दोलखा । देशकै सबैभन्दा ठूलो स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले चौबिसै घण्टा पूर्ण क्षमतामा ४५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ।
गएको वर्षको असोजमा आएको भीषण पहिरोले आयोजनाका दुवै डिस्यान्डर पोखरी, भूमिगत नहर र विद्युत् नियन्त्रण कक्षमा ठूलाे क्षति पुर्याएको थियो। त्यसपछि ३ महिनासम्म उत्पादन बन्द भएको थियो।
केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितका अनुसार, आंशिक मर्मतपछि बायाँ र दायाँतर्फका डिस्यान्डर पोखरी सञ्चालनमा आएसँगै बिहीबारदेखि चौबिसै घण्टा विद्युत् उत्पादन सुरु गरिएको हो। “पहिलाकै अवस्थामा पुनर्निर्माण सकिएको छैन, तर बर्खाका तीन महिना घाटा कम गर्न आंशिक रूपमा सञ्चालनमा ल्याएका हौं”, रञ्जितले भने।
उनका अनुसार, सिभिल र इलेक्ट्रोमेकानिकल संरचनाको पूर्ण मर्मत अझै ४५ दिन लाग्नेछ। तर अहिलेको अवस्थामै विद्युत् उत्पादन नगर्दा प्रतिदिन ४ करोड रुपैयाँ बराबरको घाटा हुने भएकाले आंशिक तयारीमै उत्पादन थालिएको हो। भूमिगत नहरको मर्मत पूरा भइसकेको छ भने बाँधमा पानी भरेर उत्पादन पुनः पुरा क्षमतामा पुर्याइएको हो।
बर्खाको समयमा बाढीको सम्भावना रहेकाले पानीको बहावको निगरानीका साथ उत्पादन भइरहने प्रबन्धक रञ्जितले बताए। तामाकोशी आयोजना ६६ क्युसेक पानीको बहावलाई धान्ने गरी डिजाइन गरिएको हो, तर गत वर्ष असोजमा बहाव ४६१ क्युसेक पुगेको थियो। आयोजनाको पीपीएअनुसार बहाव २५० क्युसेक नाघेपछि उत्पादन बन्द गर्नु पर्ने नियम छ।
पहिरोका कारण क्षतिग्रस्त विद्युत् नियन्त्रण कक्ष पुनः निर्माणको प्रक्रियामा छ। उक्त दुर्घटनामा दुई कर्मचारी र दुईजना सुरक्षाकर्मीको ज्यान गएको थियो। आयोजनाले १ अर्ब ८० करोड रुपैयाँ बराबरको बीमा दाबी गरेको छ।
अर्धजलाशययुक्त यो आयोजना वर्षायाममा पूर्ण क्षमतामा र हिउँदमा ४ देखि ६ घण्टासम्म सञ्चालनमा ल्याइन्छ। हिउँदमा उत्पादन बढाउनका लागि रोल्वालिङ खोलाको पानी डाइभर्सन गर्ने नयाँ आयोजना निर्माण भइरहेको छ, जसबाट थप २२ मेगावाट विद्युत् उत्पादन हुनेछ र सोही पानी तामाकोशीको बाँधस्थलमा प्रयोग गरिनेछ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणका लागि हिउँदमा पनि विद्युत् आपूर्ति सन्तुलन गर्न महत्वपूर्ण स्रोत बनेको छ।