गल पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्ने गरिन्छ ।

नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो । त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुन्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र समृद्धिका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो । त्यस नरभक्षी राक्षसले बाटामा हिँड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो । आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो । एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो । उसले मौका यही हो भन्दै धाप (भासभएको जमिन) तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो। राक्षस भ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो । त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो । उसले आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन । साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ । 

रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफासुग्घर बनाइन्छ । केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन् । देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व मनाईंदैछ ।

यो पर्व नेवार समुदायमा महत्त्वका साथ मनाउने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रूपमा नर्कटको प्रतिमा बनाईन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रूपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

(नेवार समुदायमा मनाइने चाड गठेमङ्गल यहि साउन १८ गते परेकोले यो समसामयिक लेख प्रस्तुत गरेको छु )

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार