8.1 C
Kathmandu

शिक्षकहरु काठमाडौं केन्द्रित शैक्षिक हड्तालमा, देशभरका विद्यालय बन्द गर्ने घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गराउने मागसहित २०८१ चैत २५ गतेदेखि काठमाडौंमा निर्णायक आन्दोलन सुरु गर्दै देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले आम शैक्षिक हड्तालको घोषणा गर्दै शिक्षक–कर्मचारीहरुलाई सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेको हो।

२०७९ सालदेखि बहसमा रहेको नयाँ विद्यालय शिक्षा ऐन अझै जारी नभएकोप्रति असन्तुष्टि जनाउँदै महासंघले २०८१ माघ २० गतेदेखि आन्दोलन गरिरहेको छ। सोही आन्दोलनको सिलसिलामा चैत २० गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन भइरहेका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गुणस्तरीय र सबैका लागि पहुँच योग्य विद्यालय शिक्षा प्रणाली निर्माणका लागि शिक्षकमैत्री शिक्षा ऐन अत्यावश्यक भएकोले यो आन्दोलन अन्तिम र निर्णायक हुनेछ।”

महासंघले आन्दोलनलाई सशक्त बनाउन परीक्षा मूल्यांकन, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमण लगायतका सम्पूर्ण शैक्षिक गतिविधिमा सहभागी नहुन शिक्षकहरुलाई अनुरोध गरेको छ।

शिक्षक महासंघले विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्धता जनाई सहयोग गर्न समेत अपिल गरेको छ।

थप समाचार

ताजा समाचार