गणतन्त्रवादीले नेपालका ‘अन्तिम राजा’ भनेर २०६२/६३ सालपछि घोर अपमान गरेका राजा ज्ञानेन्द्र शाह षड्यन्त्रपूर्वक गद्दीच्यूत भएपछि किन आफ्नो मुलुक छोडेर गएनन् भनेर गणतन्त्र समर्थकले बुद्धिबिनोद गरिरहे तर राजा आफ्नो मुलुक नछोड्नुको कारणबारे मीमांसा गरेनन् । केही प्रश्न विचारणीय र गम्भीर छन् । राजाले संसद् पुनःस्थापना नगरेको भए के हुन्थ्यो ? विदेशीले नयाँ खेल सुरु गर्थे कि मौनधारण गरिरहन्थे ? अथवा, किनाराका साक्षी भएर बस्थे ? आफू बलियो हुन चीन, अमेरिका, भारत वा कुनै शक्तिलाई परराष्ट्र, राष्ट्रिय सुरक्षा आदि अत्यन्तै संवेदनशील विषयमा सहमति, सम्झौता र समझदारी गरेर राजतन्त्रविरोधीहरूलाई दमन गर्ने अवस्था सिर्जना गरिएको भए के हुन्थ्यो ? नेपाल अस्थिर, असहज र अन्योलको बाटोमा हिँड्दा चीन र भारत कति सुरक्षित रहलान् भन्दै अनन्त कालसम्म सुरक्षा सन्धि गरेको भए नेपाली सेना समेत भारतीय “गोर्खा पल्टन” सरह हुने थियो कि अरू शक्तिशाली बन्ने थियो ?
राजा सपरिवार कुनै राष्ट्रमा शरणार्थी भएर बसेको भए नेपालमा चल्ने शक्ति संघर्षको रूप र परिणाम कस्तो हुने थियो ? त्यसबखत यहाँ को सुरक्षित रहन्थे ? आन्दोलनमा सक्रिय दलका केही प्रभावशाली नेतालाई कुनै प्रलोभनमा पारेर अन्य सीमित नेतालाई कठोर कारवाही गर्दा ध्रुवीकरणको दुष्परिणामले आन्दोलनकै रूपरेखा बदलिने सम्भावना थियो कि थिएन ? त्यसबखत दलहरूको हविगत के हुन्थ्यो ? प्रजादीपक नामक राजालाई थाइल्यान्डको सानो समूहले सन् १९३२ मा गद्दीबाट हट्न बाध्य बनायो । उनी महारानी रामबाईका साथमा भागेर ब्रिटेन पुगे । उतै शरीरान्त भयो, उनको । राजा ज्ञानेन्द्रले त्यस्तो बाटो किन रोजेनन् ? किन राष्ट्र र जनतालाई माया गरेर बसे ? सन् १९७९ को क्रान्तिका कारण इरानका राजा रेजा पहलवी भागेर इजिप्ट पुगे । त्यसपछि इरानमा शान्ति भएन किन ? राजा ज्ञानेन्द्रले किन त्यस्तो बाटो लिएनन् ?
यस्ता उदाहरण धेरै छन् । राजाले आफ्नो मुलुक छोडेर गएको अवस्था हुँदा अराजकता बढेका उदाहरण पनि धेरै छन् । राजा ज्ञानेन्द्रले राजगद्दी त्याग्दा हाँसेर विदा लिए । आवश्यकताको सिद्धान्त भनिए झैँ राष्ट्र र जनताको कल्याण होस् भनेर सत्ता त्यागेर सामान्य नागरिक सरह जीवन बिताउने प्रण गरे । यो नेपालको शान्ति प्रक्रियालाई सहजरूपमा सहयोग गरेको घटना थियो कि थिएन ? उनले शान्ति प्रक्रिया बिथोल्न चाहेको भए । आफ्नो प्रभावमा रहेका राजनीतिक व्यक्तिहरू, जङ्गी, प्रहरी, निजामती लगायतका शक्तिलाई प्रयोग गरेर शान्ति प्रक्रियालाई अर्कै बाटोमा मोड्न सक्थे । तर राष्ट्र र जनताको एकता तथा हितका लागि उनले शक्तिसञ्चय गर्ने प्रयास पनि नगरेर लोकसम्मतिको कदर गर्दै परिवर्तनलाई सामान्यरूपमा लिए । तर गणतन्त्र स्थापना भएपछि राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्ता अत्यन्त कमजोर भयो । के यो राजा ज्ञानेन्द्रले गरेको हो ?
