परिवारमा कतिपय मनमुटाव यति गम्भीर बन्छन् कि जसले मानसिक समस्या, जाँडरक्सी तथा लागूपदार्थको समस्या तथा घरेलु हिंसाका अपराधसमेत देखा पर्छन्। त्यसैले यस लेखमा पारिवारिक सम्बन्धमा समस्याका कारण र समाधानका उपाय प्रकाश पार्ने जमर्को गरिएको छ। सामान्यतः पतिपत्नीबीच देखा पर्ने समस्यालाई दुई वर्गमा वर्गीकरण गर्न सकिन्छ। पहिलो हो, व्यक्तिगत जीवनसँग सम्बन्धित समस्या, जस्तैः सेक्स समस्या। अर्को हो, पारिवारिक तथा सामाजिक समस्या। पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।
तर पतिपत्नीबीच व्यक्तिगत समस्या बढी जटिल हुन्छ। यो समस्या प्रायः सेक्ससँग सम्बन्धित हुनाले निजात्मक हुन्छ, समस्या लामो समयसम्म रहिरह्यो भने यसले पतिपत्नीबीच आक्रोश, कलह तथा कटुता पैदा गर्छ। सेक्स समस्याले पतिपत्नी दुवैलाई प्रभावित पार्छ। जस्तो कि पत्नी काम–शीतलताद्वारा पीडित भएको खण्डमा पतिलाई यौन सुखानुभूति प्राप्त हुँदैन। पत्नी पनि यौनसुखबाट वञ्चित हुन्छिन्। यदि पति शीघ्रपतनबाट ग्रस्त छ भने पत्नीलाई मात्र होइन, स्वयंलाई पनि प्रभावित पार्छ। यस्ता पतिहरू हीनताबोध र डिप्रेसनको सिकार बन्न सक्छन्।
यसको उपचारका लागि चिकित्सक कहाँ पुगेका अधिकांश महिलाहरूले पनि आफ्नो समस्या पूरा खोलेर भन्न लजाउँछन्। जस्तो कि दुश्चिन्ता तथा डिप्रेसनबाट पीडित महिलामा सेक्स इच्छा कम हुन्छ। जसले पतिपत्नीबीच कटुता पैदा गर्न सक्छ। यति हुँदा पनि महिलाहरूले यो समस्यालाई आफैंभित्र गुम्साएर राख्न उचित ठान्छन्। परिणामस्वरूप यस्ता महिला थप मानसिक समस्याको चङ्गुलमा पर्छन्।
कुनै यस्तो घर छैन, जहाँ आमाबाबु र छोराछोरीहरूबीच ठाकठुक नभएको होस्। तर कतिपय घरमा बाबुछोराबीच समस्याले यति उघ्र रूप लिन्छ कि बाबुछोराबीच मारकाट नै हुन पुग्छ। खासगरी किशोर छोरा र आमाबाबुबीच भनाभन, झैझगडा र हातपातसमेत हुने गर्छ। किशोरकिशोरीमा हुने रासायनिक परिर्वतन, छोराछोरीबाट आमाबाबुको अपेक्षा, पुरानो पिँढी र नयाँ पिँढीको सोचको अन्तर, पारिवारिक संस्कार तथा घरको वातावरणका कारण नै यस्तो समस्या देखा पर्छ।
विवाह हुनुभन्दा पहिला दाजुभाइबीच सम्बन्धमा खासै ठूला समस्या देखा पर्दैनन्। तर, विवाह भएपछि दाजुभाइबीच बढी खटपट सुरु हुने गर्छ। एउटा भाइले बढी कमाउने तथा अर्को भाइले नकमाउने वा कम कमाउने भयो भने पनि परिवारमा समस्या देखा पर्छ। अंशबन्डाको विषयलाई लिएर पनि दाजुभाइको सम्बन्धमा समस्या देखा पर्छ। कहीँकहीँ त एक फिट जमिनलाई लिएर समेत दाजुभाइबीच पानी बराबरको स्थिति सिर्जना हुन्छ। कतिपय अवस्थामा त मारकाट नै हुने गर्छ। अंशबन्डा भएर बसेका दाजुभाइमा प्रतिस्पर्धा र ईर्ष्याका कारण सम्बन्धमा समस्या देखा पर्छ।
एकाध अपवादलाई छोड्ने हो भने दिदीबहिनीबिच सम्बन्धमा खासै ठुलो समस्या देखिँदैन। कहिलेकाहीं दिदीबहिनीबिच ठाकठुक, हात हालाहाल तथा बोलचाल नै बन्द भए पनि यसले उग्र रूप लिँदैन। केही दिनमै आपसी समस्या साम्य हुन्छ र दिदीबहिनीबिच सम्बन्ध पुनः पहिलाका जस्तै हुन्छ। तर विवाह भइसकेका दिदीबहिनीबिच आर्थिक हैसियतका कारण तथा प्रतिस्पर्धा र ईर्स्या कारण सम्बन्धमा समस्या देखापर्छ।
नेपाली समाजमा देवरानी–जेठानीबिच समस्या नभएको कुनै घर छैन। कतिपय घर त देउरानी–जेठानीबिचको झैझगडाका कारण नै टुट्ने गर्छ। देउरानी–जेठानीबिच आइपर्ने समस्याको जड भनेको भाइहरूको कमाइको अवस्था, घरधन्दा, एकअर्कामाथि प्रभुत्व जमाउने होडबाजी तथा ईष्र्या हुन्। जस्तो कि जेठानीले आफू जेठानी हुँ भन्ने तथा देवरानीले आफू ठुलाबढाकी छोरी हुँ भन्ने धाकजस्ता कारणले देउरानी–जेठानीबिच सम्बन्धमा समस्या देखा पर्छ।
संयुक्त परिवारमा सबैभन्दा बढी समस्या सासूबुहारीबिच हुने गर्छ। सासूबुहारीबिच देखा पर्ने समस्याका अनेक कारण छन्। दाइजोका कारणले पनि समस्या देखा पर्छ। बुहारीले घरधन्दा ठिकस“ग नगर्नाले तथा मरिमेटी घरधन्दा गर्दा पनि सासू सन्तुष्ट नहुनाले पनि समस्या देखा पर्छ। आफ्नी आमाले गाली गर्दा तथा पिट्दा पनि सहने छोरीले बुहारीका रूपमा सासूले गरेको सानोतिनो गालीलाई पनि सहन नसक्दा पनि समस्या पैदा हुन्छ। छोरा बेरोजगार, दुव्र्यसनी र आवारा भएको खण्डमा पनि सासूबुहारीबिच समस्या देखा पर्छ। सासूबुहारीबिच हुने मनमुटावको प्रमुख मनोवैज्ञानिक कारण ईष्र्या र अहम् हो।
परिवारमा कुनै विवाद, समस्या वा कठिनाइ उत्पन्न नहुनु सम्भव छैन। एउटै घरमा बस्दा, सगै उठबस गर्दा परिवारमा अनेक आपसी समस्या आउन सक्छन्। यो आम कुरा हो। तर, यस्ता समस्याको समाधान आवश्यक हुन्छ। यदि यस्ता समस्याले उग्र रूप लियो भने घरपरिवार नै भताभुंग हुन सक्छ। त्यसैले परिवारमा देखा पर्ने समस्यालाई समयमै समाधान गर्न आवश्यक हुन्छ।
पतिपत्नी जीवनरूपी रथका दुई पाङ्ग्रा हुन्। यी दुई पांग्राको आपसी सहयोगमा नै जीवनरूपी रथ ठिकसँग अगाडि बढ्छ। वास्तवमा पतिपत्नीको सोच, आपसी भावना, व्यवहार तथा शैलीद्वारा उत्पन्न स्थिति तथा परिस्थितिहरूको परिणामस्वरूप नै परिवारको भविष्य बन्छ। दाम्पत्य जीवन सुखमय भएको खण्डमा नै परिवार फुल्छ, फल्छ। त्यसैले पतिपत्नीले आफूबिच र परिवारबिच देखा पर्ने समस्या बेलैमा समाधान गर्न अग्रसर हुनुपर्छ।