उनी गद्दी त्यागेर जहाँ पुगे पनि लाखौं जनताको माया पाइरहेका छन् । धेरै राजनीतिक दलहरूले राष्ट्र, जनता बिर्सेर स्वार्थकेन्द्रित भएको गुनासो गर्दै राष्ट्रनायकका रूपमा राजाले राष्ट्र सम्हाल्न आग्रह गरिरहेका छन् । केही राजनीतिक नेताले “पूर्वराजा सक्रिय हुनु आपत्तिजनक छ” भने पनि आफ्ना कमी कमजोरीको आत्मसमीक्षा र आत्ममूल्यांकन गरेको पाइँदैन ।राजाले राजदरबार त्यागेर विदेशमा बस्ने इच्छा किन गरेनन् ? किन अर्बौं रुपियाँ खर्च गरेर भव्यमहलमा विदेशतिर बाँकी जीवन बिताउने रहर गरेनन् ? किन विदेशीसंग अपवित्र गठबन्धन गरेर पुनः शक्तिसञ्चय गरेनन् ? घृणा, तिरस्कार, अपमान र निराधार आरोप सहँदै किन उनले मातृभूमिमै बस्ने प्रण गरे ? गणतन्त्रप्रति जनताको मोह बढ्नुको सट्टा घट्दैछ किन ? ठूलो अपराध, कसुर, षड्यन्त्र वा पाप गरेको भए देशका कुना–कुनामा घुमिरहने थिएनन् राजा ज्ञानेन्द्र । गणतन्त्रपछि बनेका सरकारले छानबिन गरेर नारायणहिटी राजदरबारभित्र भएका घटनाको यथार्थ सूचना जानकारी गराउन किन साहस गरेनन् ? किन उनीहरू गालीगलौज मात्रै गरिरहेका छन् ?
राजा दोषी हुन् भने गणतन्त्रवादी नेताले संयुक्त समिति वा आयोग बनाएर किन उनलाई दण्ड दिन सकेनन् रु उनले ठूलो अपराध, कसुर, षड्यन्त्र वा पाप गरेको भए देशका कुना–कुनामा सरल बनेर निर्भीकतापूर्वक घुमिरहने थिएनन् । गणतन्त्रपछि बनेका सरकारले छानबिन गरेर नारायणहिटी राजदरबारभित्र भएका घटनाको यथार्थ सूचना जानकारी गराउन किन साहस गरेनन् ? के उनीहरूले ज्ञानेन्द्र शाहबाट घुस खाएका थिए ? किन, अनर्गल प्रलाप र मिथ्याका बलमा दलका केही नेता आफूलाई उच्च तथा अपरिहार्य देखाउने दुस्साहस गरिरहेका छन् । कुनै दिन “गणतन्त्र चाहिन्छ वा चाहिँदैन” भन्ने जनमत संग्रह भएछ भने “चाहिन्छ” भन्नेहरू बहुमतमा होलान् कि अल्पमतमा ? रंगभेद नीतिविरुद्ध विद्रोह गरेर २७ वर्ष जेल बसेका दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला र राष्ट्रपति (श्वेत नेता) फ्रेडरिक बिलियम डे क्लार्कले सन् १९९३ मा शान्तिका लागि सम्झौता गरे । त्यो सहकार्यको सर्वत्र प्रशंसा भयो । दुबैले नोबेल शान्ति पुरस्कार पाए । आफ्ना कारणले नेल्सन मण्डेला, अश्वेत जनता र भारतीयहरूले कष्ट, पीडा र अनेक यातना भोग्नुपरेकोमा डेक्लार्कले क्षमा मागे ।
राजा ज्ञानेन्द्रले पनि म्याद गुज्रेको संसद् पुनःस्थापना गरेर शान्ति स्थापना होस् भन्ने सदाशयले ‘प्रत्यक्ष शासन’ संवैधानिक र राजनीतिक भूल स्वीकार गरेकै हुन् । विगतका कर्म, कमजोरी वा अहंकार दोहोरिन नदिन आफै उदाहरण बनेकै हुन् । कतिपय दलले त्यसलाई जय र पराजयका रूपमा अपव्याख्या गरे । राजा वीरेन्द्रले नेपाललाई “शान्तिक्षेत्र” घोषणा गर्दा ११६ राष्ट्रको समर्थन पाए पनि भारतले स्वीकार गरेन । त्यस्तै राजा ज्ञानेन्द्रले दरबारका उच्चपदस्थ कर्मचारी, आफन्तजन, समर्थक र प्रियपात्रहरूबाट मद्दत पाएनन् । राजा ज्ञानेन्द्रको देशभक्ति, त्याग, विवेक र उदार प्रवृत्तिको मूल्यांकन नै भएन । मार्च १२, २०२४ मा भारतको ‘हिन्दु’ अंग्रेजी दैनिकले नेपालमा राजतन्त्रको समर्थनमा राष्ट्र बचाउन राजा चाहिन्छ भन्ने आवाज फैलिएको समाचार दियो । धेरै विदेशी अखवार, टेलिभिजन र सामाजिक सञ्जालमा नेपालमा गणतन्त्र बदनाम भएका टिप्पणी, समीक्षा र समाचारहरू आए । केहीले त दलहरूले दुराग्रह राखे पनि नेपालको संरक्षण, सम्बद्र्धन र सम्पोषण निम्ति राष्ट्रिय एकता र मेलमिलाप हुनुपर्ने राजाको धारणा सदाशयपूर्ण र देशभक्तिपूर्ण छ भनेका छन् ।
यहाँ विचारणीय कुरा के छ भने राजाले नारायणहिटी परित्याग गर्दा राजपरिवारकी ज्येष्ठ सदस्य राजा महेन्द्रकी धर्मपत्नी तथा आफ्नी मुमा रत्नराज्यलक्ष्मीदेवी शाहलाई राजदरबारमै बसोबास गर्ने प्रबन्ध मिलाए । राजा महेन्द्रले बनाएको महेन्द्र मन्जिल निवासमा अहिले पनि मुमा रत्नको बसोबास छँदैछ । यसले के सन्देश दिन्छ भन्ने कुरा गणतन्त्रवादीहरूले बुझ्न आवश्यक छ । यस्तै राजाले नारायणहिटीबाट नागार्जुन दरबार प्रस्थान गर्नु अघि दिएको सन्देशमा राजमुकुटका वारेमा जनताको नासो जनतालाई सुम्पेर जाँदैछु भन्नुको तात्पर्य स्पष्ट छ । नेपाली शब्दकोषमा नासोको अर्थ पछि फिर्ता हुने गरी राख्न दिइएको वस्तु भन्ने बुझिन्छ । अन्तर्राष्ट्रिय आयाम, बाह्य षड्यन्त्र तथा शक्तिराष्ट्रहरूको स्वार्थका कारण राजा महेन्द्र र राजा वीरेन्द्रले अनेक घात, प्रतिघात भोग्नुपरेको थियो । ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनका लागि ३६ महिना मात्र मागेका थिए तर विदेशीको आदेश/निर्देशमा दलहरूले काम गर्न दिएनन् । राजा ज्ञानेन्द्रबाट कुनै भूलचुक भएकै छैन भन्नु अतिशयोक्ति हुनेछ तर राष्ट्रघात भएको पाइँदैन । “योग्यं योग्याय दातव्यम्” भन्ने शास्त्रीय मान्यता अनुसार योग्यहरूलाई मात्रै राजकाजमा सहभागी बनाइएको भए त्यसले केही सकारात्मक परिणाम दिने थियो ।
निचोडमा र सारांशमा भन्नुपर्दा राजा ज्ञानेन्द्र प्रबल राष्ट्रबादी राष्ट्रनायक हुन् । उनी विदेशीसँग झुकेनन् र झुक्दैनन् पनि । राजीव गान्धीले उनकै शासनमा भारतीय गुप्तचर संस्था “रअ” मार्फत नेपालको राजतन्त्र समूल नष्ट गर्न चाहेका थिए । रअ प्रमुख अमर भूषणलाई यसको जिम्मेवारी दिइएको कुरा पत्रकार राजीव तेवारीले लेखेका छन् । (द टाइम्स अफ इण्डिया, जुलाई १६, २०२०) कम्बोडियामा राजा नरोद्दम सिंहानुकको शासन समाप्त भयो तर सन् १९९३ मा राजसंस्था पुनः स्थापना भयो । सन् १९७० को मार्च १८ मा सेना प्रमुख लोन नोललाई अमेरिकी गुप्तचर संस्था सीआईएले उकासेर “गणतन्त्र” भन्दै सैनिक शासन सुरु गरिएको थियो । त्यसपछि धेरै वर्ष राजा नरोद्दम सिंहानुक चीन गएर बसै अमेरिकाले बनाएको सैनिक तानाशाहले राष्ट्रघात गरेको भन्दै जनविद्रोह फैलिने सूचना पाएपछि उनी भागेर अमेरिका पुगे । सन् १९८५ मा क्यालिफोर्नियामा उनको मृत्यु भयो । राजा ज्ञानेन्द्र फलामका काँडा टेक्दै हिँडे तर पीडा देखाएनन्, उनको हृदयमा धेरै चोट थिए तर आँसु देखाएनन् । राष्ट्र र जनताका लागि ‘कुर्वानी’ गरे तर त्यो बुझिदिने कोही भएनन् ।